खाली हुँदै आइसोलेसन, भरिभराउ आइसियु समस्या बढेपछि मात्र अस्पताल जाने क्रम बढ्दो

काठमाडौं- केही दिनअघि सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाले होम आइसोलेसनमा बस्दा निम्तन सक्ने जटिलताबारे सामाजिक सञ्जालमा पोस्ट गरे। उनको त्यो पोस्टले होम आइसोलेसनमा बस्दा हुनसक्ने गम्भीर समस्याप्रति पटकपटक सचेत गराएको थियो। 

लक्षणविहीन, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्तिहरु मात्र होम आइसोलेसनमा बस्नुपर्ने हो। तर गम्भीर अवस्थाका संक्रमित पनि होम आइसोलेसनमा बस्ने गरेका छन्। 

नेपालमा हाल २८ हजार १ सय ६ जना सक्रिय संक्रमित छन्। जसमध्ये २५ हजार ३ सय ४७ जना होम आइसोलेसनमा छन्। बाँकी २ हजार ७ सय ५९ जना मात्र संस्थागत आइसोलेसनमा छन्। 

यो तथ्यांकले सबैजसो कोरोना संक्रमित यतिबेला घरमै बसेर उपचार गरिरहेको पुष्टि गर्छ। तर चिकित्सक भने लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमा नबस्न सुझाव दिन्छन्। 

गम्भीर खालका लक्षण भएका संक्रमितहरु होम आइसोलेसनमा बस्दा समस्या जटिल हुने र बिरामीको मृत्यु हुने डा बास्तोला बताउँछन्। उनका अनुसार समस्या भएका र गम्भीर अवस्थाका संक्रमित पनि होम आइसोलेसनमै छन्। 

अधिकांश संक्रमित होम आइसोेलसनमा बसेकाले काठमाडौं उपत्यकामा रहेका अस्पतालहरुको आइसोलेसन वार्ड खाली हुँदै छन्। अस्पतालमा मात्र नभई कोरोना संक्रमितको उपचारका लागि भनेर स्थापना गरिएका आइसोलेसन केन्द्रहरु पनि रित्तिँदै छन्। 

काठमाडौं उपत्यकामा रहेका विभिन्न अस्पताल र आइसोलेसन केन्द्रमा हाल कति कोरोना संक्रमित छन्? ती अस्पताल र आइसोलेसन केन्द्रको क्षमता कति हो? लगायत विषयमा स्वास्थ्य खबरले बुझ्ने प्रयास गरेको छ। 

काठमाडौं उपत्यकामा रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य प्रतिष्ठान, नेपाल एपिएफ अस्पताल, मनमोहन आइसोलेसन केन्द्र, काठमाडौं मेडिकल शिक्षण अस्पताल दुवाकोट, इचंगु नारायण आइसोलेसन सेन्टर र कीर्तिपुर आयुर्वेदिक आइसोलेसन केन्द्रमा हामीले बुझ्ने प्रयास गरेका छौं। 

काठमाडौं उपत्यकाको अस्पतालमा भर्ना हुनेमा अधिकांश अक्सिजन चाहिने र गम्भीर खालका संक्रमितहरु मात्र छन्। अस्पतालको आइसियु अहिले पनि भरिभराउ नै पाइएको छ। तर आइसोलेसन वार्डहरु भने खाली हुँदै छन्। 

सामान्य लक्षण भएका संक्रमितलाई राख्न स्थापना गरिएका आइसोलेसन केन्द्रहरु त झन् लगभग खाली नै भइसकेका छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल 
टेकुस्थित शुक्रराज अस्पतालमा हाल ३६ जना कोरोना संक्रमित उपचाररत छन्। यद्यपि यस अस्पतालको उपचार क्षमता ५४ हो। कोरोना संक्रमितको उपचारका लागि अस्पतालले ५४ वटा शय्याको व्यवस्था गरे पनि ३६ जना संक्रमित मात्र उपचाररत छन्। 

अस्पतालका प्रवक्ता समेत रहेका डा अनुप बास्तोलाका अनुसार कोभिड वार्डमा १७, आइसियुमा १६ र कोभिड स्पेसल वार्डमा ३ गरी ३६ जना संक्रमित उपचाररत छन्। हालसम्म यस अस्पतालले ७ सय बढी संक्रमितको उपचार गरेको छ। 

यस अस्पतालमा आउने धेरैजसो बिरामी होम आइसोलेसनमा बसेकाहरु रहेको डा बास्तोला बताउँछन्। उनी भन्छन्, ‘यस अस्पतालमा आउने धेरैजसो बिरामी होम आइसोलेसनमा बसेकाहरु छन्। त्यसमा पनि निमोनिया लिएर आउन थालेका छन्। यतिसम्मकी घरमा बसेका संक्रमितमा अक्सिजनको कमी हुँदा घरमै अक्सिजन सिलिन्डर लिएर समेत जाने गरेका छन्।’

