आँखाको ज्योति गुमाउने रहस्यमय रोग सापु के हो? कसरी जोगिने?
User Image
Written & review by:
Ophthalmologist

हालसम्म नेपालमा मात्र देखिएको आँखाको डरलाग्दो रोग सापुका बिरामी पोखरामा फेरि भेटिन थालेका छन्। वर्ष बिरिएर देखिने रहस्यमय यो रोग सबैभन्दा पहिला सन् १९७५ मा पहिलोपटक देखिएको प्रमाणित तथ्य छ। 

सापु सेतो पुतलीसँग सम्बन्धित छ। सेतो पुतलीका प्रजनन अविधि भदौदेखि मंसिरसम्म संख्या पनि बढ्ने भएकाले यो रोग बढी देखिने गरेको छ। वर्षा सकिएपछि र जाडो सुरु नहुँदैको समय सापुले सताउने समय हो। यो रोग कसरी लाग्छ भन्ने एकिन कारण हालसम्म खुल्न सकेको छैन। तर, सेतो पुतलीको सम्पर्कमा आएका मानिसमा यो रोग देखिएको पाइएको छ। त्यसकारण सेतो पुतली पनि एउटा कारण हो भन्ने अनुमान गरिँदै आएको छ। 

यो रोगको पूरा नाम 'सिजनल हाइपर एक्युट पनुभिआइटिस' हो। नेपालका पनि केही पहाडी जिल्लामा मात्र देखिएको यो रोग के कारणले लाग्छ भन्ने अझै पत्ता लगाउन सकिएको छैन। यसबारे अध्ययनहरु भइरहेका छन्। गण्डकी प्रदेशमा पनि विशेषगरी पोखरामा यो रोग बढी देखिएको छ।
 
हामीले एक हप्ताको समयमा पोखरामा १० जना सापुका बिरामी भेटिसकेका छौं। जसमा ८ महिनादेखि ४० वर्षसम्मका मानिस यस रोगबाट पीडित भएका छन्। अघिल्लो बुधबार मात्रै ४ जनामा यो रोग देखिएको थियो। सेतो पुतली समातेर मात्र नभई यसका रौँ झ्यालमा, लुगामा, पर्दामा, जहाँ पनि छरिएको हुन सक्छ ती कुराको सम्पर्कमा आउँदा सापुको संक्रमण हुन सक्छ। 

विशेषगरी यो रोगले बालबालिकालाई बढी आक्रमण गर्ने गरेको छ। अहिलेसम्म सापुबाट प्रभावित बिरामीहरु हेर्दा ६० प्रतिशतभन्दा बढी बालबालिका नै छन्। तर, यसको मतलब वयस्क मानिसमा हुँदैन भन्ने होइन। वयस्क व्यक्तिमा पनि पछिल्लो समय धेरै मात्रामा यो रोग देखिन थालेको छ।

प्रायः एउटा आँखामा मात्र देखिने यो रोगको असर तीव्र रुपमा आँखामा फैलिन्छ। तर, एउटा आँखाबाट अर्कोमा र एक व्यक्तिबाट अर्कोमा भने सर्दैन। यो रोग लाग्यो भने आँखा एकाएक रातो हुँदै जाने र आँखाको नानी भने सेतो हुँदै जान्छ। आँखामा संक्रमण भएको दुई घन्टाभित्रै यी लक्षण देखिन्छन्। लक्षण देखिएको ४८ देखि ७२ घन्टाभित्र उपचार भएन भने आँखाको दृष्टि नै गुम्न सक्छ। त्यसकारण लक्षण देखिनासाथ उपचारका लागि जानुपर्छ।

सापुको संक्रमण भएपछि आँखा दुख्न पनि सक्छ, नदुख्न पनि सक्छ। तर दुख्यो भने पनि धेरै गाह्रो हुने गरी दुख्दैन। आँखा कम देख्ने, आँखाको बिचको भाग सेतो देखिने, आँखा रातो देखिने, आँखाको सबै पत्रमा पीप समेत जम्न थाल्छ। तर सबै आँखा पाकेको वा रातो देखिएमा सापु नै भन्न मिल्दैन। आँखामा यसको एकदमै डरलाग्दो पाटो भनेको यसले आँखा अन्धो त बनाउन सक्छ नै, पछि सुकेर सानो भएर पनि जान सक्छ। 

सापुको लक्षण देखिएपछि जति छिटो उपचारमा ल्याउन सक्यो, निको हुने सम्भावना उत्ति नै बढी हुन्छ। यो एकदम छिटो फैलिने र दृष्टि गुमाउने रोग हो। आँखाका सबै पत्रलाई बिगार्न सक्ने हुनाले यसको जोखिम धेरै छ। 

