घातक रोगका बिरामीको सजिलोको लागि गरिने 'प्यालिएटिभ केयर' के हो?

प्यालिएटिभ केयर क्यान्सर र अन्य दीर्घकालीन घातक रोग भएका व्यक्तिका लागि विश्वव्यापी एक अत्यावश्यक मानवीय आवश्यकता हो। विशेषगरी बिरामीलाई अत्यधिक असजिलो भइरहेको र सम्बधित रोगको उपचारले बिरामीको स्वास्थ्यमा कुनै सुधार देखानपरेको अवस्थामा र रोग निको हुने सम्भावना लगभग समाप्त भइसकेको अवस्थामा बिरामीको सजिलोको लागि गरिने हेरचाह नै प्यालिएटिभ केयर हो।

विश्व स्वास्थ संगठनका अनुसार प्यालिएटिभ केयर एक यस्तो दृष्टिकोण हो, जसले  घातक रोगबाट बिरामी र बिरामीका परिवारमा आइपरेका समस्याहरूको प्रारम्भिक मूल्यांकन गर्दै बिरामीको दुखाइ र अन्य  शारीरिक, मानसिक  तथा आध्यात्मिक समस्याको समाधान गर्छ। 

प्यालिएटिभ केयरले गम्भीर बिरामी परेको बेला राहत दिई जीवनको गुणस्तर सुधार्न मद्दत गर्छ। कुनै पनि गम्भीर प्रकारका बिमारीको सामना गर्न एकदमै गाह्रो हुन्छ। त्यही गाह्रोलाई सजिलो बनाउन गरिने हेरचाह नै प्यालिएटिभ केयर हो। आफ्नो रोगको लागि उपचार प्राप्त गरिरहेकै अवस्थामा प्यालिएटिभ केयर पनि प्राप्त गर्न सकिन्छ। यसको प्राथमिक उद्देश्य बिरामीको पीडा र अन्य लक्षणहरूलाई कम गर्ने र बिरामी जीवनको गुणस्तर सुधार गर्ने हो। प्यालिएटिभ केयर बिरामीको असुविधा, लक्षण र गम्भीर बिरामी र बिरामीका परिवारको तनावको विस्तृत उपचार हो।

प्यालिएटिभ केयरको सुरुवात 
इतिहासदेखि नै बिरामीको हेरचाह समाजमा निरन्तर चिन्ताको विषय बनेको छ। आधुनिक औषधिमा मर्नेहरूको हेरचाहको विकास सामान्यतया चिकित्सकको कामका लागि गरिन्छ। डेम सिसली सौन्डर्स जसले १९४८ मा पहिलो हस्पिस स्थापना गरे। प्यालिएटिभ केयर भन्ने शब्द भने १९७६ मा क्यानडामा अस्पताल र सामुदायमा आधारित हस्पिस सिद्धान्तहरूको विस्तारको रुपमा सुरू गरिएको थियो। १९८० को दशकदेखि संयुक्त राज्य अमेरिकामा र १९८० को दशकको मध्यदेखि भारतमा प्यालिएटिभ केयरको सुरुवात भएको हो। नेपालमा परापूर्वकालदेखि नै बिरामी वा मर्नेहरूका लागि छुट्टै हेरचाह गर्न छुट्टै शैली अपनाइँदै आइएको थियो।

सन् १९९१ मा वीर अस्पतालमा अन्कोलोजी युनिट स्थापना भएपछि अस्पतालमा आधारित प्यालिएटिभ केयरको थालनी भयो। सन् १९९९ मा माइती नेपालले झापामा मानव बेचबिखनमा परेका र हेपाटाइटिस, क्षयरोग र एड्स लगायतका रोगले संक्रमित भएकाहरुको हेरचाहका लागि हस्पिस केन्द्र स्थापना गर्यो। हस्पिस नेपाल २००० मा चार वटा बेडसहित काठमाडौं अस्पतालमा स्थापना भयो। भक्तपुर क्यान्सर अस्पतालले सन् २००४ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २००५ बाट प्यलिएटिभ केयर सेवा प्रदान गरिरहेका छन्। निजी क्षेत्रका नेपाल क्यान्सर अस्पताल  र काठमाडौं क्यान्सर सेन्टरमा पनि छुट्टै प्यालिएटिभ केयर युनिट स्थापना गरिएको छ। कोरियन संस्थाको सहयोगमा थानकोट मा स्थापना गरिएको थानकोट हस्पिसले निःशुल्क रुपमा प्यालिएटिभ केयर सेवा प्रदान गरिरहेको छ।

