डडेल्धुरा अस्पताल : मन्त्रालयले पठायाे १४ चिकित्सक तर ३ जनामात्रै हाजिर

डडेल्धुरा- सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव कायमै छ।

विशिष्ट विशेषज्ञ अस्पतालका रूपमा संघीय सरकारमातहत रहेको सुदूरपश्चिम प्रदेशको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। अस्पतालले विगत लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक पाएको छैन। अस्पतालले ११औँ तहको मेडिकल सुपरिटेण्डेन्टसमेत पाएको छैन। तत्कालिन जिल्ला अस्पताल व्यवस्थापन समिति भंग भएपछि हालसम्म उपक्षेत्रीय अस्पताल तथा हालको विशेषज्ञ अस्पतालको विकास समितिसमेत गठन हुन सकेको छैन।

२० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकाे अस्पतालमा अहिले छात्रवृती करारबाट एकजना र अस्पताल विकास समितिबाट दुईजना गरी करारमा ३ जना विशेषज्ञ चिकित्सक छन्। त्यस्तै १९ जना मेडिकल अफिसरको दरबन्दी रहेको अस्पतालमा ९ जना चिकित्सक रहेपनि ५ जना अध्ययन बिदामा रहेका छन्। ४ जनामात्र अस्पतालमा कार्यरत छन्। 

स्वास्थ्य मन्त्रालयले पठाएका ११ जना स्थायी र ३ जना करार गरी  १४ जना चिकित्सक मध्ये ३ जना मात्र डडेल्धुरा अस्पतालमा पुगेका छन्। बाँकी ११ जना भने अहिलेसम्म अस्पतालमा पुगेका छैनन्। मन्त्रालयले पठाएका ७ जना चिकित्सक यसअघिदेखि नै अध्ययन बिदामा छन् भने एकजना संघीय सरकारबाट प्रदेश मातहतको बाजुरा जिल्ला अस्पतालमा काज सरुवा भएका छन्। यस्तै अर्का एकजना अहिले सुत्केरी स्याहार बिदामा रहेका छन्। यसैगरी करारमा पठाएका २ जना अझै सम्पर्कमा नआएका अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगदीशचन्द्र बिष्टले जानकारी दिए।

अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सात पहाडी जिल्लाको स्वास्थ्य सेवा नै प्रभावित बनेको छ। कर्मचारी समायोजनपछि डडेल्धुरा अस्पतालमा रहेका चिकित्सकहरु सरुवा भइ गएपछि अभाव भएकोे अस्पतालका निमित्त प्रमुख डा. विष्टले बताए।

डडेल्धुरा अस्पताललमा ११औँ तहको मेडिकल सुपरिटेण्डेन्टको दरबन्दी रहेको छ। तर, अस्पतालले अहिलेसम्म ११औँ तहको मेडिकल सुपरिटेण्डेन्ट पाएको छैन्। अस्पताल निमित्त प्रमुखको भरमा चलिरहेको छ। स्थापनादेखि डडेल्धुरा अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारीमा छ।

अस्पतालबारे के भन्छन् नयाँ मेसु डा. बिष्ट?
डडेल्धुरा अस्पतालका नयाँ निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगदीशचन्द्र बिष्टले पत्रकारहरुसंग परिचयात्मक कार्यक्रमको आयोजना गरी अस्पतालको बारेमा जानकारी गराएका छन्। उनले अस्पतालमा चिकित्सक अभाव नै प्रमुख समस्याको रुपमा रहेको बताए।

उनले भने, ‘यो अस्पतालको प्रमुख समस्या भनेको दरबन्दीअनुसार चिकीत्सक नहुनु नै हो।’ संघीय सरकार मातहत रहेको अस्पतालमा स्वास्थ्य मन्त्रालयले नै दरबन्दी अनुरुपका चिकित्सक पठाउनुपर्नेमा डा. बिष्टले आग्रह गरे। अस्पतालको आन्तरिक व्यवस्थापनका लागि आफूले प्रयत्न गर्ने बताउँदै डा. बिष्टले बाह्य वातावरणका लागि यहाँका सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताए। 

डडेल्धुरा अस्पतालमा चिकित्सकहरुलाई काम गर्न कुनै समस्या नरहेको डा.बिष्टले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए। यहाँका राजनीतिक दल, स्थानीय प्रशासन र नागरिक समाज अस्पतालको विकासका लागि योजनावद्ध रुपमा अगाडि बढेकाले अस्पताल प्रशासनले समेत हातेमालो गर्दै अगाडी बढ्ने उनले बताए। 

परिचात्मक कार्यक्रममा अस्पताल विकासका साथै चिकित्सकहरुको पदपूर्ति, कर्मचारी व्यवस्थापन तथा औषधि खरिद र आन्तरिक व्यवस्थापनका विभिन्न विषयमा छलफलसमेत गरेकाे थियो। 

अहिले अस्पतालमा सिजरियन सर्जरी सेवा, यूएसजी सेवा, इन्डोस्कोपी सेवा तथा एसयनसियू सेवा संचालनमा आएको छ। अस्पतालमा अहिले नेपाल सरकारतर्फबाट १ सय ८ जनाको दरबन्दी स्वीकृत भएपनि दरबन्दी अनुसार कर्मचारी छैनन्।

#swasthyakhabar.com


Comments