खोकी र ज्वरो बढिरहेको भए तत्काल अस्पताल जानुपर्ने उनी बताउँछन्। निमोनिया भएर पनि घरमै बस्दा जटिलता बढ्ने र उपचार गर्दा पनि प्रभावकारी नहुने उनले बताए। 

नेपाल एपिएफ अस्पताल
बलम्बुस्थित नेपाल एपिएफ अस्पतालले कोरोना संक्रमितको उपचारका लागि २० आइसियु सहित १ सय ४० शय्याको कोभिड वार्ड छुट्याएको छ। कुल १ सय ४० शय्या क्षमता भएको यस अस्पतालमा हाल १ सय संक्रमित उपचाररत छन्। 

अस्पताल भर्ना हुनेमा अधिकांश संक्रमित गम्भीर खालका लक्षण भएका मात्र हुने गरेको अस्पतालका सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालले बताए। उनका अनुसार भर्ना हुने ८५ देखि ९५ प्रतिशतलाई अक्सिजनको आवश्यक पर्ने गरेको छ। 

उनले भने, ‘बिरामीको संख्या घटेको हो। तर जटिलता बढेको छ। अधिकांश संक्रमित अक्सिजनको आवश्यक परेर भर्ना हुने गरेका छन्।’ 

हालसम्म १ हजार ८ सय ६६ जना कोरोना संक्रमित भर्ना भइसकेको अस्पतालले जनाएको छ। 

त्रिवि शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ६२ जना कोरोना संक्रमित उपचाररत छन्। जसमध्ये १७ जना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। यो बिहीबार दिउँसोसम्मको तथ्यांक हो। 

शंकास्पद र कोरोना संक्रमितको लागि गरी त्रिवि शिक्षण अस्पतालमा १ सय ४० शय्या छुट्याइएको छ। जसमध्ये कोरोना संक्रमितका लागि छुट्याइएको शय्याको संख्या १ सय १४ छ। 

१ सय १४ शय्या क्षमता भएको अस्पतालमा ६२ संक्रमित उपचाररत छन् भने बाँकी शय्या खाली रहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका सदस्य डा सविन थपलियाले बताए। अस्पतालमा हाल अस्पताल भर्ना हुने संक्रमितको संख्या घट्दै गएको उनले बताए। 

उनले भने, ‘आइसियु चाहिनेलाई बेड पाउन अहिले पनि मुश्किल नै छ। तर साधारण उपचार गर्नुपर्ने संक्रमितको संख्या कम नै छ। त्यो बेड पनि खाली जस्तै छ।’

साधारण लक्षण हुनेहरु होम आइसोलेसनमा बसेका कारण पनि अस्पताल आउनेको संख्यामा कमी आएको हुनसक्ने उनी बताउँछन्। 

‘साधारण लक्षण हुने मात्र नभई गम्भीर लक्षण भएका संक्रमितहरु पनि होम आइसोलेसनमै बस्न थालेका छन्’, उनले भने, ‘यसले गर्दा समस्या जटिल हुने र उपचार प्रभावकारी नहुने पनि हुनसक्छ।’

श्वासप्रश्वासमा समस्या भए, शरीरमा अक्सिजनको मात्रा कम भए तत्काल अस्पताल जानुपर्ने उनले बताए। त्रिवि शिक्षण अस्पतालमा हालसम्म ८ सय बढी कोरोना संक्रमितको उपचार भइसकेको छ। 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
कोरोनाको उपचारका लागि २७ आइसियु सहित २ सय ४५ शय्या छुट्याएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल १ सय ३२ जना व्यक्ति आइसोलेसनमा छन्। जसमध्ये ८२ जना कोरोना संक्रमित हुन्। १३ जना संक्रमितको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ। 

यस अस्पतालमा पनि अधिकांश गम्भीर लक्षण भएका र अक्सिजनको आवश्यक पर्ने संक्रमित मात्र भर्ना हुने गरेको अस्पतालका निर्देशक डा रवी शाक्यले बताए। सामान्य लक्षण भएकाहरु संक्रमित घरमै भएकाले पनि अस्पतालले छुट्याएको आइसोलेसन शय्याहरु खाली देखिन्छ। 

हालसम्म यहाँ २ हजार ७ सय ७२ जना संक्रमितको उपचार भएको अस्पतालले जनाएको छ। 

मनमोहन आइसोलेसन केन्द्र
सामान्य लक्षण भएका कोरोना संक्रमितको उपचारका लागि स्थापना गरिएको आइसोलेसन सेन्टरहरु खाली हुँदैछन्। यसको उदाहरण हो, मनमोहन आइसोलेसन केन्द्र। 

