पानी : सहज स्वास्थ्य उपचार

शरीर स्वस्थ रहन पानीको मात्रा सन्तुलित हुनुपर्छ। व्यक्तिको कार्यक्षमता विकास, आकर्षक व्यक्तित्व, निद्रा, मानसिक तन्दुरुस्तीका लागि पानीको ठूलो भूमिका हुन्छ।

शरीरको कुल तौलको ६० देखि ७५ प्रतिशत पानीले ओगटेको हुन्छ। शरीरका सबैभन्दा बढी रगतमा ८३ प्रतिशत र सबैभन्दा कम एडिपोस टिस्युहरुमा १० प्रतिशत पानी हुन्छ। यसैको मद्दतले रक्त सञ्चार नियमित गर्न र शरीरको तापक्रमलाई सन्तुलन गरी राख्न मद्दत मिल्छ।

मांसपेसी निर्माण, कोषिकाहरुमा रसायनिक प्रतिक्रिया गराउने कार्यमा पनि पानीको भूमिका रहन्छ। यसले शरीरमा अत्यावश्यक पोषणको काम गर्छ। पानीको अभावले शरीरमा अक्सिजनको कमी हुने, शरीरमा शिथिलता वा थकान महसुस हुने, कोषिकाहरुको निर्माण र तिनको कार्यमा अवरोध आउँछ। 

विभिन्न उमेर समूह र अवस्थाका मानिसमा पानीको आवश्यकता फरकफरक हुन्छ। युरोपियन खाद्य सुरक्षा प्राधिकरणका अनुसार ६ महिनासम्मका शिशुलाई दैनिक ६८० मिलिलिटर (आमाको दूध मात्र) पर्याप्त हुन्छ भने ६ देखि १२ महिनाको बच्चाको लागि ८०० मिलिदेखि एक लिटर पानी प्रतिदिन आवश्यक पर्छ। यो क्रम उमेर बढेसँगै बढ्दै जाने हुन्छ।

दुई वर्षको बच्चाको लागि १२०० मिलि, दुईदेखि ३ वर्षको लागि १३०० र चारदेखि आठ वर्षको उमेरमा १६०० मिलि पानीको आवश्यकता पर्छ। पूर्वकिशोरा अवस्थाका केटाहरुलाई २१०० र केटीहरुलाई १९०० मिलि र उत्तर किशोरावस्थादेखि माथिका सबै पुरुषले अढाई र महिलालाई दुई लिटर पानी आवश्यक पर्ने उल्लेख छ।

गर्भवती र स्तनपान गराउने महिलालाई करिब आधा लिटर पानी थप सेवन गर्न सिफारिस गरिएको छ। हरेक व्यक्तिको पेसा, व्यवसाय, शारीरिक अवस्था, वाह्य वातावरणीय अवस्था आदिका आधारमा पानीको मात्रा थपघट हुनसक्छ। जस्तो बढी परिश्रम हुने काम वा शारीरिक सुगठनको अभ्यास गर्नेहरुलाई पानीको आवश्यकता बढी हुन्छ भने गर्मी मौसममा बढी पसिनाबाट पानी निस्कने हुँदा पनि पानीको आवश्यकता बढी हुने गर्छ। जाडो मौसममा पानी पर्याप्त सेवन गर्नुपर्छ। 

शरीरले खानाको माध्यमबाट करिब २० प्रतिशत पानी पाइरहेको हुन्छ। खानाको रुपमा ताजा तरकारी र फलफूल सेवन गर्दा शरीरलाई आवश्यक पानीको अलावा पर्याप्त पोषणतत्व पनि उपलब्ध हुन्छ। यस्ता खाद्य पदार्थले शरीरमा पानीको आवश्यक मात्रा संग्रह गरी सन्तुलनमा राख्न पनि मद्दत मिल्छ।

