दश प्रतिशत नेपालीलाई छ मिर्गौलाको समस्या, प्रत्यारोपणपछि हेरचाह कसरी गर्ने?
User Image
Written & review by:
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ

दश प्रतिशत नेपालीलाई मिर्गौलाको समस्या छ। प्रेसर, मधुमेह अथवा मिर्गौलामा रोग लाग्यो भने मिर्गौला बिग्रिन्छ।

नेफ्राइटिज भयो भने पनि मिर्गौलामा समस्या देखिन्छ। नेफ्राइटिज किन हुन्छ भनेर पत्ता लागेको छैन। कसैलाई बढी खाना खाएर, कसैले पेन किलर खाएर, कसैले मधुमेह र उच्च रक्तचाप ठीक नगरेर नेफ्राइटिज हुन सक्छ।

कसैले उपचारमा बेवास्ता गरेर पनि मिर्गौलाको रोग लागेको हुन्छ।  

जब दुबै मिर्गौला कामै नगर्ने गरी बिग्रिन्छ, त्यस्तो अवस्थामा बिरामीलाई बचाउन डायलाइसिस या मिर्गौला प्रत्यारोपण गर्नुपर्छ। डायलाइसिस अस्थायी उपाय हो भने प्रत्यारोपण राम्रो विकल्प हो।

मिर्गौला बिग्रिएको कसरी थाहा पाउने

किड्नी बिग्रिएका व्यक्तिले पिसाब कम फेर्छन्। शरीर सुन्निएको हुन्छ। खान र सुत्न सक्दैनन्। आफ्नो दैनिक जीवनयापन गर्न सक्दैनन्। त्यो अवस्थामा बिरामीलाई डायलाइसिस गर्नुपर्छ। रगतमा जम्मा भएको फोहर पदार्थ साताको दुई/तिन पटक डायलाइसिस केन्द्रमा गएर सफा गर्नुपर्छ। यसो नगर्ने हो भने प्रत्यारोपण गर्नुपर्छ।

प्रत्यारोपण गर्दा बुवाआमा, दाजुभाइ, दिदीबहीनी, छोराछोरा, श्रीमान् श्रीमतीलगायतका नातेदार चाहिन्छ। कतिपय नातेदार नजिकका हुन तर रगतको नातेदार होइनन् ती व्यक्तिको पनि मिर्गौला प्रत्यारोपण गर्न पाइन्छ।

प्रत्यारोपण गरिएको मिर्गौला कति समय टिक्छ?

स्वस्थ व्यक्ति जसले दुई मिर्गौलामा एउटा दान गर्दा केही अप्ठेरो पर्दैन भने त्यो मान्छेले दान गर्न पाउँछ।

प्रत्यारोपण गरेको मिर्गौला जसको शरीरमा राखिन्छ, त्यो कति समय चल्छ होला भनेर धेरैलाई जिज्ञासा हुन्छ।

जति नजिकको नातेदार छ प्रत्यारोपण गरिएको मिर्गौला त्यति लामो समयसम्म चल्छ। परिवारभित्रका मान्छेको भयो भने लामो समय चल्छ।

रगतको नाता नभएका श्रीमती, बुहारी, सालालगायतको किड्नीले ढुक्कले पाँच वर्षसम्म चल्छ। दस वर्ष भएपछि क्रमश: समस्या उत्पन्न हुन्छ।  अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपण गरिएको मिर्गौलामा देखिएको समस्या पनि  यस्तै हो।

जसको शरीरमा बाहिरको मिर्गौला राखेको छ त्यसले शरीरको अरू अंग चिनेको हुँदैन।

लामो समय हुँदै गएपछि शरीरले बिस्तारै थाहा पाउन थाल्छ। क्रमश: किड्नीविरूद्धमा एन्टीबडिज बन्दै जान्छ, जसले गर्दा किड्नी बिग्रन थाल्छ। यो बिग्रिने प्रक्रिया एक्कासी आउने होइन। परीक्षण गर्दै जाँदा क्रियाटिन बढ्यो भनेपछि मिर्गौलाले कम काम गर्न थालेछ भनेर बुझ्नु पर्छ। यस्तो अवस्थामा एन्टीबडिजलाई निकाल्नुपर्छ। अथवा ‌औषधी दिएर यसलाई कम गर्दै लैजानुपर्छ।

