मधुमेह लाग्दैमा डराइहाल्नु पर्दैन जोगाउनुपर्ने भनेकै आँखा, मिर्गाैला, खुट्टा, नशा र मुटु हो
User Image
Written & review by:
Endocrinologist

बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी ह्वात्तै बढीरहेका छन्। मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुने रोग हो। नेपाली समाजमा यसलाई चिनी रोग भनेर चिनिन्छ। मानव शरीरमा चिनीको आवश्यकता हुन्छ।  शरीरमा चिनी नहुने हो भने मानिस बाँच्न सकदैन। तर जब शरीरमा चिनीको मात्रा बढ्छ त्यसले भने असर देखाउन थाल्छ।

चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ। शरीरमा भएको चिनीको मात्रा जसलाई ग्लुकोज भनिन्छ। मानिसले जुनसुकै खाना खाइसकेपछि शरीरमा ग्लुकोजको रुपमा प्रवेश गर्छ र त्यसबाट कोष संचालन गर्ने शक्ति आउँछ। चिनीबाट कार्बाेहाइटेड र इनर्जी पाइन्छ। त्यसलाई प्रयोग गराउने भनेको इन्सुलेनले हो। त्यो भनेको हाम्रो पेटको भागमा रहेको प्यानक्रियाज ग्रन्थीले उत्पादन गर्ने हर्मोन हो। इन्सुलिनको काम भनेको शरीरमा बनेको ग्लुकोजलाई शरीरका विभिन्न कोषहरुमा लगेर प्रयोगमा ल्याउने हो। 

जब शरीरमा इन्सुलिन बन्दै बनेन भने त्यसलाई ‘टाइप वान मधुमेह’ भनिन्छ। प्रकार १ मा इन्सुलिनको मात्रा शून्य हुन्छ। बाँच्नको लागि इन्सुलिन नै चाहिन्छ। यो समस्या बच्चामा बढी देखिन्छ। शरीरमा इन्सुलिन छ तर पर्याप्त मात्रामा उत्पादन गरेन अथवा शरीरले भएको इन्सुलिनलाई राम्रोसँग प्रयोगमा ल्याउन सकेन भने त्यो ‘टाइप टु’ मधुमेह हो। यो समस्या विगतमा ५० वर्ष माथिकालाई देखिन्थ्यो। तर पछिल्लो समय अस्वस्थ जीवनशैलीका कारण ३० वर्ष र त्यो भन्दा कम उमेरमा पनि देखिन थालेको छ।

युवा उमेरमा मधुमेह देखिने क्रम बढ्नुको प्रमुख कारण अव्यवस्थित जीवनशैली हो। खेलकुदमा व्यस्त हुनुपर्ने बेलामा मोबाइलमा व्यस्त हुँदा बालबालिकामा पनि यो प्रकारको मधुमेह बढ्दै गएको छ।

अर्को भनेको गर्भवती अवस्थामा पनि मधुमेह हुन्छ। गर्भवती हुनुभन्दा पहिला मधुमेह नभएको र गर्भवती भएको २४ हप्तादेखि २८ हप्ताको बीचमा रगत परीक्षण गर्दा मधुमेह देखियो भने त्यसलाई गर्भवती अवस्थामा देखिने मधुमेह भनिन्छ। चिकित्सकिय भाषामा यसलाई जेसटेसनल मधुमेह भनिन्छ।  गर्भवती समयमा मधुमेह भएको खण्डमा आमा, शिशु दुवैमा समस्या आउँछ। शिशु जन्मेपछि पनि भविष्यमा आमा र शिशु दुवैलाई मधुमेह हुने सम्भावना हुन्छ। 

डेलिभरीपछि यो समस्या हराउँछ तर बेलैमा नियन्त्रण गरिएन भने पछि त्यो प्रकार २ को मधुमेहमा परिवर्तन हुन सक्छ। डेलिभरीपछि मेरो सुगर हरायो भनेर ढुक्क बस्नुहुँदैन। अस्वस्थ जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्छ। संसारमा प्रत्येक ६ जना महिलामध्ये १ जनालाई यो भएको पाइएको छ।

