जाडो बढ्दै जाँदा शरीरमा के हुन्छ? किन जान्छ ज्यान? कसरी जोगिने?
User Image
Written & review by:
कन्सल्टेन्ट फिजिसियन

जाडोका बेला मानिसलाई धेरै समस्याले सताउँछ। त्यसमध्ये ‘हाइपोथर्मिया’ एउटा जोखिमपूर्ण समस्या हो। हापोथर्मिया हुँदा शरीरको तापक्रम घड्दै जान्छ। मानिसको सामान्य तापक्रम ९८ दशमलब ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम छिटोछिटो घट्दै गएको खण्डमा हाइपोथर्मिया हुन्छ। तापक्रम ९५ डिग्री फरेनहाइड तिर झ¥यो भने हाइपोथर्मिया हुने सम्वाभना हुन्छ।

शितलहरका बेलामा यो समस्या मानिसमा मात्र होइन जनावरमा पनि देखिनेगर्छ। जाडो बेलामा शरीरले तापक्रम उत्पन्न गर्न नसकेर यो समस्या देखा पर्छ। यो समस्याले गर्दा मुटुले काम गर्न छोड्छ र मानिसको मृत्यु पनि हुनसक्छ। हाइपोथर्मियाले जनावरको समेत मृृत्यु हुनेगर्छ। 

यसका लक्षण तापक्रम अनुसार फरक–फरक हुन सक्छन्। मन्द खालको हाइपोथर्मियामा जिउ काम्ने तथा दिमाग सुस्त भएर अलमल पर्ने हुन्छ। मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमागको सुस्तता बढेर जान्छ। कडा खालको हाइपोथर्मिया भएमा बिरामीले लगाइरहेको कपडा बेहोसीमै खोल्न पनि सक्छन् र मुटुको धड्कन बन्द हुने खतरा बढेर जान्छ।

आवश्यकता अनुसारको कपडा लगाएर हाइपोथर्मियाबाट बच्न सकिन्छ। ओसिलो वा सुक्खा हुँदा पनि शरीरको तापलाई जोगाएर न्यानो बनाउने हुनाले ऊनबाट बनेका लुगाहरू उपयोगी हुन्छन्। कसिलो लुगाले रगतको बहावलाई रोक्ने हुनाले जाडोबाट बच्न अलि खुकुला खालका लुगा लगाउनुपर्छ। जाडो ठाउँमा घरबाहिरका क्रियाकलापको योजना बनाउँदा चिसो मौसमबाट बच्ने व्यवस्था गर्नुपर्छ। 

लक्षणहरु 

हाइपोथर्मियाको अवस्था अनुसार यसका लक्षण तथा चिह्नहरू फरक–फरक हुन्छन्। शिशुहरूलाई हाइपोथर्मिया लाग्यो भने शरीर छुँदा चिसो महसुस हुने, छाला हलुका रातो देखिने र कमजोर हुने जस्ता लक्षण देखा पर्छन्।

– जाडो भएर शरीर काप्ने, 

– खतखुट्टा निलो हुँदै जाने, 

– टाउको दुख्ने, 

– हातखुट्टा कठ्यांग्रिने,

– रिँगाटा लाग्ने, 

– कमजोर महसुस हुने,

– बेहोस हुने,

– बढी भोक लागेको महसुस हुने, 

– सास फेर्न गाह्रो हुने,

– पेट कराउने, आदि।

हाइपोथर्मियाका जोखिम 

शरीरमा चाहिनेभन्दा कम तापक्रम भयो भने रगत सञ्चालनमा कमी आउँछ। मुटुको काम गर्ने क्षमता कम हुन्छ। कठ्यांग्रिएर मानिसको मृत्यु हुने सम्भावना हुन्छ। 

जाडो याममा घरबार बिहीन मान्छे, बाटोमा सुत्ने मान्छेको राति सुतेको अवस्थामा बिहान कठ्यांग्रिएर मृत्यु भएको हुन्छ त्यो हाइपोेथर्मियाले गर्दा हो। यसले विशेषगरी वृद्धवृद्धा, बच्चा र कमजोर मान्छेलाई सताउँछ। बच्चाले थोरै मात्र तापक्रम उत्पादन गर्छन् भने वृद्धवृद्धाले तापक्रम उत्पादन गर्न सक्दैनन्।

शितलहर चल्ने ठाउँ र हिमाली क्षेत्रमा घर बाहिर बस्ने मानिस हाइपोथर्मियाको शिकार हुन सक्छन्। राति–राति हिँड्ने मान्छेको पनि तापक्रम घट्छ र शरीरले तापक्रम उत्पादन गनै नसक्दा यो समस्याले असर गर्छ। फोक्सो खुम्चिएर दम बढ्छ। फोक्सोको हावा जाने पाइपहरु खुम्चिने भएकाले घ्यारघ्यार हुने, हिँड्न गाह्रो हुने र कडा दम (सिओपिडी) बढ्ने हुन्छ। रगत वहने नसाहरु खुम्चिएर शरीरका ठाउँठाउँमा रगत जान पाउँदैन, मस्तिष्कले काम गर्न छोड्छ र रगत सञ्चालन हुन छोड्छ। अनि मान्छेको मृत्यु हुन्छ।

बच्ने उपाय

चिसोले कठ्यांग्रिने बित्तिकै मान्छेलाई तातो बनाउनुपर्छ। यो घरमा पनि गर्न सकिन्छ। तातो लुगा लगाएर राख्नुपर्छ। तातो खानेकुरा विशेषगरी झोलिलो कुरा खुवाउने र आगो वा हिटरको छेउमा राख्नुपर्छ। जाडो महिनामा प्रोटिन, फ्याट भएका खानेकुरा बढी खानुपर्छ, यसले शरीरमा तातो उत्पादन गराउँछ। त्यसैले घरबाहिर निस्कँदा तातो खानुकुरा खाएर निस्कनुपर्छ। 

बाइक चलाउने मान्छेहरु पनि यो समस्याको जोखिममा हुन्छन्, त्यसैले हावा नछिर्ने तातो लुगा लगाएर बाइक चलाउनुपर्छ। शरीरको तापक्रम बढाउन जिउ चलायमान बनाउने गतिविधि बढाउनुपर्छ। यदि कुनै मानिस हाइपोथर्मियाको जोखिममा छ भने उसले देखाउने लक्षणका आधारमा पहिचान गर्न सकिन्छ। नत्र अन्य अवस्थामा पहिचानका लागि शरीरको तापक्रम नाप्नुपर्ने हुन्छ।

(डा गैरे वीर अस्पतालका कन्सल्टेन्ट फिजिसियन हुन्)

#swasthyakhabar.com


Comments