ग्याष्ट्रिकको औषधि ‘र्‍यानिटिडिन’ले क्यान्सर गराउन सक्ने सम्भावना ! विभागले जारी गर्यो गुणस्तर कायम गर्न यस्तो सुचना

काठमाडौं- ग्याष्ट्रिकको उपचारका लागि प्रयोग हुने र्‍यानिटिडिन समुहको औषधिले क्यान्सर गराउन सक्ने सम्भावना देखिएको छ। औषधिमा ‘नाइट्रोसमिन इम्प्युरिटी, नाइट्रोसोडिमिथाइलमाइन (एनडिएमए)’ थोरै मात्रामा रहेको र यसले मानिसलाई क्यान्सर गराउन सक्ने देखिएको छ।

इम्पुरिटी इन्टरनेसल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी)ले यो औषधिले क्यान्सर गराउन सक्ने भन्दै वर्गिकरण गरेपछि औषधि व्यवस्था विभागले स्वदेशी र विदेशबाट आयत हुने औषधि तथा कच्चा पदार्थमा यी तत्वको जोखिम नभएको एकिन गर्ने व्यवस्था गर्न भनेको छ।

विभागले सबै उत्पादक तथा पैठारीकर्तालाई सार्वजनिक सुचना जारी गर्दै ‘र्‍यानिटिडिन’ उत्पादनको कच्चा पदार्थ र तयारी औषधिमा र पैठारीको हकमा तयारी औषधिहरुमा उक्त एनडिएमए इम्प्युरिटी नभएको एकिन गर्ने आवश्यक व्यवस्था गर्न’ अनुरोध गरेको हो। 

यो औषधिमा क्यान्सर गराउन सक्ने सम्भावना देखिएपछि अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)ले पनि सतर्क रहन सार्वजनिक सुचना जारी गरेको थियो। उक्त सुचनापछि भारत, बंगलादेश लगायतका देशले आवश्यक निर्णय गरिसकेका छन्।

नेपालले पनि गुणस्तरीयता कायम गर्दै औषधिमा क्यान्सर गराउन ती जोखिम नभएको कुरा एकिन गरेर मात्र उत्पादन तथा पैठारी गर्न निर्णय गरेको औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले जानकारी दिए।

‘जनस्वास्थ्यमा असर गर्ने औषधि उत्पादन तथा पैठारी गर्न पाइँदै,’ उनले भने, ‘र्‍यानिटिडिनमा क्यान्सर गराउने जोखिम रहेको कुरा सार्वजनिक भएपछि हामीले पनि यसमा आवश्यक निर्णय गरेका हौँ।’

नेपालमा स्वदेशी र विदेशी गरी यो औषधिको लगभग १५ करोडको वार्षिक कारोबार हुने गरेको बताइन्छ। नेपालका ७ वटा कम्पनी एपेक्स, टौरस, केमीड्रग्स, लोमस, क्युरेक्स, मार्क फर्मुलेसन र युनिक फर्माले यो औषधि उत्पादन गर्दै आइरहेका छन्। 

#swasthyakhabar.com


Comments