मानिसको स्वास्थ्यमा पानीको महत्वका सम्बन्धमा धेरै अनुसन्धान प्रकाशित भएका छन्। यसै वर्ष ‘हाइड्रेसन फर हेल्थ’ को बाह्रौं अन्तर्राष्ट्रिय गोष्ठी भर्चुअल माध्यमबाट सम्पन्न भयो। उक्त गोष्ठीमा सहभागी विज्ञहरुले पानी र स्वास्थ्यका विविध पक्षहरुमा चर्चा गरे। त्यसमध्ये पहुँचका सम्बन्धमा विश्वमा दुई अर्ब मानिसलाई पानीको सहज पहुँच नभएको तथ्याङ्क प्रस्तुत गरियोे। 

हामीलाई थाहा छ, पानीको उपलब्धता नै मानिसको सभ्यताको आधार हो। सभ्यताको विकाससँगै पानीको उपलब्धता भएका स्थानमा मानव वस्ती विकास भएको देखिन्छ। पर्याप्त (स्वच्छ) पानीको उपलब्धताले मानिसको शारीरिक तथा मानसिक अवस्था निर्धारण गर्छ।

विश्वमा मोटोपना जनस्वास्थ्य समस्याको रुपमा देखा पर्दैछ। यस सम्बन्धमा नेपालमा पर्याप्त अध्ययन भएको छैन। यद्यपि, सहरका बालबालिकादेखि युवाहरुमा मोटोपनाको संख्या बढदो क्रममा छ। यो समस्या धेरैथोरै गाउँघरमा पनि देखिँदै छ। ऋाम रुपमा हामीले बुझेको कुरा भनेको अत्यधिक पोषणयुक्त खाना, शारीरिक श्रमको कमी वा कुनै खास रोगका कारण यो समस्या आउँछ भन्ने हो।

पछिल्लो समयमा क्रमिक रुपमा स्थापित भएको तथ्य भनेको शरीरमा पानीको सन्तुलन कायम रहँदा खानाको मात्रा नियन्त्रित हुने, पाचन प्रक्रिया राम्रो हुन गई मोटोपन घटाउन मद्दत मिल्ने अध्ययनहरुले देखाएका छन्। मोटोपनाको सम्बन्ध विविध खालका मानसिक समस्याहरुसँग पनि पाइएको छ। अतः यो कुचक्र तोड्ने सहज उपाय पर्याप्त स्वच्छ पानीको सेवन हुनसक्छ।

नेपालका स्कुल र कलेजहरुमा आवद्ध करोडभन्दा बढी विद्यार्थी पढाइ हुने दिनहरुमा पर्याप्त (स्वच्छ) पानी पिउन र चर्पीको प्रयोग गर्न पाउँदैनन्। यस्तो अवस्था देशका अन्य पेसा, व्यवस्थामा काम गर्ने लाखौं व्यक्तिको हकमा पनि लागू हुन्छ। कतिपय अवस्थामा विद्यालयमा उपस्थिति कम भएका घटना सुन्दै आएका छौं। नेपालमा विद्यालय, कलेजको स्तर आशातित सुधार हुन नसक्नुमा प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध पानीको उपलब्धतासँग गाँसिएको पाइन्छ। अतः विद्यालयवा समूहगत काम गर्ने स्थानहरुमा स्वच्छ पानी र सरसफाइको वातावरण निर्माण गर्नु आवश्यक छ। 

पानीलाई स्वाद र रङविहीन हुन्छ भनिन्छ तर विभिन्न भौगर्भिक क्षेत्र हँुदै बहने पानीमा उक्त क्षेत्रका प्राकृतिक रसायन र लवणहरुको कारण पानीको स्वाद निर्धारण भएको हुन्छ। कुन मुल, झरना वा मुहानको पानी मिठो भन्ने चर्चा सुनिन्छ। कतिपय अवस्थामा माटो, तामा, काठको घैलामा संग्रह गरेको पानीमा मिठो स्वाद थपिन्छ। पानीको स्वाद बढ्दा त्यसको सेवन बढ्ने हुन्छ। अतः घर, विद्यालय, कार्यालय वा समूहगत कार्यस्थलमा (सुरक्षित) स्वाद थपेर वा पानीको वितरण प्रक्रियालाई आकर्षक बनाएर पनि यसको सेवनलाई बढाउन र जनस्वास्थ्य प्र्रबर्धन गर्न सकिन्छ। 

