कान्ति बाल अस्पतालमा १० बेडको आइसोलेसन, ओपिडी र इमरजेन्सी छुट्टै कक्ष

काठमाडौँ,  चैत । कोरोना भाइरसको संक्रमित आउनसक्ने भन्दै कान्ति बाल अस्पतालले १० बेडको छुट्टै आइसोलेसन वार्ड तयार पारेको छ । अस्पतालले ओपिडी र इमरजेन्सी वार्डमा समेत कोरोना शंकास्पद विरामीका लागि छुट्टै जाँच गर्ने व्यवस्था मिलाएको छ ।

‘अहिलेसम्म कोरोनाको दुई शंकास्पद केश आयो । हामीले आइसोलेसनमा भर्ना गरेरै राख्यौँ तर परीक्षणका क्रममा नेगेटिभ देखियो । फेरी पनि यस्ता सम्भावित केश आउन सक्छन् भनेरै हामीले १० बेडको आइसोलेसन वार्ड तयार गरेका हौँ,’ अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले भने ।

सरकारले ५० बेड माथिका अस्पतालमा छुट्टै फिवर क्लिनिक खोल्न निर्देशन दिएको छ । ‘कान्तिले भने फिवर सहित रुघा खोकी लागेका बालबालिकालाई पनि सो क्लिनिकमा लगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ । यस्तै आकस्मिक केश आउने स्थानमा पनि ज्वरो र रुघा खोकी देखिने बालबालिकाको लागि छुट्टै परीक्षण गर्ने स्थान तयार पारिएको छ । हामीले खासमा सम्भावित संक्रमणलाई नियन्त्रण गर्नकै लागि यी तयारी गरेका हौँ ,’डा पौडेलले भने ।

कान्ति अस्पतालमा छिर्नेले सावुन पानीले हात धुनुपर्ने
कोरोनाभाइरसको सम्भावित संक्रमणबाट जोगिनका लागि अस्पतालले शनिबारबाट अस्पतालमा छिर्ने जो सुकैलाई सावुन पानीले हात धुनुपर्ने व्यवस्था गराएको छ । ओपिडी कक्ष बाहिर रहेको खानेपानीको धारामा हात धुने व्यवस्था मिलाएको हो । ‘कोरोनाको जोखिम घटाउने एउटा उपाय भनेको सावुन पानीले हात धुने पनि हो । हामीले त्यहि गरेका हौँ,’ डा पौडेलले भने ।

#nepalihealth.com


Comments