नेपालमै पहिलो पटक एसियन फर्मास्युटिकल्सले ल्यायो प्रोस्टेटको नयाँ औषधि ‘सिलोडोसिन’

काठमाडौं- नेपाली औषधि बजारमा एसियन फर्मास्युटिकल्स प्रालीले नेपालमै पहिलो पटक प्रोस्टेटको नयाँ औषधि उत्पादन गरेको छ। एसियनले ‘सिलोडोसिन’ नामक नयाँ औषधि उत्पादन गरेर बजारमा ल्याएको हो।

एसियनले सिलोडोसिन ४ र ८ एमजीको औषधि उत्पादन गरेको हो। 

प्रोस्टेटको औषधि नेपालमा उत्पादन नहुँदा बिरामीहरुले व्यक्तिगत रुपमा भारत लगायतका तेस्रो मुलुकबाट ल्याएर खानुपर्ने बाध्यता थियो। एसियनले यो औषधि बजारमा ल्याएसँगै विदेशबाट आयात गर्नुपर्ने वाध्यताको अन्त्य भएको कम्पनीको भनाई छ।

एसियनका मार्केटिङ म्यानेजर दीपेश प्रधानका अनुसार ३ वर्षको खोज तथा अनुसन्धानपछि यो कम्पनी औषधि बजारमा ल्याउन सफल भएको हो। 

‘पछिल्लो समय नेपालमा प्रोस्टेटका बिरामीको संख्या बढीरहेको विभिन्न अध्ययनले देखाएको छ,’ उनले भने, ‘बिरामीको समस्यालाई समाधान गर्नका लागि हामीले यो नयाँ औषधि उत्पादन गरेका हौँ।’

यसै समूहमा पर्ने अरु औषधिको तुलनामा सिलोडोसिनको प्रभावकारीता राम्रो र बढी रहनुका साथै दुष्प्रभाव समेत निकै कम पाइएको विभिन्न अध्ययनले देखाएको छ। विशेषगरी यो औषधि मुटु, उच्चरक्तचाप भएका प्रोस्टेटका बिरामीका लागि लाभादायी हुने प्रधानले जानकारी दिए। 

यो औषधिसँगै एसियनले युरोलोजी सम्बन्धी अन्य विभिन्न औषधि समेत उत्पादन गर्ने लक्ष्य लिएको प्रधान बताउँछन्।

चिकित्सकहरुका अनुसार प्रोस्टेटको समस्या पुरुषमा हुने गर्छ। प्रोस्टेट पुरुषमा हुने ग्रन्थी हो। उक्त ग्रन्थीमा देखापर्ने समस्यालाई प्रस्टेटको समस्या भनिन्छ। प्रोस्टेट पिसाब नलीकै एउटा क्षेत्र हो। यो ग्रन्थि पिसाब थैलीबाट लिंगसम्म पुग्ने पिसाबनलीको एक भागमा पर्छ। प्रोस्टेटले वीर्य निस्कासन गर्ने बेला वीर्यलाई लिंगसम्म पुर्याबउने, वीर्यलाई पोषण गराउने आदि काम गर्छ। प्रोस्टेटको तौल सामान्यतया १८ देखि २० ग्रामसम्म हुन्छ।

सन् २००८ को अक्टोबर ९ मा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (युएसएफडिए)ले सिलोडोसिन औषधि प्रोस्टेटको लागि बेनिन प्रोस्टेट हाइपरप्लासिया (बिपिएच) स्विकृत प्रदान गरेको थियो।

#swasthyakhabar.com


Comments