दुधे दाँतको महत्त्व के ?, जोगाउने कसरी ?

‘दुधे दाँत त हो, कीरा लागे फालिदिए भइहाल्यो नि । अर्को आइहाल्छ, किन चिन्ता लिनु । बच्चाको दाँत धेरै सफा गरिरहन पनि पर्दैन ।’ 

दुधे दाँतका विषयमा धेरैजसो आमाबाबुको यस्तै धारणा पाइन्छ । झर्ने दाँत त हो नि भनेर बच्चाको दाँतलाई त्यति धेरै हेरचाह गरेको पनि देखिँदैन ।
कीरा लाग्यो भने त उपचार गरी दाँत जोगाउनेभन्दा झिकेर फाल्दिहाल्ने चलन छ । धेरै अभिभावकलाई आफ्ना नानीहरुको दुधे दाँतको महत्त्व कति छ भन्ने कमै जानकारी छ । 

दुधे दाँतको महत्त्व के छ ? 
बच्चाको दुधे दाँतको महत्त्व धेरै छ । उनीहरुलाई खाना खानेदेखि बोल्नका लागि पनि दाँत आवश्यक हुन्छ । बालबालिकाको दाँत पहिले नै झर्यो भने उनीहरुको बोली स्पष्ट नहुन सक्छ । 

दाँत झरेमा वा कीराले खाएर टुक्राटुक्रा परेमा बच्चाको वृत्तिविकासमा प्रभाव पार्छ । विद्यालयमा अरु बच्चा वा ठूलै मानिसले पनि दाँत नभएको भनेर जिस्क्याउने, खिसी गर्ने हुनाले बच्चाको आत्मविश्वासमा पनि नकारात्मक असर परिरहेको हुन्छ । जसले उनीहरुको व्यक्तित्व विकासमा प्रभाव पार्छ । 

बच्चाको दुधे दाँत २० ओटा हुन्छन् । दुधे दाँत ६ महिनादेखि उम्रिन थाल्छन् र २४ महिनाभित्र पलाइसक्छन् । तर ६ महिनादेखि उम्रिने कुरा विदेशी बच्चामा गरिएको अध्ययनका आधारमा भनिएको हो ।

नेपालका बच्चाहरुको परिपे्रक्ष्यमा हेर्दा ८/९ महिनामा दाँत उम्रिन थाल्छ । नेपाल र विदेशको खानपान फरक भएर पनि दाँत उम्रिने समय फरक परेको हो ।

यस विषयमा बाल दन्तरोग विशेषज्ञहरुले देशैभर अध्ययन गर्दैछन् । सो अध्ययनपछि नेपाली बच्चाको दाँत कुन महिनामा निस्किन्छ भन्ने थाहा हुन्छ । दाँत कहिले उम्रिन थाल्छ भन्ने जिज्ञासा लिएर पनि अभिभावक चिकित्सककहाँ आउने गर्नुहुन्छ । 

दुधे दाँतको मुख्य काम खाना चपाउनका लागि नै हो । ६ देखि ७ वर्षको उमेरसम्म पछाडिका दाँत नै मुख्य चपाउने दाँत हुन् ।

सात वर्षपछि एउटा स्थायी बंगारा उम्रिन्छ । अनि त्यसले खाना चपाउन मुख्य भूमिका खेल्न थाल्छ । अनि दुधे बंगारा र स्थायी एउटा बंगाराले १०/१२ वर्षसम्म चपाउन लागि काम गर्छ । १० वर्षको उमेरतिरबाट ती दुधे दाँत फेरिन थाल्छन् ।

६ वर्षको उमेरमा दाँतमा कीरा लागेको छ भने सकभर त्यसलाई फाल्नु हुँदैन । उपचार गरेर ठाउँमा राख्नुपर्छ ।

दुधे दाँतको उपचार गरिएन भने संक्रमण हुन्छ । संक्रमण भई नसालाई भेट्यो भने दुख्ने र पछि जरासम्मको उपचार गर्नुपर्ने हुन्छ ।

अहिले पनि धेरैलाई गाला सुन्नियो भने दाँतको कारणले होला भन्ने थाहै हुँदैन । दाँतको कारणले गाला, घाँटीसम्मलाई असर गर्छ । कीरा लाग्यो, त्यसको उपचार गरिएन भने नसालाई भेट्छ र गिजासम्म उपचार गर्नुपर्ने हुन्छ ।

दुधे दाँत छिटो निकाल्दा हुने समस्या
बच्चाको दाँत खानका लागि मात्र नभई बोल्नलाई पनि आवश्यक पर्छ । विशेषगरी अगाडिका दाँत अझ महत्त्वपूर्ण हुन्छन् । व्यक्तित्व विकासका लागि दाँत बचाएर राख्नुपर्छ ।

समयअघि नै बच्चाको दाँत झिक्दा पछि आउने दाँत बांगोटिंगो  भएर आउँछ । किनभने पहिले नै दाँत फाल्यो भने त्यो ठाउँमा अरु दाँतले ठाउँ लिन्छ ।

दुधे दाँत जोगाउन के गर्ने
दुधे दाँत बचाउनका लागि सबैभन्दा पहिले ब्रस गर्न सिकाउनु पर्छ ।  खाना खाएपछि नियमित मुख कुल्ला गर्ने र राति खानापछि नुन पानीले कुल्ला गर्ने बानी बसाल्नु पर्छ । 

मुखका रोगहरु जस्तैः दाँत र गिजासम्बन्धी धेरै रोगको रोकथाम र निवारण गर्न सकिन्छ । 

हरेक ६ महिनामा दन्तरोग विशेषज्ञसँग जँचाउने गर्नुपर्छ ।
दाँत कीरा लाग्नबाट जोगाउन अस्पताल गएर हरेक ६ महिनामा फ्लोराइड लगाउन सकिन्छ । बंगाराहरुमा पिट र फिसर सिल्याट लगाउँदा कीरा लाग्ने सम्भावनालाई कम गर्न सकिन्छ । 

शिक्षण अस्पतालमा २/३ महिनामा छुट्टै दन्त अस्पताल सुरु हुँदैछ । त्यसपछि यी प्रविधि पनि सुरु गर्ने योजना छ । 
 
व्यक्तिगत हेरचाह र मुख स्वास्थ्यलाई असर पार्ने जोखिमबाट बच्नुपर्छ ।
बालबालिकाको दुधे दाँत जोगाउँदै उनीहरुलाई दाँत स्याहार गर्न सिकाउनु पनि अभिभावकको जिम्मेवारी हो ।
 

(डा अग्रवाल शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत छन्)

 

स्वास्थ्य खबर पत्रिकाबाट साभार

Tags:

Comments