सेतो पुतली पनि धेरै प्रकृतिका छन्। सबै सेता पुतलीले सापुको संक्रमण फैलाउनले पनि होइन। अलि सेतो र ठूलो पुतलीले यसको संक्रमण गराउन सक्छ। कालो धर्सा भएको सेतो पुतली सापुको कारण मानिन्छ। यसको सम्पर्कमा आउने बित्तिकै शंका लाग्ने बित्तिकै उपचारमा गइहाल्नुपर्छ। ४८ घण्टा नबित्दै उपचारमा आयो भने जोखिम कम हुन्छ। सोभन्दा बढी या १ हप्ता नै भयो भने जोखिम बढी हुन्छ। छिटो आउनेलाई थोपा औषधी र सुई दिएर नै निको बनाइन्छ भने अलि जोखिम भएकालाई अपरेसन गरी उपचार गर्नुपर्ने हुन्छ। 

यो रोगले आँखामा हुने भित्री पत्र र ‘जेल’ जस्तो पानीलाई असर गर्छ। यस्तो असरका कारण आँखाको पर्दाभन्दा अगाडिको भागमा पिप जम्दै जाने भएकाले आँखाको भित्री नानी (कालो भाग) सेतो देखिने हुन्छ। यसको असरले सुन्निने आँखाको पर्दा नै च्यातिदिने भएकाले दृष्टि गुम्ने खतरा हुन्छ। यो रोगले आँखालाई सुकाउँदै लैजाने हुँदा दृष्टिसँगै आँखाको बनोट र सुन्दरता पनि बिग्रिन्छ।

प्रायः यो रोगबाट प्रभावितहरु ढिलो गरी अस्पताल आउने हुँदा धेरैको दृष्टि फर्काउन सकिएको छैन। तर, समयमै आएका र धेरै असर नपरेकाहरुको भने उपचारपछि दृष्टि राम्रो बनाउन सकिएको छ।

पछिल्लो सयम पोखरामा मात्र नभएर भक्तपुरमा पनि यस्तो पुतली भेटिएको हो भन्ने खबर आएको छ। हामी छिट्टै त्यसको खोजी पनि गर्ने तयारीमा छौँ। 

वर्ष बिराएर देखिने रहस्यमय रोग
अहिलेसम्म सापु रोगको प्रकृति हेर्दा यो एक वर्ष बिराएर देखिने गरेको छ। यो रोग मौसमी भएकाले नाम नै सिजनल छ। विशेषगरी यो रोग वर्षा सकिएपछि र जाडो सुरु हुनुभन्दा अगाडिको समयमा देखिने गरेको माथि नै उल्लेख भइसकेको छ। वर्ष बिराएर किन यही मौसममा मात्र यो रोग देखिन्छ भन्ने कुरा अझै रहस्यमय नै छ। कहिलेकाहीँ अन्य महिनामा पनि फाट्टफुट्ट यो रोगका बिरामी भेटिएका छन्।

लक्षण
    एउटा आँखा अचानक रातो हुनु,
    आँखाको भित्री नानीको बीचमा सेतो देखिनु,
    भित्री भागमा पिप भरिनु,
    अत्यन्तै छोटो समयमा ज्योति कम हँुदै जानु,
    आँखा पाके जस्तो देखिए पनि चिप्रा नलाग्नु,
    उज्यालोमा हेर्न गाह्रो हुनु,
    आँखा त्यति नदुख्नु।

बिरामीले माथिका लक्षण देखिने बित्तिकै आँखा अस्पताल तथा उपचार केन्द्रमा गएर उपचार सुरु गरिहाल्नुपर्छ। बिपी कोइराला नेत्ररोग अध्ययन केन्द्रले काठमाडौं उपत्यका बाहिरका बिरामीले पनि समयमै उपचार पाउन सकून् भनेर जिल्लामा समुदायस्तरका सम्पर्क व्यक्ति तथा केन्द्रहरु तोकेको छ।

उपचार
यो रोगको यकिन कारण पत्ता नलागेकाले उपचार पनि बिरामीमा देखिएको असरको अवस्थाका आधारमा गर्ने गरिएको छ। बिरामीको आँखाको पानीको जाँच गर्दा भाइरस, ब्याक्टेरियासमेत भेटिएका छन्। त्यसकारण उपचारमा समस्या छ।

उपचारका क्रममा सबैभन्दा पहिले बिरामीको आँखाको दृष्टि जोगाउने काम गरिन्छ। यसका लागि अवस्था हेरेर एन्टिबायोटिक चलाउने, सुईबाट पिप तान्ने, शल्यक्रिया गर्ने लगायतका उपचार पद्धति अपनाइन्छ। शल्यक्रिया गरेर आँखाभित्र जमेको पिप र फोहोर पानी हटाउने विधिलाई ‘भिट्रेक्टोमी’ भनिन्छ।

कुनै पनि रोगको उपचार सहज बनाउन त्यसको कारण पत्ता लगाउन जरुरी हुन्छ। त्यसैले अहिले सापुको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

#swasthyakhabar.com


Comments