मुत्रासयको संक्रमण, महिलाको पाठेघर झर्ने, पिसाब चुहिने जस्ता समस्या नेपाल लगायत अन्य देशमा पनि देखिन्छ। यस्तो समस्याका कारण मानिसले अत्यधिक शारीरिक पीडा, मानसिक यातनादेखि (उपचारमा) आर्थिक व्ययभार परिरहेको हुन्छ। हालका समयमा मुत्रासयको स्वास्थ्यको सम्बन्ध पानीको सन्तुलित मात्राको सेवनसँग जोडिएका अध्ययनहरु प्रकाशित भएका छन्। सबै राष्ट्रका लागि यस्तो समस्याको (आउनै नदिन) स्थायी र सुलभ समाधानको लागि दैनिक उचित मात्रामा पानी सेवनलाई परिवार, समुदाय र स्वास्थ्य संस्थाहरुमा प्रोत्साहन गर्नुपर्छ। 

हालका दिनमा विश्वव्यापी रुपमा मिर्गौलाका रोगीहरु निकै बढेको पाउँछौं। पानी र मिर्गौलाको स्वास्थको सम्बन्धका सन्दर्भमा धेरै अध्ययनहरु प्रकाशित छन्। शरीरमा (लामो समय) पानीको कमी भएमा मिर्गौलालाई धेरै नकारात्मक असर पर्न थाल्छ। पानीको मात्रा कम हुँदा शरीरमा कोर्टिसोल जस्ता स्ट्रेस हर्मोन बढी उत्पादन हुन्छ। त्यसका अलावा पाचन रसायन (¥याल), आँशु जस्ता प्रतिजैविक प्रोटिन कम उत्पादन हुने गर्छ। यस्ता हर्मोन वा प्रोटिनको सम्बन्ध शरीरको प्रतिरक्षात्मक प्रणालीसँग सम्बन्धित हुन्छ।

त्यसका अलावा पानीको उचित मात्रा कायम हुन नसक्दा मुटु रोग लागेको तथ्यहरु प्रकाशित भएका छन्। इटलीको ट्रियास्टे विश्वविद्यालयको अध्ययनमा शरीरमा पानीको मात्रा कम हुँदा मुटुमा गम्भीर आघात पुग्ने र स्ट्रोक समेत हुनसक्ने तथ्य प्रकाशित भएका छन्। त्यस्तै अमेरिकाको टफ्स विश्वविद्यालयले गरेको अध्ययनमा वृद्धहरुको मुटुलाई बचाइराख्न पानीको ठूलो भूमिका पाइएको थियो। यस सम्बन्धमा पर्याप्त अध्ययन भएका छैनन तर पनि जनस्वास्थ्यको प्रबर्धन गर्न सस्तो र सुरक्षित उपाय हाम्रा सामु छन् भने त्यसको अनुसरण गर्न राज्य, समुदाय र परिवारले ढिला गर्नुहुन्न।

एउटा मिर्गौला रोगीको उपचार वा मुटु रोगीको उपचारमा लाग्ने प्रत्यक्ष वा अप्रत्यक्ष खर्चको तुलनामा स्वच्छ र सफा पिउने पानीको उपलब्धताको लागि लगानी नगन्य हुन्छ। 

पानीको मात्रा कमी भएको अवस्थामा शरीरले केही सूक्ष्म संकेत दिइरहेको हुन्छ। जस्तो प्यास लाग्नु, थकान महसुस हुनु, (टाउको दुख्नु) आदि। उक्त संकेतलाई बुझेर आवश्यक सावधानी अपनाउनु पर्छ। शरीरमा पानीको मात्रा एक प्रतिशतमात्र कमीले पनि प्यास लाग्ने गर्छ। यस्तो अवस्थामा तुरुन्तै पानी उपलब्ध हुन सकेन भने शरीरमा अन्य लक्ष्यणहरु थपिँदै जान्छन्।

