आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य उपचारका लागि छुट्टै रणनीति बनाउँदै सरकार

काठमाडौं– आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको उपचारलाई सर्वसुलभ बनाउन सरकारले छुट्टै रणनीति बनाउने तयारी गरेको छ । 

सरकारी स्वास्थ्य संस्थामा प्रभावकारी उपचार सेवा नभएको भन्दै सरकारले छुट्टै रणनीति बनाउने तयारी गरेको हो। 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इएनटी तथा ओरल हेल्थ शाखाले यसका लागि आवश्यक तयारी अगाडि बढाएको छ। आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको उपचारलाई पहुँचयोग्य अनि सर्वसुलभ बनाउन, जनशक्तिको विकास गर्न रणनीति बनाउने गृहकार्यमा जुटेको शाखा प्रमुख डा प्रकाश बुढाथोकीले बताए। 

उनका अनुसार देशका सबै स्वास्थ्य संस्थामा यी सेवा उपलब्ध नभएको र भएकामा पनि प्रभावकारी नभएकाले भएका स्थानमा प्रभावकारी बनाउन र नभएका स्थानमा सेवा सुरु गर्न रणनीति बनाउन लागिएको हो। उनले भने, ‘अन्य रोगमा जस्तो यसले अहिले पनि प्राथमिकता पाउन सकेको छैन। त्यसैले यो सेवाको विस्तार गर्दै सबैको पहुँचमा पुर्याउनु हाम्रो प्रमुख उद्देश्य हो।’ 

सरकारले यसका लागि चालु आर्थिक वर्षमा साढे २ अर्ब बजेट छुट्टाएको उनले जानकारी दिए।

शाखाले पहिलो चरणमा स्थानीय स्तरमा विशेषगरी दुई वटा कार्यक्रमलाई प्राथमिकता दिएको छ। जसअन्तर्गत विद्यालय मुख स्वास्थ्य कार्यक्रम र स्वास्थ्यकर्मीलाई अभिमुखिकरण तालिम पर्दछ। विद्यालय मुख स्वास्थ्य कार्यक्रम अन्तर्गत विद्यार्थी र शिक्षकलाई आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य बारे जानकारी दिने र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई उपचार गर्न सक्ने गरी अभिमुखिकरण गर्ने उनले बताए। 

जनशक्ति नभएका दुर्गम जिल्लामा दरबन्दी सिर्जना गरेर १५ शैय्या मुनिका अस्पतालमा दन्त चिकित्सक राख्ने तयारी भएको शाखाले जनाएको छ।

#swasthyakhabar.com


Comments