घरमा सूक्ष्मजीव फैलन नदिन र स्वस्थ रहन ध्यान दिनुपर्ने आठ विषय के के हुन्?

बिबिसीब्रिटिश रोयल सोसाइटी फर पब्लिक हेल्थ(आरएसपीएच)ले प्रकाशित गरेको रिपोर्ट अनुसार मानिसहरूले आफ्ना घरका फोहोर देखिएका ठाउँहरू सफा गर्नमा भन्दा पनि आफ्ना घरमा सूक्ष्मजीवहरू नफैलिउन् भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएको छ।

स्वास्थ्यका लागि हात, लुगा र भुइँ सही समयमा सफा गरिरहनु पर्छ- उक्त संस्थाले चेतावनी दिँदै भनेको छ- तर चारमध्ये एकजनाले त्यसलाई महत्त्वपूर्ण ठान्दैनन्।

सही समयमा सही काम गर्न सकेमा सङ्क्रमण कम हुने र एन्टिबायोटिकले काम नगर्ने स्थिति पनि कम हुने बताइएको छ।

र "अति सफा" भन्ने कुरा हुँदै हुँदैन।

आरएसपीएच रिपोर्टका अनुसार मानिसहरूमा फोहोर, किटाणुहरू, स्वास्थ्य र सरसफाइबारे अन्यौल छ।

दुई हजारजना मानिसहरूमा गरिएको सर्वेक्षणमा २३% ले आफ्ना बच्चालाई उनीहरूको रोगप्रतिरोधी प्रणाली राम्रो बनाउन खतराजन्य किटाणु भएका ठाउँमा पनि छाडिदिनुपर्ने ठानेको बताएका थिए।

तर यो रिपोर्ट बनाएका विज्ञहरूले भनेका छन् "त्यो सम्भवत: हानिकारक विश्वास हो" जसले केही घातक सङ्क्रमण गराउन सक्छन्।

बरु उनीहरू भन्छन्, मानिसहरू सफा देखिए पनि किटाणुहरू फैलाउने विशेष ठाउँहरू यथासमयमा सफा गर्नेमा केन्द्रित हुनुपर्छ।

स्वास्थ्यका लागि ध्यान दिनुपर्ने आठ विषय के के हुन्?

१. खानाको तयारी र खाना व्यवस्थापन
२. हातले खाना खानु
३. शौचालय प्रयोगपछि
४. जब मानिसहरू खोकिरहेका, हाछ्युँ गरिरहेका र सिँगान फालिरहेका हुन्छन्
५. घरका फोहोर लुगा र ओढ्ने ओच्छ्याउने लुगाको सरसफाइ र व्यवस्थापन
६. घरपालुवा जनावरको देखभाल
७. घरको फोहोर व्यवस्थापन
८. सङ्क्रमित परिवारका सदस्यको देखभाल

शौचालय प्रयोग गरिसकेपछि, खोकेपछि, हाछ्युँ गरेपछि, अनि बिरामी मानिसको सेवा गरेपछि हात धुनु अति आवश्यक रहेको रिपोर्टमा लेखिएको छ।

भान्छाको भुइँ र मासु काटिसकेपछि काट्न प्रयोग गरिएको सतह अर्थात् 'चपिङ बोर्ड' सफा गर्नु अति आवश्यक छ। त्यसैगरी स्यान्डविच र खाजा बनाउनु अघि चपिङ बोर्ड सफा गर्नुपर्छ।

र फोहोर सफा गरिसकेपछि भाँडा माझ्ने वस्तु र ब्रशहरू सफा गर्नुपर्छ।

भुइँ र फर्निचर फोहोर देखिन सक्छन् तर तिनमा रहेका सूक्ष्म जीवाणुले स्वास्थ्य खतरामा भने पार्दैनन्।

सरसफाइले ब्याक्टेरिया कसरी हटाउँछन्?

