सुदूरपश्चिमः स्वास्थ्य बिमामा आबद्ध हुने २ लाख २५ हजार नाघ्यो

अछाम– सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमामा आबद्ध हुनेको संख्या २ लाख २५ हजार ३ सय ९७ पुगेको छ। यस प्रदेशका ७ जिल्लामा लागू भएको बिमा कार्यक्रम मार्फत उक्त संख्या पुगेको स्वास्थ्य बिमा बोर्डका सुदूरपश्चिम प्रदेश संयोजक जनक साउँदले बताए।

संयोजक साउँदका अनुसार सबै भन्दा बढी कैलाली जिल्लामा १ लाख २६ हजार ४८ जनाले स्वास्थ्य बिमा गराएका छन्। बझाङमा २७ हजार ८ सय ६, बाजुरामा २५ हजार ७ सय २३, अछाममा २४ हजार ४०, बैतडी मा १० हजार ८ सय ३०, कञ्चनपुरमा ६ हजार २ सय ५४, दार्चुलामा ४ हजार ६ सय ९६ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन्।

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम २०७२ चैत्र महिनामा कैलाली जिल्लाबाट सुरु गरिएको थियो। ९ जिल्ला रहेको यस प्रदेशको डोटी र डडेलधुरामा मंसिर १ गते देखी स्वास्थ्य बिमा कार्यक्रम लागु हुने गरि तयारी भइरहेको बताइएको छ।

बाँकी रहेका २ जिल्लाका लागि पहिलो चरणमा जनप्रतिनिधी र स्वास्थ्यकर्मीलाई अभिमुखिकरण कार्यक्रम सकिएको र हाल दर्ता छनोटको काम भईरहेको प्रदेश संयोजक साउँदले जानकारी दिए। 

बिमा कार्यक्रम अन्तर्गत परिवारका ५ जनासम्मले ३ हजार ५ सय रुपैयाँ तिरेर एक वर्षका लागि बिमा अन्तर्गत उपचार सेवा लिन सक्छन्। यसअघि २ हजार ५ सय रुपैयाँको प्रिमियम तिरेर ५ जनाको परिवारले स्वास्थ्य बिमा अन्तर्गत ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा पाउने प्रावधान थियो । यसलाई बढाएर एक लाख पु¥याइएको छ।

नयाँ नियमअनुसार एउटा परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रत्येक सदस्य बापत ७ सय रुपैयाँ तिर्नुपर्छ। सदस्य संख्या थपिँदा एउटा परिवारले अधिकतम २ लाख रुपैयाँसम्मको बिमा गराउन पाउँछन्।

#swasthyakhabar.com


Comments