बाल्यावस्थाका मनोसामाजिक समस्या
User Image
Written & review by:
स्नायु तथा मनोरोग विशेषज्ञ

बाल्यावस्थाका मनोसामाजिक समस्याहरू बुझ्नको निम्ति जन्म र विकासक्रम अनि बाल मस्तिष्कमा हुने जैविक, रासायनिक र मनोवैज्ञानिक परिवर्तनलाई बुझ्नु आवश्यक हुन्छ। बच्चाले आमाको गर्भमा बिताउने ९ महिना एकदमै महत्वपूर्ण समय हो। यही समयको ३–५ हप्तामा स्नायु प्रणालीको विकासक्रम सुरु हुन्छ। करिब १० हप्तामा मस्तिष्कको अगाडिको भाग (कर्टेक्स) विकास हुन्छ र जन्मँदा दिमागको तौल लगभग ३५० ग्राम हुन्छ।

सुरुवाती अवस्थाको मस्तिष्कका न्युरोनहरुलाई इन्फेक्सन, अक्सिजनको कमी, मेटाबोलिक समस्या आदिले असर गर्छन्। बच्चामा चल्ने, सुन्ने र देख्ने शक्ति गर्भावस्थाबाटै विकसित हुँदै गएर त्यही शक्तिले जन्मपश्चात् जीवन जिउन सिकाउँछ। बाहिरी संसारसँग अभ्यस्त हुने क्रममा बच्चामा विभिन्न क्षमताको विकास हुँदै जान्छ। विस्तारै बस्ने, उठ्ने, हिँड्ने, दगुर्ने जस्ता क्षमता विकसित हुन्छन्। यसै क्रममा बच्चाले बोल्न पनि सिक्छ। मनोवैज्ञानिक विकास क्रमको पहिलो खुड्किलो भनेको आवाजहरु सुन्ने र त्यसलाई ध्यान दिने हो। विस्तारै संकेतहरु प्रयोग गर्ने, खेल्ने र हाँस्ने प्रक्रिया सुरु हुन्छ।

बच्चामा तार्किक सोचाइ लगभग ६–११ वर्षको उमेरमा सुरु हुन्छ भने सारभूत सोचाइ ११–१९ वर्ष उमेरमा हुन्छ। भावनात्मक विकासको कुरा गर्नुपर्दा सामाजिक मुस्कान २ महिनासम्ममा देखापर्छ। २ वर्षको उमेरमा प्रायः अरुको भावना बुझेर सोहीअनुसार भाव व्यक्त गर्ने कला विकास हुन्छ। बच्चाले आफ्नो हेरचाह गर्ने व्यक्ति (प्रायः आमा) सँग बनाउने सम्बन्धलाई अट्याचमेन्ट भनिन्छ। यस्तो सम्बन्ध सरल र सही ढंगले अघि नबढ्दा पछि गएर विभिन्न मनोसामाजिक रोगहरु लाग्ने सम्भावना रहन्छ। लगभग ८ महिनाको समयमा बच्चालाई अन्जान व्यक्तिसँग डर लाग्ने हुन्छ, जसलाई ‘स्टेन्जर एङ्जाइटी’ भनिन्छ। १०–१८ महिनाको बीचमा आफ्नो हेरचाह गर्ने व्यक्तिबाट टाढिनुपर्दा बच्चालाई डर लाग्ने, आत्तिने, रुने आदि हुन्छ। यसलाई ‘सेपेरेसन एङ्जाइटी’ भनिन्छ। 

बाल्यावस्थामा मनोसामाजिक समस्या निम्त्याउनसक्ने कारण
– गर्भावस्थामा आमामा हुने तनावले गर्दा शरीरमा स्ट्रेस हर्मोन पैदा भई बच्चामा विभिन्न नकारात्मक असर गर्नसक्ने                           
– गर्भावस्थामा मादक पदार्थ र लागुऔषधको प्रयोग
– वंशाणुगत 
– प्रसूतिका जटिलताहरु          

मनोसामाजिक समस्याहरु              
१. इन्टेलेक्चुअल डिस्याबिलिटी डिसअर्डर                                            
– १८ वर्षको उमेरअघि मस्तिष्कको विकासमा बाधा पुगी हुने समस्या      
– सुस्त मनस्थिति                               
– बौद्धिक विकासमा कमी                      

२. कम्युनिकेसन डिसअर्डर
– बोल्ने क्षमतामा ह्रास, भक्भकाउने, एउटै कुरा दोहो¥याउने, धेरै जनाको अगाडि बोल्न नसक्ने।                                    

३. अटिजम स्पेक्ट्रम डिसअर्डर
– भाषा र सञ्चारमा समस्या                
– अशाब्दिक सञ्चार कौशलमा कमजोरी, सामाजिक सम्बन्धको बुझाइमा समस्या, परिवर्तन नचाहने, एउटै कुरा दोहो¥याउने।                   

४. एडिएचडी
– चकचकेपना समान्यभन्दा बढी          
– बोलाउँदा नसुन्ने, ध्यान नदिने              
– अरुको पालो नदिने     
                       
५. एसएलडी
– शब्दहरु पहिचानमा कठिनाइ, व्याकरणमा गल्ती, सुस्त र गलत लेखाइ–पढाइ, संख्याहरु पढ्न, बुझ्न र हिसाब गर्न कठिनाइ।          

यी र यस्ता विभिन्न समस्याहरु बाल्यावस्थामा आउनसक्ने मनोसामाजिक समस्याहरु हुन्। यस्ता समस्याहरु उचित परामर्श र उपचारपछि धेरै हदसम्म कम भएर जान्छन्। कतिपय समस्या पूरै ठिक नभए तापनि सही मार्गदर्शन भएमा अधिकांश बालबालिका सफल र सुन्दर जीवन जिउन सफल हुन्छन्। यी बाहेक वयस्कमा जस्तै डिप्रेसन, एङ्जाइटी, साइकोसिस जस्ता समस्या पनि उपचार पश्चात पूरै ठिक हुन्छन्।

साभार swasthyakhabar.com


Comments