प्रत्यारोपण गरिएको मिर्गौला बिग्रिँदै गएपछि यसलाई डायलाइसिस या पुन: प्रत्यारोपण गर्नुपर्छ।

डायलाइसिस वा पुन: मिर्गौला प्रत्यारोपण कहिले गर्ने भन्ने व्यक्तिको स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुराले निर्धारण गर्छ।

मिर्गौला प्रत्यारोपण गरिएको व्यक्तिले के-के औषधी खाएको छ कस्तो खानपान गरिरहेको छ? के कारणले मिर्गौला कमजोर भयो भन्नेबाट कति छिटो वा ढिलो प्रत्यारोपण या डयलोसिस गर्नुपर्छ भन्ने टुंगो लाग्न सक्छ।  

रगतको नाताबाट प्रत्यारोपण गरिएको मिर्गौला सामान्यत: १० वर्ष आरामले चल्न सक्छ। त्यसबाट कसैलाई समस्या हुनसक्छ कसैलाई केही नभई त्यसैले २० वर्ष काम  गर्छ। केहीको भने  १० वर्ष नपुग्दै बिग्रिन सक्छ।

बाहिरका मान्छेबाट प्रत्यारोपण गरिएको मिर्गौलाले भने कति समय काम गर्छ  भन्ने भर हुँदैन।

नेपालमा प्रत्यारोपण सुरू नहुँदै भारतमा लगेर प्रत्यारोपण गरिएकामा चाँडै समस्या आएको थियो। पाँच वर्षसम्म मजाले चल्यो त्यसपछि  समस्या आयो। रगतको नाता होइन भने पाँच वर्षपछि समस्या देखिन सक्छ।

मिर्गौलामा समस्या भयो भने त्यसको बायस्पी गरिन्छ। यो बिग्रिने क्रम स्थायी वा अस्थायी के हो हेरिन्छ। व्यक्तिको शरीररले मिर्गौलालाई रिजेक्ट गर्न सुरू गरेको छ की छैन पनि हेरिन्छ। यो अवस्थामा उपचार गरेर बिग्रिने क्रम रोक्न सकिन्छ। बिग्रिने क्रम रोक्न सकिएन भने डायलाइसिस गर्ने या प्रत्यारोपण गर्ने भन्नेमा ध्यान दिनुपर्छ।

प्रत्यारोपण गरेको व्यक्तिले समस्या देखिए पुन: प्रत्यारोपण नै गर्छ। विश्वमा पाँच पटकसम्म प्रत्यारोपण गरिएका छन् भने नेपालमा पनि तीन पटकसम्म प्रत्यारोपण गरिएका उदाहरण छन्।

मिर्गौला प्रत्यारोपण पछि किन औषधी खाइरहनुपर्छ?

मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिले सधैंभरि औषधी खानुपर्छ। शरीरमा बाहिरको मिर्गौला प्रत्यारोपण भएपछि शरीरको रोग प्रतिरोधात्मक क्षमताले मिर्गौलालाई आक्रमण गर्छ। यहीबाट जोगाउन नियमित औषधी खानु पर्ने भएको हो।

मिर्गौला प्रत्यारोपणपछि औषधी कम भयो भने मिर्गौला आक्रमणमा पर्ला भन्ने डर हुन्छ भने औषधी बढी दियो भने संक्रमणको खतरा हुन्छ। यसमा सन्तुलन ल्याउने काम चिकित्सकको हो।

कति नजिकको नातेदारले मिर्गौला दिएको हो भन्ने आधारमा औषधीको मात्रा पनि तलमाथि हुन्छ। कसैलाई थोरै औषधी लाग्छ, कसैले धेरै औषधी खानुपर्ने हुन्छ। एउटै व्यक्तिलाई पनि औषधीको डोज तलमाथि गरिराख्नुपर्ने हुन्छ।

साभार setopati.com


Comments