सामान्यतया खाली पेटमा ग्लुकोजको मात्रा १२० भन्दा कम र खाना खाएपछि १८० भन्दा कम भएको मधुमेहलाई सामान्य मानिन्छ। ‘टाइप वान’ मधुमेह छ भने त्यसको उपचार विधि इन्सुलिन हो। ‘टाइप टु’ मधुमेहमा पनि दुई–तीन वटा औषधि चलाउँदा मधुमेह अनकन्ट्रोल भएको अवस्थामा सक्दो छिटो इन्सुलिन प्रयोग गर्नुपर्छ। 

नेपालमा मधुमेहका बिरामी कति छन् भन्ने तथ्यांक छैन। तर एउटा अन्तर्राष्ट्रिय  डाइबिटिज फेडरेसनले हरेक वर्ष तथ्यांक निकाल्दा सन् २०१७ र २०१८ मा हाम्रो ४ प्रतिशत जनसंख्यामा मधुमेह देखाएको छ। सन् २०१६ मा ३.३ प्रतिशत मात्रै थियो। अहिले आएर लगभग वर्षमा १ प्रतिशत नै बढेको देखिन्छ। यो तथ्यांकले पनि बढ्ने क्रम धेरै भएको देखाउँछ। हामीले आफ्नो अभ्यासमा पनि पहिलाको भन्दा अहिले धेरै नै अन्तर पाइरहेका छौँ। हरेक दिन, हरेक वर्ष मधुमेह बिरामीको संख्या एकदमै बढ्दो छ।

लक्षण
थाकाइ लाग्ने
आलस्य हुने
जाँगर नचल्ने,
पिसाब लाग्ने
मुख सुख्खा हुने
खाना बढी रुचि हुने
खुट्टा पोल्ने
खुट्टा झमझमाउने 
आँखा धमिलो हुने
कुनै पनि घाउ निको हुन गाह्रो हुने
पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि।

मुख सुक्यो, राति सुतेको बेलामा धेरै पानी तिर्खा लाग्यो, धेरै भोक लाग्यो, धेरै पिसाब लाग्यो भने मधुमेह हुनसक्छ भन्ने कुरा धेरैलाई थाहा छ। तर आधा जनसंख्यालाई मधुमेह भनेको के हो भन्ने कुरा नै थाहा छैन। पिसाब धेरै लाग्नु, पानी तिर्खा धेरै लाग्नु र ज्यादा भोग लाग्नु। मधुमेह लागेको व्यक्ति छोटो समयमा धेरै दुब्लाउँछ। यी ३ वटा प्रमुख लक्षण हुन्। जसलाई अंग्रेजीमा ‘थ्रिपी’ भनिन्छ। तर हामीले जे भन्यो त्यही कुरा बिरामीमा नआउन पनि सक्छ। नेपालको अवस्थाको कुरा गर्ने हो भने पहाडी क्षेत्रका नागरिक आउन–जान एकदमै गाह्रो हुने अवस्था छ। सहरमा भएका बिरामीहरु केही न केही लक्षण लिएर अस्पताल आउनुहुन्छ। सुरुमै आँखाको ज्योति जानु, मिर्गाैला खराब हुनु, खुट्टाको नशा सुकिसकेको र खुट्टामा घाउ भएको अवस्थामा बल्ल अस्पताल आउने बिरामी पनि छन्।

त्यसैले मधुमेहको लक्षण यो नै हुन्छ भन्ने चाहिँ हुँदैन। तर सबैभन्दा ठूलो कुरा यसमा आफ्नो परिवारमा कसैलाई मधुमेह भएको छ भने अन्य सदस्यले मलाई पनि यो रोग लाग्नसक्छ है भन्ने जानकारी हुनुप¥यो। लाग्नैपर्छ भन्ने कुरा पनि होइन। दुई, तीन जनामा एक जनामा लाग्न सक्छ। कसैको परिवारमा मधुमेहको बिरामी छ भने आफू पनि सचेत हुनु, समय–समयमा स्वास्थ्य परीक्षण गर्नु नै उत्तम उपाय हो। ४०–४५ वर्ष लागेपछि मधुमेहको परीक्षण गर्नैपर्छ। अथवा जो मोटो छ, उचाई अनुसारको तौल धेरै भयो, बिएमआई ३० भन्दा पनि धेरै भयो, परिवारमा कसैलाई मधुमेह छ, ब्लड प्रेसर, कोलेस्टेरोल छ भने त्यस्ता व्यक्तिले ३०–३५ वर्षको उमेरमा पनि मधुमेहको परीक्षण गर्नुपर्छ। 