नेप्लिस एसोसिएसन फर प्यालिएटिभ केयरको स्थापना सन् २००९ मा भएको हो। प्यालिएट प्यालियम, ल्याटिन शब्द ‘क्लोक’ बाट आएको हो। प्यालिएट भनेको बिरामीको लक्षणलाई ढाक्नु वा ढाक्नु भनेको यसलाई निको पार्नु नै हो। 

प्यालिएटिभ केयरले के गर्छ ?
– प्यालिएटिभ केयरले बिरामीका विभिन्न समस्याहरु जस्तै दुखाइ, श्वास फेर्न गाह्रो हुने, थकान, कब्जियत, भोक नलाग्ने, निद्राको समस्या र अन्य धेरै लक्षणहरू समाधान गरी बिरामीलाई गुणस्तरीय जीवन जिउने अवसर प्रदान गर्छ।
– बिरामीले प्राप्त गरिरहेको मेडिकल उपचारको साइड इफेक्टको समाधान गर्नु पनि प्यालिएटिभ केयर ले मद्दत गर्न सक्छ। 
– प्यालिएटिभ केयरले बिरामी र बिरामीको परिवारलाई शारीरिक, मानसिक र भावनात्मक रुपमा सहयोग पुर्‍याउँछ र बिरामी र बिरामीको स्वास्थ्य सेवा प्रदायकहरूबीच पुलको काम गर्छ।
– प्यालिएटिभ केयरले  बिरामीलाई दुखाइ र अन्य लक्षणहरूको विशेषज्ञ उपचार दिई बिरामीलाई उत्तम राहत प्रदान गर्छ।
– प्यालिएटिभ केयरले बिरामीको रोग उपचार विकल्पको बारेमा खुला छलफल गरी बिरामीको रोगको उपचारका लागि स्वास्थ सेवा प्रदायकसँग समन्वय गर्छ। 
– प्यालिएटिभ केयरले बिरामी र तिनीका परिवारहरूको भावनात्मक र आध्यात्मिक आवश्यकता पूरा गर्छ।
– प्यालिएटिभ केयरले बिरामी र बिरामीको परिवारलाई जीवन र मृत्युलाई एक सामान्य प्रक्रियाको रूपमा लिन सहयोग पु¥याउँछ। 
– प्यालिएटिभ केयरले बिरामीको परिवारलाई बिरामी अवस्थाको सामना गर्न र उनीहरूको शोकमा मद्दत गर्न सहयोग पु¥याउँछ।

प्यालिएटिभ केयर कतिखेर चाहिन्छ? 
– मानिससँग आफ्नो हेरचाह गर्न सीमित क्षमता भएको अवस्थामा 
– मानिसहरू जसले पहिले प्रमाणमा आधारित उपचारबाट कुनै फाइदा नपाएको अवस्थामा 
– कुनै पनि उचित क्लिनिकल परीक्षणमा भाग लिन अयोग्य ठहरिएको अवस्थामा
– चिकित्सकले उपचार प्रभावकारी हुने कुनै ठोस प्रमाण नदेखेको अवस्थामा

प्यालिएटिभ केयर कहाँ र कसरी लिन सकिन्छ?
प्यालिएटिभ केयर अस्पताल, बाह्य रोग क्लिनिकमा वा घरमा प्रदान गर्न सकिन्छ। तपाईंको स्वास्थ्य सेवा प्रदायकले तपाईंलाई प्यालिएटिभ केयर टोलीमा पठाएपछि वा तपाईंले आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई रेफरलको लागि अनुरोध गरेपछि प्यालिएटिभ केयरको प्रक्रिया सुरु हुन्छ।  

प्यालिएटिभ केयर कसले प्रदान गर्छ? 
बिरामीको रोगसँग समबन्धित डाक्टरहरू, प्यालिएटिभ केयरमा दक्षता हासिल गरेका विज्ञ र नर्सहरू, सामाजिक कार्यकर्ताहरू, धार्मिक वा आध्यात्मिक सल्लाहकारहरू, फार्मासिस्टहरू, पोषण विशेषज्ञ र अन्यले संयुक्त रुपमा प्यालिएटिभ केयर प्रदान गर्छन्। 

नेपालमा प्यालिएटिभ केयरसँग सम्बन्धित विशेषज्ञ नहुनु, स्वास्थ्यकर्मीमा प्यालिएटिभ केयरसम्बन्धी ज्ञान नहुनु, बिरामी तथा बिरामीका आफन्तलाई प्यालिएटिभ केयरबारे बुझाउन नसक्नु र हाम्रो समाजका विभिन्न संस्कृति र चालचलन जस्ता विविध कारणले गर्दा नेपालमा प्यालिएटिभ केयरको भरपुर उपयोग हुन सकेको छैन।

#swasthyakhabar.com


Comments