को होला स्वास्थ्यकर्मी संघको नयाँ अध्यक्ष? महासचिवमा ६ जनाको दावेदारी

काठमाडौं – नेपाल स्वास्थ्यकर्मी संघको  नयाँ नेतृत्वका लागि धेरै आंकाक्षी देखिएका छन्।

विवादै विवादका कारण अन्यौलमा रहेको संघको ७औं महाधिवेशन शुक्रबार र शनिबार काठमाडौंमा हुँदैछ।

संघको नयाँ नेतत्वका लागि सअध्यक्षहरु ओमप्रसाद उपाध्याय, कृष्ण नागिलाले लबिङ सुरु गरेको छन्। वर्तमान अध्यक्ष रामजी घिमिरे पनि नेतृत्व छोड्ने पक्षमा देखिएका छैनन्। 

संघ सल्लाहकार धनप्रसाद पौडेलको नाम पनि अध्यक्षका लागि चर्चामा छ।

अध्यक्षका प्रत्याशी ओमप्रसाद उपाध्यायले आफु संघको बलियो उम्मेदवार रहेको प्रतिक्रिया दिए। उनले संघको विकास र विस्तारका लागि र पेशागत हकहितका लागि आफू निरन्तर लागिरहेने पनि बताए।

अर्का दावेदार कृष्ण नागिलाले पनि आफु बलियो दावेदार भएको प्रतिक्रिया दिए।

उनले भने,‘अध्यक्षको लागि मेरो पनि उम्मेद्वारी छ।  सबै कुरा मिलेमा नेतृत्वकर्ताको चयन सर्वसम्मत पनि हुनसक्ने सम्भावना छ। अहिले नै केही भन्न सकिन्न।’

उनले वर्तमान अध्यक्षले दुई कार्यकाल बिताइसकेका कारण नैतिकताका आधारमा पनि नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए।

हालका अध्यक्ष घिमिरे पटक पटक विवादमा आएका छन्। उनले संस्थाभन्दा पनि व्यक्तिगत स्वार्थका लागि काम गरेको भन्दै सदस्यहरुले नै आपत्ति जनाउँदै आइरहेका छन्।

संघको अध्यक्षका लागि धनप्रसाद पौडेलले पनि आफ्नो तर्फबाट गृहकार्य गरिरहेका छन्।

यस्तै, महासचिव पदमा लागि दीपक मुडभरी, दीपकराज भट्ट, देवराज लामिछाने, नवराज श्रेष्ठ, शंकर कँडेल, योगेन्द्र पन्जियारले आफ्नो लविङ सुरु गरेका छन्। मुडभरी वर्तमान कार्यसमितिका पनि  महासचिव हुन्।

संघको पहिलाको विधान परिवर्तन भएपछि सहअध्यक्ष पद हटाइएको छ भने एक जना वरिष्ठ उपाध्यक्षको पद राखिएको छ। तर, वरिष्ठ उपाध्यक्षका लागि अहिलेसम्म कोही प्रत्याशीको चर्चा नभएको कार्यसमितिका एक सदस्यले बताए। उनका अनुसार महासचिवमा देवराज लामिछानेलाई दिएर दीपक मुडभरीलाई वरिष्ठ उपाध्यक्ष दिने विषयमा पनि छलफल चलिरहेको छ।

हरेक चार वर्षमा हुनुपर्ने संघको चुनाव दुई वर्ष ढिला गरी हुन लागेको हो। संघका वर्तमान अध्यक्ष घिमिरेकै कारण अधिवेशन हुन नसकेको पनि संघका सदस्यहरुको आरोप छ।

अधिवेशनका लागि देशभरबाट ६ सय ५० प्रतिनिधि हुने बताइएको छ। प्रतिनिधि  काठमाडौं आउने क्रम सुरु भइसकेको छ।

संघमा अहिले १८ हजारभन्दा बढी सदस्य रहेका छन्। उनीहरुका तर्फबाट प्रतिनिधित्व गर्दै ६ सय ५० प्रतिनिधि राजधानी आउने छन्। यी प्रतिनिधीहरुले संघको नयाँ कार्यसमिति चयन गर्नेछन्। 

#swasthyakhabar.com


Comments