कोरोना संक्रमितको उपचारका लागि यस केन्द्रले ३ सय ३३ वटा आइसोलेसन शय्याको व्यवस्था गरेको थियो। तर हाल यो केन्द्र खाली छ। हालसम्म ५ सय ३२ जना संक्रमितको उपचार गरिसकेको केन्द्रमा हाल कुनै पनि संक्रमित नरहेको केन्द्रका फोकल पर्सन भुवन खकुरेलले बताए। 

लक्षण नभएका संक्रमित आउने क्रम घटेपछि लक्षण भएका संक्रमितलाई मात्र राख्ने विषयमा छलफल भइरहेको उनले बताए। 

उनले भने, ‘लक्षण नभएका संक्रमित आइसोलेसनमा आउनेको संख्या घट्दै गइरहेको छ। त्यसैले लक्षण भएका संक्रमितलाई मात्र भर्ना गर्ने उद्देश्यले अहिले आइसोलेसन केन्द्रमा कुनै पनि संक्रमित भर्ना भएका छैनन्। लक्षण भएका संक्रमित राख्ने भन्ने विषयमा छलफल भइरहेको छ।’ 

काठमाडौं मेडिकल शिक्षण अस्पताल
कोरोना संक्रमितको उपचारका लागि यस अस्पतालले १ सय ३२ वटा आइसोलेसन शय्या छुट्याएको छ। तर अहिले ५ जना कोरोना संक्रमित मात्र उपचाररत छन्। सरकारले कोरोना संक्रमितको उपचार व्यक्ति स्वयंले गर्नुपर्ने निर्णय गरेपछि संस्थागत आइसोलेसनमा बस्ने संक्रमितको संख्या घट्न थालेको यसका फोकल पर्सन जयकला आलेले बताइन्। 

उनले भनिन्, ‘सरकारले कोरोना संक्रमित आफैंले उपचार खर्चा व्यहोनुपर्छ भन्ने निर्णय गरेपछि हाम्रो आइसोलेसनमा पनि संक्रमितको संख्या घट्दो छ।’ 

हालसम्म यस आइसोलेसन सेन्टरमा ३ सय १८ जनाले उपचार भएको उनले जानकारी दिइन्। 

कीर्तिपुर आयुर्वेदिक आइसोलेसन केन्द्र
अन्य आइसोलेसन सेन्टरमा झैं कीर्तिपुर आयुर्वेदिक आइसोलेसन केन्द्रमा पनि भर्ना हुने कोरोना संक्रमितहरु घट्दो क्रममा छन्। यस केन्द्रको २ सय जना कोरोना संक्रमितको उपचार गर्ने क्षमता छ। तर हाल यहाँ ४६ जना संक्रमित मात्र उपचाररत रहेको केन्द्रका निर्देशक डा रामअधार यादवले बताए।

विगतमा दैनिक २ सयको हाराहारीमा संक्रमित भर्ना हुन्थ्यो भने करिब ५० जना संक्रमित मात्र भर्ना हुने गरेको केन्द्रका फोकल पर्सन डा जितेन्द्र श्रेष्ठले जानकारी दिए। यस केन्द्रमा हालसम्म १ हजार १ सय ५६ जना संक्रमित भर्ना भइसकेका छन्। व्यक्ति आफैंले उपचार गर्नुपर्ने सरकारको निर्णयपछि नै यो क्रम घट्न थालेको उनले बताए। 

उनले भने, ‘पहिला संक्रमित भएपछि बेड खाली भए–नभएको फोन गरेर बुझेर तुरुन्त अस्पताल आउने गर्थे। तर आजभोलि संक्रमितले फोन गर्दा आफैंले खर्च व्यहोर्नुपर्छ भन्दा उहाँहरु घर सल्लाह गरेर आउँछु भन्नुहुन्छ तर आउनुहुन्न।’ 

इचंगु नारायण आइसोलेसन केन्द्र
इचंगु नारायण आइसोलेसन केन्द्रमा हाल ७ जना कोरोना संक्रमित उपचाररत छन्। तर केन्द्रको क्षमता भने ५ सय ४४ हो। यो तथ्यांकले पनि यस केन्द्रमा भर्ना हुने संक्रमितको संख्या घटेको पुष्टि गर्छ। 

पहिले कोरोना संक्रमितको रोजाइ संस्थागत आइसोलेसन हुने गरे पनि अहिले होम आइसोलेसन नै अधिकांशको रोजाइ हुने गरेको फोकल पर्सन पूर्णबहादुर गुरुङले बताए। 

‘सरकारले पैसा संक्रमितले नै ब्यहोर्ने भनेपछि संस्थागत आइसोलेसनमा बस्नेहरुको संख्या पनि घट्दो छ। उनले भने, ‘सबैलाई पैसा तिरेर बस्न पनि गाह्रो छ। सरकारले तोकेको मापदण्ड पूरा गर्न सबैलाई गाह्रो हुन्छ।’ 

यस केन्द्रमा हालसम्म ६ सय ७८ जना संक्रमितले उपचार सेवा लिएको उनले जानकारी दिए।

#swasthyakhabar.com


Comments