मधुमेह लागेको बिरामीको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको नियमअनुसार खानपान, सुत्ने, हिँड्ने गर्नुपर्‍यो। मानसिक तनाव एकदमै कम गर्नुपर्छ। तपार्इं निदाएर मात्रै हुँदैन सुत्नु नै पर्छ। निदाएको छ तर धेरै तनाव लिएर सुत्नुभयो भने अरु हर्माेनको कारणले गर्दा सुगर बिहान उठ्दा हाई हुनसक्छ। समय मिल्छ भने आफ्नो परिवारसँग रमाइलो गर्ने, घुम्न जाने, गीत सुन्ने, नाँच्ने गर्ने हो भने शरीरको लागि व्यायाम पनि भयो र मानसिक तनाव पनि कम हुन्छ।

दोस्रो कुरा चिकित्सकले दिएको औषधि तोकिएको समयमा नियमित खानुपर्‍यो। दुई पटक खाने औषधि छ, एक पटक मात्रै खानुभयो भने काम गर्दैन। मधुमेहको औषधि धेरै छन्। कोही खाना अगाडि, केही खाना पछाडि खाने छ भने कोही औषधि खानाको पहिलो गाँसमै त कोही खानाको बीचमा खानुपर्ने छ। चिकित्सकले मात्रै लेखेर भएन, बिरामीले पनि राम्रोसँग आफ्नो औषधिको बारेमा बुझ्नुपर्‍यो। बिरामीले कुन औषधि कतिखेर र कसरी खाने भन्ने बारेमा लेखेर राख्नु प¥यो। चिकित्सकसँग खासै नबुझ्ने अनि औषधि लिएर घर गएपछि औषधि कसरी खाने भन्ने बारेमा पनि अन्योल हुने गरेका छन्। अनि आफ्नै गाउँमा गएर अन्य मधुमेह रोगीहरुलाई सोध्छन्। मैले त खानापछि खाएको छु भन्ने जवाफ खानाअघि खानुपर्ने औषधिमा खाइयो भने त्यो औषधिले राम्रो काम गर्दैन। 

सबै औषधिको फरक–फरक बाटो हुन्छ। एउटा बाटोमा जाने औषधि अर्काे बाटोमा गयो भने काम लाग्दैन। मधुमेहको औषधि मुटु, क्यान्सरको लागि काम गरिरहेको हुन्छ भने कतिपय औषधिले मोटोपन घटाइरहेको हुन्छ। त्यसैले औषधि रोक्नुभन्दा पनि सानो डोजमा औषधि निरन्तर खाइरहेको राम्रो हो। एकै पटक औषधि बन्द गर्नको लागि बिरामी चिकित्सकको सम्पर्कमा हुनुप¥यो। हरेक महिना स्वास्थ्य परीक्षणमा आउँछु भन्नु पर्‍यो। साथै मधुमेहका मानसिक तनाव नलिने, समयमा उठ्ने, समयमा औषधि र खाने कुरा खाने आफ्नो काम गर्ने होल डेको प्लान बिरामीले बनाउनुपर्छ। मधुमेह भएको बिरामीले एकै पटक धेरै खाने होइन। थोरै–थोरै धेरै पटक खाने बानी बसाल्नु पर्छ। दिनमा ६ पटक खान मेरो सुझाव छ।