पानीको मात्रा पर्याप्त नभएमा पिसाबको रङ पहेलो हुन्छ। पिसाबको रङ कुनै खाना वा औषधिको प्रभावले पनि बदलिन सक्छ तर यसैलाई मात्र आधार मान्न भने सकिँदैन। यस बाहेक प्रत्यक्ष सेवन गरेको पानी र पिसाब, पसिना आदि माध्यमबाट शरीरबाट निस्कने पानीको हिसाब गरेर सावधानीका उपायहरु अपनाउन सकिन्छ। 

पानी सेवन गर्ने विधिका सम्बन्धमा धेरै अध्ययनहरु प्रकाशित भएका छन्। एकै पटक धेरै मात्रामा पानी पिउनुभन्दा थोरैथोरै तर मात्रा अड्कलेर पानी पिउनु उचित हुन्छ। यसो गर्दा पिएको पानीलाई शरीरले आफ्नो सन्तुलन कायम पर्याप्त हुनेगरी कायम गरी राख्छ। अतः पानी पिउने गिलास वा कपमा अट्ने पानीको मात्रा र त्यसलाई सेवन गर्ने समय निर्धारण गर्न सक्दा राम्रो हुन्छ। 

खाना खानुभन्दा करिब आधा घण्टाअघि एक गिलास (करिब ३०० मिलिलिटर) पानी पिउने र खाना पनि रसिलो बनाएर खाने गर्नुपर्छ। खाना खाएको करिब आधा घण्टापछि पुनः एक गिलास पानी पिउनु राम्रो हुन्छ। बिहानको खाली पेटमा पानी पिउनु लाभदायक हुन्छ भने सुत्नुअघि पनि केही पानी पिउनु राम्रो हुन्छ। कतिपय रोग वा स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको परामर्श अनुसार पानीको पिउने मात्रा र समय तय गर्नुपर्छ। कोभिड–१९ को महामारीको अवस्थामा पनि तातोपानीको सेवन (र, बारम्बार कुल्ला वा पानीको बाफ लिँदा) निकै आराम हुन्छ।  

शरीरमा पानीको आवश्यकता पूर्ति गर्न सादा पानीको सेवन उत्तम हुन्छ। इसका अलावा ताजा फलफूलको रस, दूध–दही–मही, जडिबुटीयुक्त पेय पदार्थ आदि विकल्पको रुपमा प्रचलनमा रहेका छन्। तर विभिन्न नाममा बजारीकरण भइरहेका औद्योगिक पेय पदार्थ जस्तैः सोडा–चिनीयुक्त पेय, शक्तिबर्धक पेय, बियर आदिलाई पानीको विकल्पको रुपमा सेवन गर्नु कदापि हितकर हुँदैन। यस्ता औद्योगिक पेय पदार्थले शरीरको पानी सञ्चय गर्ने क्षमतालाई घटाइदिन्छन् र अहितकर रसायन वा पदार्थहरुप्रति निर्भर बनाउँदै लैजान्छन्।

उच्च परिश्रम गर्ने व्यक्ति तथा खेलाडीको लागि लक्षित गरी तयार पारिएका पेय पदार्थहरुमा चिनी, नुन, पोषण र (सूक्ष्म) खनिजहरु मिसाइएको हुन्छ, यस्तो पेयहरु कम शारीरिक परिश्रम गर्ने व्यक्तिहरुका लागि फाइदाभन्दा बढी प्रत्युत्पादक हुन सक्छन्।

हालको समयमा घातक रुपमा विस्तार भएको औद्योगिक पेय पदार्थहरुको उपभोगलाई नियन्त्रणमा लिनु आवश्यक छ। राज्यले यस्ता उत्पादनलाई हतोत्साहित गर्ने नीति ल्याउनुपर्छ भने समुदाय वा परिवारले पनि नियन्त्रण गर्दै लैजानुपर्छ।

#swasthyakhabar.com


Comments