उच्च रक्तचापको व्यवस्थापन कसरी गर्ने?

तपाईं दैनिकी धपेडीमा बित्छ। तपाईं महत्वकांक्षी हुनुहुन्छ। धन दौलत जोड्ने, सुखसयल भोग गर्ने तिब्र इच्छा छ। मिठो-मसिनो खानुहुन्छ। भोक लागेपछि मनलाग्दो खानुहुन्छ। ऐश-आराम खोज्नुहुन्छ। हिँडडुल गर्न, दौडन, व्यायाम गर्न जाँगर चल्दैन। राती अबेरसम्म बस्नुहुन्छ। सुत्ने र उठ्ने कुनै टुंगो छैन। सानोतिनो कुराले चिन्तित बनाउँछ।

 

त्यसो हो भने ठोकुवा गर्न सकिन्छ, तपाईं उच्च रक्तचापको जोखिममा हुनुहुन्छ।

अहिले हामी जुन ढंगको जीवनयापन गरिरहेका छौं, त्यसले हामीलाई उच्च रक्तचापको रोगी बनाउने खतरा उच्च छ। उच्च रक्तचाप आफैमा यस्तो समस्या हो, जसले अरु जटिलता पैदा गर्छ। जस्तो कि, मुटु रोग, मिर्गौला रोग, हृदयघात आदि।

उच्च रक्तचाप भएमा के गर्ने?

तपाईंको रक्तचाप अस्वभाविक रुपमा बढेको छ भने त्यसका नियन्त्रण जरुरी छ। यस्तो अवस्थामा तपाईंसँग दुईवटा विकल्प रहन्छ, एक जीवनशैली र खानपान परिवर्तन। दुई, औषधी सेवन।

पहिलो विकल्प सहज र प्राकृतिक हो। यद्यपी उच्च रक्तचापको जोखिम बढेको अवस्थामा औषधी सेवन गर्नैपर्ने वाध्यता रहन्छ। कतिपयले के ठान्छन् भने, औषधी सेवन गरेपछि त्यो जीवनभर छुटाउन मिल्दैन। यद्यपी चिकित्सकहरुका अनुसार औषधी सेवनपछि जीवनशैली र खानपानमा सर्तकता अपनाएर रक्तचाप सन्तुलित राख्न सकिएमा औषधी छाड्न सकिन्छ। यद्यपी यसका लागि भने चिकित्सकले केही समयको निगरानी गर्नुपर्ने हुन्छ। अर्थात आफुखुसी औषधी खाने र छाड्ने गर्नुहुन्न।

पहिलो विकल्प, जीवनशैली परिवर्तन हो। उच्च रक्तचाप खराब जीवनशैली, जथाभावी खानपान र दुषित सोंच विचारबाटै पैदा हुने समस्या हो। यदि यी सबै किसिमका असावधानी र विकारलाई हटाउने हो भने रक्तचापको स्तर सन्तुलित राख्न सकिन्छ।

औषधी सेवन गर्नैपर्ने भएपनि जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ। अतः हामीले प्राकृतिक विधीबाट पनि उच्च रक्तचाप कम गर्न सक्छौं। साथै उच्च रक्तचापको जोखिमबाट आफुलाई मुक्त राख्न सक्छौं। यसका लागि केही यस्ता न्युनतम सर्त छ, जसलाई पालना गर्नैपर्छ।

हुन त तपाईंले उच्च रक्तचाप नियन्त्रण गर्ने अनेक विधी पढ्नुभयो होला, सुन्नुभयो होला। यहाँ भने त्यसको विस्तृत र प्रभावकारी तरिका बताइएको छ।

नुनको मात्रा कम गर्ने

हाम्रो खानामा नुनको मात्रा बढी हुन्छ। तरकारी, अचार, दाल आदिको माध्यामबाट हामी नुन सेवन गरिरहेका हुन्छौं। यसको मात्रा घटाउनुपर्छ। नुनको मात्रा घटाउने एउटा गजब काइदा भनेको खानामा सलाद एवं उसिनेको सागसब्जी समावेश गर्नु हो। साथै अन्य नुनिलो अमिलो खानेकुरा, जंकफुड सेवन गर्नुभन्दा फलफूल सेवन गर्नु उपयुक्त हुन्छ।

प्रशोधित खानेकुरा निषेध गर्ने

अहिले हामीसँग खानेकुराका अनेक विकल्प छन्, त्यसमा प्रशोधित खानेकुरा अत्याधिक छ। प्याकेटबन्द वा तयारी खानेकुरा पनि उच्च रक्तचाप बढाउने कारण हुन्।

सन्तुलित भोजन गर्ने

उच्च रक्तचाप नियन्त्रण गर्नका लागि खानपानमा सतर्कता अपनाउनै पर्छ। यस्तो अवस्थामा सन्तुलित खानेकुरा आवश्यक हुन्छ साथै सुपाच्य पनि। दिनभर खाइने खानामा ति सबै पोषक तत्व सामेल भएको होस्, जो शरीरलाई आवश्यक छ।

फलफूल र सागसब्जीलाई आफ्नो खानामा सामेल गर्नुपर्छ। मासु, दुधजन्य परिकार आदिको मात्रा कम गरौ। सलाद, हरियो सागपान, फलफूल, ड्राइ फ्रुट्स, ताजा सुप आदिलाई दिनभरको खानपानमा समावेश गरौं।

