जाडोयाममा किन हुन्छ स्ट्रोकको खतरा ? यस्तो छ कारण

काठमाडौँ — हाम्रो मुलुकमा जाडोले विस्तारै च्याप्दै ल्याएको छ  । योसँगै मस्तिष्काघात (स्ट्रोक) को जोखिमसमेत बढ्दै गएको छ  ।

‘जाडो याममा सबै प्रकारका स्ट्रोकको सम्भावनामा वृद्घि हुन्छ,’ वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा. वसन्त पन्त भन्छन्, ‘गर्मीको दाँजोमा जाडोमा स्ट्रोकको समस्या बढी हुन थाल्छ । चिसो बढ्दै जाँदा यो अझ बढ्छ ।’

तर जाडो याम र स्ट्रोकबीचको सम्बन्धबारे हाम्रो मुलुकमा खासै अध्ययन गरिएको छैन । स्ट्रोकलाई प्रारम्भिक अवस्थामै पहिचान गरेर समयमै उपचार गरे प्रभावित व्यक्तिहरूले सामान्य जीवन यापन गर्न सक्छन् । आजकल यसको प्रभावकारी उपचार छ ।


‘लक्षण देखिएको साढे चार घण्टामै उपचार सुरु गरिए ठूलो नोक्सानीबाट बच्न सकिन्छ,’ डा. पन्त भन्छन्, ‘जति छिटो उपचार त्यति राम्रो परिणाम प्राप्त हुन्छ ।’

उपचारमा ढिलो हँुदा मस्तिष्कको न्युरोन समाप्त हुन थाल्छ । किनभने वयस्क व्यक्तिको न्युरोन पुन: उम्रिन (रिजेनरेट) हुन पाउँदैन । यसैले सधंैको लागि विकलांगता आउँछ ।

स्ट्रोकलाई कहिलेकाहीँ ‘ब्रेन अटयाक’ समेत भनिन्छ । मस्तिष्कमा अक्सिजनयुक्त रगत पुग्ने प्रक्रियामा अवरोध उत्पन्न भएपछि यस्तो हुन्छ ।

हाम्रो मस्तिष्कका लाखौं कोषिकाहरूको आवश्यकता पूरा गर्न थुप्रै रक्तनलीले मुटुदेखि मस्तिष्कसम्म निरन्तर रगत पुर्‍याउने गर्छन् । जब रगतको आपूर्तिमा अवरोध आउँछ त्यति खेर मस्तिष्कका कोषिका मर्न थाल्छन् । यसैले गर्दा स्ट्रोक अर्थात् ब्रेन अटयाक हुने गर्छ ।

कुनै कारणवस मुटुमा रगत नपुगेर हृदयाघात (हार्ट अटयाक) भएजस्तै मस्तिष्कमा रगत नपुगेर स्ट्रोक अर्थात् मस्तिष्काघात हुन्छ ।

स्ट्रोक मस्तिष्कको रोग भए पनि यसले सम्पूर्ण शरीरलाई प्रभावित गर्छ । यसको प्रभाव सामान्यदेखि अत्यन्त कडा अर्थात् पक्षाघात, सोच्न/बोल्न समस्या, भावनात्मक समस्यालगायत हुन सक्छ । पीडितले स्ट्रोक भएपछि दुखाइ र संवेदनहीनतासमेत अनुभव गर्न सक्छन् ।

स्ट्रोक भएपछि त्यस क्षेत्रको मस्तिष्कको कोष मर्न थाल्छन् । किनभने ती कोषहरूले आफ्नो क्रिया सञ्चालन गर्न आवश्यक हुने अक्सिजन, पोषकतत्त्व पाउन छोड्छन् ।

दुई प्रकारका स्ट्रोक 
मुख्यत: स्ट्रोकका दुई प्रकार हुन्छन्— इस्केमिक र हेमोरेजिक स्ट्रोक हो । इस्केमिक स्ट्रोकमा रगत जमेर (ब्लड क्लोट) मस्तिष्कको रक्तवाहिनी वा धमनी बन्द हुन्छ ।

रक्तवाहिनी नलीहरू मस्तिष्कमा टुटेर रगत बग्दा हेमोरेजिक स्ट्रोक हुन्छ । यस अन्तर्गत चुहिएको रगतले मस्तिष्कको सम्बन्धित भाग सुन्निन्छ र खोपडीमा दबाब पर्न थाल्छ । सुन्नाइ र दबाबले मस्तिष्कको कोष र तन्तुलाई नष्ट गर्छ ।

जुन व्यक्तिको मस्तिष्कको बायाँ भागमा स्ट्रोक हुन्छ, उनीहरूको दायाँ अंगमा पक्षाघात हुन्छ । जुन व्यक्तिको मस्तिष्कको दायाँ भागमा स्ट्रोक हुन्छ, उनीहरूको बायाँ अंगमा पक्षाघात हुन्छ ।

अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ न्युरोलजिकल डिजअर्डर एन्ड स्ट्रोकको अनुसार, करिब ८० प्रतिशतजति स्ट्रोक इस्केमिक र करिब २० प्रतिशत स्ट्रोक हेमोरेजिक हुने गरेको छ । तर हाम्रो मुलुकमा हुने गरेको स्ट्रोकमा भिन्नता पाइएको छ । हालै गरिएको दुई वर्षे अन्नपूर्णा स्टडीका अनुसार, हाम्रो मुलुकमा ६५ प्रतिशत इस्केमिक र ३५ प्रतिशत हेमोरेजिक स्ट्रोक हुने गरेको हो । दुई वर्षको समयमा अस्पताल पुगेका ५ सय ५० जनामा अध्ययन गरेर यो तथ्यांक निकालिएको जनाउँदै डा. पन्त थप्छन्, ‘३५ प्रतिशत जति देखिएको हेमोरेजिक स्ट्रोकबाट पीडितलाई बचाउन सकिन्छ । जापानमा यो स्ट्रोक भएको भेटिँदैन ।’

रक्तचापलाई उपयुक्त रूपले नियन्त्रणमा राख्दा हेमोरेजिक स्ट्रोक हुने सम्भावनामा धेरै कमी आउँछ ।

समयमै अस्पताल नपुग्ने समस्या 
स्टा्रेक भएपछि समयमै उपयुक्त अस्पताल नपुग्ने समस्या पाइने गरेको छ । अन्नपूर्णा स्टडीका अनुसार, गत वर्ष स्ट्रोक भएर आएका २ सय ७५ जनामध्ये विन्डो पिरियडमा आउने व्यक्ति २५ जना मात्र थिए ।

‘स्ट्रोक भएपछि बिरामी धेरै ढिलो गरेर उपयुक्त अस्पताल पुग्ने गरेको पाइएको छ,’ डा. पन्त भन्छन्, ‘यसले गर्दा उपचारपछि हुन सक्ने सुधारमा समेत प्रतिकूल असर परिरहेको छ ।’

उपचार 
इस्केमिक स्ट्रोक अर्थात् रगत जमेर (ब्लड क्लोट) मस्तिष्कको रक्तवाहिनी वा धमनी अवरुद्घ भए चिकित्सकले तुरुन्त रगतको प्रवाह कायम गर्ने प्रयास गर्छन् । डा. पन्तका अनुसार, यसका लागि जमेको रगत गलाउने औषधि स्ट्रोक भएको साढे चार घण्टाभित्रै दिनुपर्छ । यो उपचार प्रक्रिया जति छिटो सुरु हुन्छ बिरामीलाई भविष्यमा जटिलता देखिने समस्या त्यति नै कम हुने गरेको छ ।

रगत जम्नबाट रोक्ने एस्पिरिन औषधिसमेत दिइन्छ । टिस्यु प्लाजमिनोजेन एक्टिभेटर (टीपीए) अर्थात् जमेको रगत हटाउने औषधिसमेत नसाको माध्यमले दिइन्छ । टीपीएले स्ट्रोकका कारण जमेको रगतलाई पगालेर पुन: रगतको प्रवाहमा मिलाउँछ ।

यान्त्रिक रूपले जमेको रगतलाई हटाउने प्रविधि पनि हाम्रो मुलुकमा उपयोग हुन थालिसकेको डा. पन्त बताउँछन् । यो प्रविधिअन्तर्गत खुट्टाको नसाबाट एउटा क्याथेटरको उपयोग गरेर मस्तिष्कमा जमेको रगत झिकिन्छ । उनका अनुसार, स्ट्रोक भएको २४ घन्टासम्ममा यो प्रविधिले रगत तान्न सकिन्छ ।

हेमोरेजिक स्ट्रोकमा रगतको चुहावट कम गर्न सघाउने औषधि दिइन्छ । यसबाहेक शल्यक्रियालगायतका अन्य प्रक्रियासमेत अपनाइन्छ ।

स्ट्रोक हुने जोखिमका कारक 
अमेरिकास्थित नेसनल हार्ट, लङ एन्ड ब्लड इन्स्टिच्युटका अनुसार :