मधुमेह भन्दैमा बिरामीले दौडधुप नै गर्नुपर्छ, नखाई बस्नुपर्छ भन्ने होइन। बिरामीले अरुले जसरी नै खाने हो। अरुले सबै कुरा खाएको छ, मधुमेह बिरामीले पनि खानुपर्छ तर अरुले जसरी खानु चाहिँ भएन। तर जुन दिन अलि धेरै अथवा एक्स्ट्रा क्यालोरी खाइन्छ त्यो दिन बिरामी एक्स्ट्रा हिँड्नुपर्छ। उपचारको क्रममा औषधि मात्रै सबैभन्दा ठूलो कुरा होइन। बिरामीले हिँड्ने, डुल्ने बसिराख्ने काम नगर्ने, ९० मिनेट बस्नु भएको छ भने १५ मिनेट हिँड्ने। दैनिक हिँड्नु पर्छ भन्ने पनि होइन, दिनमा ४५ मिनेट, हप्तामा ३ दिन हिँड्नु भयो भने पनि मधुमेह औषधिको साथसाथै कम पनि भएर जान्छ। 

खानामा कार्बाेहाइड्रेड, प्रोटिन, फ्याट पनि चाहिन्छ। हामीले कम गर्ने हो भने कार्बाेहाइड्रेडको मात्रा हो। चामल, रोटी अर्थात् अन्नहरु कम गर्नुपर्छ। तर बिरामीलाई यो पनि नखा, त्यो पनि नखा भनेर मानसिक तनाव दिनु हुँदैन। कुनै पनि भोजमा जाँदा खानै पाएन भने मानसिक तनाव हुन्छ। खाने तर धेरै खानु भएन। जस्तै जेरी, स्वारी, लड्डु एकै पटक खानु भएन।

मधुमेहको उपचार भनेको सबैभन्दा पहिलो कुरा मानसिक तनाव कम, खानापानमा ध्यान दिने अनि मात्र बल्ल औषधिमा आउने हो। नेपालीहरुमा मधुमेह अहिले युवा उमेरमा पनि देखापर्न थालेको छ। विशेषगरी विदेशबाट फर्केर आउने धेरैलाई देखापर्न थालेको छ। विदेश जानुभन्दा पहिला स्वास्थ्य अवस्था राम्रो भए पनि पछि समस्या आउने र विदेशबाट आउनेहरुमा जोखिम पनि धेरै छ। विदेशबाट आउनेमा मिर्गाैला फेल भएको, आँखा, नशा र मुटुमा पनि समस्या भएका व्यक्तिहरु पनि धेरै छन्।

मधुमेह रोग लागेका बिरामीमा आँखा, मुटु, मिर्गाैला, खुट्टा र नशा यी ५ अंगमा विस्तारै–विस्तारै समस्या ल्याउँछ। त्यसकारण यो रऊल लागिसकेपछि यी कुरामा विशेष ध्यान दिन जरुरी छ। टाइप वान मधुमेहले यो रोग लागेको ५–१० वर्ष पछाडि यस्ता समस्या ल्याउन सक्छ भने टाइप टु मधुमेहले भने सुरुमा पनि यस्ता समस्याहरु लिएर आउँछन्। मसँग बिरामी १० वर्षपछि आउँदा पनि उसको आँखा, मिर्गाैला राम्रो हुनुपर्‍यो र ऊ आफ्नै खुट्टाले टेकेर आउन सक्नुपर्‍यो। अस्पतालमा आउँदा अन्धो भएर, मिर्गाैला नै फेरेर आउने अथवा खुट्टै काटेको अवस्थामा आयो भने कि चिकित्सकले राम्रोसँग उपचार गरेन कि त बिरामी आफैंले आफ्नो स्वास्थ्यको बारेमा ध्यान दिएन भन्ने कुरा बुझ्नु पर्‍यो। त्यसैले हामीले जोगाउनुपर्ने भनेकै आँखा, मिर्गाैला, खुट्टा, नशा र मुटु हो। यो कुरामा धेरैले ध्यान दिएको हुँदैन। अब चेतनाका कार्यक्रम विस्तार गर्दै यी कुरामा ख्याल गर्ने सन्देश फैलाउन जरुरी छ।

मुख्यतः हरेक मानिसले आफूलाई समस्या नभए पनि वर्षमा एक पटक शरीरको जाँच गराउनुपर्छ। जसलाई मधुमेह छ उनीहरुले एचबीएवनसी टेस्ट कम्तीमा ६ महिनामा एकचोटी गराउनुपर्छ र त्यसको लेभल ७ प्रतिशतभन्दा मुनि राख्न सक्नुपर्छ। 

#swasthyakhabar.com


Comments