भुइँ, भाँडाहरू तातो र साबुनपानीले धुँदा ब्याक्टेरियाहरू पखालिएर ढलमा पुग्छन्।

द फूड स्ट्यान्डर्ड एजेन्सीका अनुसार "ब्याक्टेरिया मार्न भने ७० डीग्री सेल्सियस भन्दा माथिको तातो पानी चाहिन्छ।"

कस्ता उत्पादन प्रयोग गर्ने?

धेरैजसो तीन प्रकारका बस्तु छन् र तिनले फरक फरक काम गर्छन्।

- साबुनजन्य बस्तु ( डिटर्जेन्ट)- भुइँ सफा गर्छन् र चिल्लो फाल्छन् तर तिनले ब्याक्टेरिया मार्दैनन्।
- किटाणुनाशक (डिसइन्फेक्ट्यान्ट्स)- यिनले ब्याक्टेलिया मार्छन् तर चिल्लो सतह र देखिने फोहोरमा त्यति प्रभावकारी हुँदैनन्।
- स्यानिटाइजर्स- सफाइ र जीवाणु मार्न प्रयोग गर्न सकिन्छ। शुरुमा कुनै फोहोर खाद्यान्न या चिल्लो फाल्न स्यानिटाइजर प्रयोग गर्ने र त्यसपछि सफा सतहमा किटाणु मार्न प्रयोग गर्ने
विज्ञहरू भन्छन्, "त्यसमा लेखिएका निर्देशनहरू पढ्नु महत्त्वपूर्ण छ।"

खानेकुरा तयारी गरेपछि भुइँलाई कपडाले भन्दा कागजको रुमालले पुछ्नु राम्रो हुन्छ। यसले भान्छा सफा गर्ने कपडा प्रदुषित हुनबाट बच्छ।

विज्ञहरू के भन्छन्?

लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनकी प्रोफेशर स्याली ब्लुमफिल्ड भन्छिन्, "मानिसले स्वास्थ्य र सफाइबीचको फरक थाहा पाउन जरुरी छ।"

"सरसफाइले फोहोर र जीवाणु हटाउने भन्ने बुझिन्छ भने स्वास्थ्यकर सफाइ (हाइजीन)ले महत्त्तवपूर्ण स्थान र समयको सही सफाइ भन्ने बुझिन्छ जसले खाना बनाउँदा वा शौचालय प्रयोग गर्दा या घरपालुवा जनावरको रेखदेख गर्दा हुने सम्भावित सङ्क्रमणको जालो तोड्नेछ। "

रोयल सोसाइटी फर पब्लिक हेल्थकी खाद्य र सरसफाइ विज्ञ प्रोफेशर लिसा अकरली भन्छिन् "घर बाहिर गएर साथीहरू, परिवार र घरपालुवा जनावरसँग खेल्दा फाइदाकारक ब्याक्टेरियासँग भेट हुन सक्छ र स्वस्थ्यकर सन्तुलन प्राप्त हुन सक्छ तर खराब कुरासँग भेट हुन भने भएन। राम्रो स्वास्थ्यका लागि त्यसो गर्नु हुँदैन। "

"समयमै स्वास्थ्य रहने तरिका अपनाउने हो भने त्यसले सङ्क्रमणबाट बचाउँछ, त्यसो गर्दा सस्तोमा स्वस्थ्य रहन सकिन्छ र कम मेहनत पर्छ र 'राम्रो ब्याक्टेरिया'सँग पनि भेट त भइहाल्छ।"

उनी भन्छिन्, "सङ्क्रमणबाट बच्ने भनेको हाम्रा बच्चाहरूलाई सुरक्षित बनाउनु हो र स्वास्थ्य प्रणालीमाथिको दबाब कम गर्नु पनि हो। सँगसँगै यसले एन्टिबायोटिक प्रतिरोधी समस्या विरुद्धको सङ्घर्षमा पनि ठूलो भूमिका खेल्छ।"

#swasthyakhabar.com


Comments