  • उच्च रक्तचाप : उच्च रक्तचाप स्ट्रोक हुने मुख्य जोखिमको कारक हो । यदि तपाईंको रक्तचाप १४०/९० मिलिमिटर अफ मर्करी (एमएमएचजी) भन्दा माथि अथवा यतिमै रहिरहन्छ भने यसलाई उच्च रक्तचाप मानिन्छ । यदि तपाईंलाई मधुमेह र दीर्घकालीन मृगौला रोग छ भने १३०/८० एमएमएचजीसमेत उच्च रक्तचाप मानिन्छ ।
  • मधुमेह : शरीरले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा उचित प्रकारले इन्सुलिन उपयोग नगर्दा हुने रोग हो— मधुमेह । इन्सुलिन एउटा हार्मोन हो जसले रगतमा भएको चिनीलाई कोषिकामा पठाउन सघाउँछ । त्यहाँ यो उर्जाको रूपमा उपयोग हुन्छ ।
  • मुटु रोग : कोरोनरी मुटु रोग, कार्डियोमायोप्याथी, हार्ट फेल्योर र एट्रियल फिब्रिलेसनले रगत जमाउँछ, जसले स्ट्रोक गराउन सक्छ ।
  • धूमपान : धूमपानले रक्तनलीलाई क्षति पुर्‍याएर रक्तचाप बढाउन सक्छ । धूमपानले तपाईंको शरीरको तन्तुमा पुग्ने अक्सिजनको मात्रालाई समेत कम गर्न सक्छ । अपरोक्ष धूमपानले समेत रगतको नलीमा क्षति पुर्‍याउन सक्छ ।
  • उमेर र लिङ्ग : तपाईं जति बूढो हुँदै जानुहुन्छ स्ट्रोक हुने जोखिम त्यति नै बढ्छ । युवा उमेरमा पुरुषलाई महिलाको दाँजोमा स्ट्रोक हुने जोखिम बढी हुन्छ । समग्रमा चाहिँ स्ट्रोकले मृत्यु हुने सम्भावना महिलामा बढी हुन्छ ।
  • जाति र नश्ल : स्ट्रोक धेरैजसो अफ्रिकन–अमेरिकन, अलास्काका बासिन्दा र अमेरिकन इन्डियन वयस्कलाई बढी हुने पाइएको छ ।
  • स्ट्रोकको व्यक्तिगत र पारिवारिक इतिहास भएकाहरू : यदि तपाईंलाई स्ट्रोक भइसकेको छ भने फेरि पनि स्ट्रोक नै अथवा ट्रान्जियेन्ट एस्किमिक अटयाक हुने जोखिम उच्च हुन्छ । एक पटकको स्ट्रोक पछि तपाईंलाई पुन: स्ट्रोक हुने खतरा भइरहन्छ । यस्तै स्ट्रोकको पारिवारिक इतिहासले समेत यस्तो जोखिम बढाउने गर्छ ।
  • ब्रेन एन्युरिज्म वा आर्टिरियोभेनस माल फर्मेसन (एभीएमएस) : एन्युरिज्म धमनीमा एउटा बेलुनजस्तो फोका हुन्छ । यो तन्किन वा फुट्न सक्छ । एभीएमएस दोषपूर्ण धमनीहरू र नसाहरूको उल्झिएको संरचना हो, जुन मस्तिष्कभित्र फुट्न सक्छ । एभीएमएस जन्मजात हुन सक्छ तर यो नफुटेसम्म थाहै पाइँदैन ।

जाडोमा स्ट्रोकबाट जोगिन
जाडोयाममा स्ट्रोकको समस्या बढ्ने भएकाले यो मौसममा सबैले विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ ।

जाडो याममा रक्तचाप नियन्त्रणमा हुनुपर्छ । आफूले खाइरहेको रक्तचापको औषधि एक्कासि छोड्नुहुन्न । आफूलाई अनुकूल हुने गरी पर्याप्त पानी खानुपर्छ । अझ सुत्दाताका समेत पानी खान विशेष ध्यान दिनुपर्छ । शरीरमा पानीको कमी हुन दिनु हुँदैन ।

नियमित मद्यपान गरेर सुत्नेहरूमा एक्कासि बिहान स्ट्रोकको समस्या हुने गरेको छ । स्ट्रोकको जोखिमा रहेकाहरूले मद्यपान गर्नुहुन्न । मद्यपान गर्नेहरूले शरीरमा पानीको कमी हुन दिनै हुन्न ।

यो मौसममा व्यायाम, शारीरिक सक्रियता कायम राख्नुपर्छ । निष्क्रिय भएर बस्नु हुँदैन । मधुमेह छ भने नियन्त्रित गर्नुपर्छ, मोटोपना घटाउनुपर्छ ।

युवामा समेत स्ट्रोक 
हाम्रो मुलुकमा युवामा समेत स्ट्रोक हुने गरेको छ । तर यस्तो स्ट्रोक भास्कुलर संक्रमणले हुने गरेको हो । डा. पन्तका अनुसार युवाहरूमा मस्तिष्कमा फित्तेकीराको फूल पुग्ने समस्या (सिस्टिसर्कोसिस) र रुमेटिक हार्ड डिजिजका कारण स्ट्रोक हुन सक्छ ।

स्ट्रोकको लक्षण (‘फास्ट’ सँगै सम्झनुस्) 
एफ : फेस अर्थात् अनुहार बांगिनु
ए : आर्म अर्थात् एक्कासि एउटा वा दुवै हातले काम गर्न छोड्नु
एस : स्पिच अर्थात् आवाज लर्बराउनु वा पूरै गुम्नु
टी : टाइम अर्थात् बिरामीलाई तुरुन्त उपयुक्त अस्पताल पुर्‍याउनुस्

#kantipurdaily #अतुल मिश्र

Tags:

Comments