चिनीजन्य, धेरै तेल भएको खानेकुरा सेवन नगरौं। रातो मासुको बदलामा कुखुरा वा माछा सेवन ठिक हुन्छ।

खानामा फाइबरको मात्रा बढाउनुपर्छ। फाइबरले उच्च रक्तचाप नियन्त्रण गर्ने होइन। तर, यसले तपाईंको पाचन यन्त्रलाई चुस्त बनाउँछ। तपाईंलाई स्वास्थ्य राख्न मद्दत गर्छ। सागसब्जी खासगरी हरियो पत्तेदार सब्जीमा फाइबर हुन्छ। फलफूल, नट्स आदिमा पनि भरपुर फाइबर पाइन्छ।

धेरैजसोको खानामा ओमेगा-थ्री फ्याटी एसिड -फिश आयल)को मात्रा कम हुन्छ। यसको आपूर्तिका लागि माछा सेवन गर्नुपर्छ। यद्यपी माछा तारेर होइन, उसिनेर सेवन गर्नु प्रभावकारी हुन्छ।

त्यसो त ओमेगा थ्री फ्याटी एसिडका लागि फिस आयल ट्याब्लेट पनि पाइन्छ। यद्यपी यस किसिमको ट्याब्लेट सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ।

उच्च रक्तचाप नियन्त्रणका लागि खानामा पोटाशियमको मात्रा पनि बढाउनुपर्छ। धेरै मात्रामा पोटाशियम चाहि हानिकारक हुनसक्छ । त्यसैले सन्तुलित मात्रामा पोटाशियम लिनुपर्छ। गालभेडा, केरा, सिमी, प्याज, सुन्तला आदिमा पोटाशियम पाइन्छ।

तौल नियन्त्रण गर्ने

शरीरको उचाई अनुसार तौल निर्धाण हुन्छ। यदि त्यस अनुरुप तौल बढी छ भने नियन्त्रण गर्नैपर्छ। अतिरिक्त तौलले पनि उच्च रक्तचाप बढाउन सघाउँछ। खानपानमा परिवर्तन गरेर वा शारीरिक श्रम गरेर तौल नियन्त्रण गर्न सकिन्छ।

नियमित चिकित्सकको परामर्श लिने

कतिपय घरेलु औषधी जो हाम्रो भान्सामा पाइन्छ, त्यसले पनि उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ। यदि त्यस्ता औषधीको सेवन गर्ने हो भने चिकित्सकको परामर्शमा कसरी र कति मात्रामा खाने भन्ने कुराको टुंगो गर्नुपर्छ। जस्तो लसुन, बेसार, अदुवा आदिमा म्याग्नेसियम र क्रोमियम हुन्छ। यदि यी तत्वको आवश्यक भए चिकित्सकको परामर्शमा सेवन गर्न सकिन्छ।

योग-ध्यान, प्राणायम गर्ने

तनाव कम गर्नु गाह्रो लाग्नसक्छ। किनभने तनाव लिन नचाहेर पनि हामीलाई तनाव भइरहेकै हुन्छ। तनाव नियन्त्रण गर्नु भनेको तनाव व्यवस्थापन गर्नु हो। तनाव हरेकलाई हुन्छ तर त्यसलाई कसरी लिने? यो मूख्य कुरा हो । हामी दैनिक व्यवहारमा अनेक कारणले तनावमा पर्छौं, तर तनाव लिनु कुनै समस्याको समधान होइन। तनाव लिएर कुनै समस्या हल हुँदैन। त्यसो भए किन तनाव लिने ?

कुनैपनि कुरालाई अलि सहज र सरल ढंगले ग्रहण गर्दा पनि तनाव कम हुन्छ। काम गरेको बेला रमाइलो गरौं।

शरीरलाई आनन्द हुने कतिपय प्राकृतिक विधी छन्, त्यसलाई अपनाएर पनि तनाव कम गर्न सकिन्छ।

प्राणायम, ध्यान यस्तो विधी हो, जसले तनाव व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्छ । यस किसिमको अभ्यासले मनलाई शान्त तुल्याउँछ। प्रफुल्ल बनाउँछ ।

लामो सास लिने र छाड्ने प्रक्रिया पनि तनाव व्यवस्थापनको राम्रो उपाय हो। त्यस्तै नियमित रुपमा व्यायाम गर्ने गरौं। जथाभावी व्यायाम गर्नु चाहि ठिक हुन्न। बरु विहान एक घण्टा छिटो-छिटो पैदल हिँड्ने बानी गरौं।

के नगर्ने ?

चुरोटको सेवनले उच्च रक्तचाप ह्वात्तै बढाउँछ। यसमा रहेको निकोटिनले उत्तेजक बनाउँछ।

कफी, सोडा जस्ता पेय पनि उच्च रक्तचाप बढाउने कारण हुन्। किनभने यसमा क्याफिनको मात्रा बढी हुन्छ। क्याफिनले स्नायु प्रणालीलाई

उत्तेजित बनाउँछ।

चुरोट जस्तै मदिराजन्य पेयले पनि उच्च रक्तचाप बढाउँछ। उच्च रक्तचाप नियन्त्रणका लागि मदिरा छाड्नैपर्छ।

अनलाईनखबर डट कमबाट साभार

Tags:

Comments