योग र स्वस्थ्य जीवन
User Image
Written & review by:
योगाचार्य/योग तथा प्राकृतिक चिकित्सक

  स्व अर्थात आफैंमा स्थित रहनुलाई स्वस्थ भनिन्छ | योगी जो नियमित योग गर्दछ उ नै सच्चा योगी कहालाउँदछ | जसले       आफुलाई आफैंमा सदा  स्थित राखि राख्न सक्दछ उ स्वयम् स्वस्थ्य सुन्दर शान्त र आनन्दित बन्दछ | मानव जीवनको       सर्वोकृष्ठ लक्ष्य भनेको त्यहि आनन्द को खोज गर्नु, आनन्दलाई प्राप्त गर्नु अनि आनन्दमा नै आनन्दित भएर बाँच्नु हो |   परमात्माको एकमात्र उत्कृष्ठ सृजना हामी मानव जातिलाई परा प्रकृतिले स्वयंमा आनन्दित हुने कला जन्मजात नै सिकाई   दिएको छ | त्यसमाथी पनि मानवले स्वस्थ भएर आफ्नो जीवन जिउन पाउनु पर्दछ भन्ने कुरा आज विश्व अवधारणा बनेर   व्यवहारमा समेत लागु भईसकेको सन्दर्भमा स्वास्थ्य मानवको नैशर्गिक अधिकार भित्रैको कुरा हुन गएको छ र उ आफ्नो   स्वास्थ राम्रो राख्नका खातिर जुनसुकै कामकुराहरू गर्न पनि स्वतन्त्र छ | तर, यी सबैकुराहरूको जानकार भएर पनि   मानिसहरू आफैंले दिनानुदिन अखाद्य सामग्री तथा खराव प्रकारको आहार विहार लगाएतको प्रयोग गरेका कारणले गर्दा आफ्नो शरीर मन मश्तिश्क एवं विचारमा आएको परिवर्तन, आफ्नै वरिपरी फैलिएको धुलोमैलोका कारण समग्र वातावरणमा छाएको प्रदुषण तथा त्यसको असर, स्वयंले गर्ने गरेका प्रकृतीको

दोहनका कारण समेत विभिन्न समयमा भएका ठुला साना र कहिलेकाहिको अकल्पनीय प्राकृतिक प्रकोप, जीवनमा आईपरेका दुखद घटनाहरू र प्राकृतिक प्रकोपका कारण मनमा पारेका आघातहरूले त्यो कलालाई बिर्सन बाध्य छन् | क्षणिक सुखको भोग गर्ने अनि विलासमा रमाउने या अधिक अर्थोपार्जन गरी भविष्यमा सुखी हुने लालसामा आवश्कता भन्दा बढि काम गरेर शरीर मन मष्तीश्कलाई दुखित एवं पीडित बनाउने या अल्छी बनि त्यत्तिकै बसेर वा सुतेर समय खेर फाल्ने र जीवनमा पटक पटक बिरामी भई दु:ख कष्ठ भोग्न बाध्य भएर अन्तमा दीर्घरोगी बनी जीवनलीला समाप्त पारिरहेकाछन् | योगले स्वयं जोड्ने कार्य गर्नुका साथै शरीरसंग मन, मनसंग मश्तिश्क, मश्तिश्कसंग आत्मा र

आत्मासंग परमात्मालाई जोड्नेकला समेत सिकाएर शारिरीक मानशिक एवं आध्यात्मिक रूपमा स्वस्थ्य सुन्दर शान्त साथै आनन्दित तुल्याउँदछ भन्नेकुरा आज दिनमा उदाएको सूर्यको किरणले दिने प्रकाश जस्तैगरी छर्लंग भईसकेको छ तापनि हामीले हामीमा योग गर्ने चाहना नभएर हो या योग गर्न नजानेर अथवा हाम्रा वरिपरी जताततै नि:शुल्क समेत योग सिकाईने योगस्थलको बारेमा जानकार नभएर या त्यसप्रति विश्वास नै नभएर वा योग भनेको त धर्मसंग सम्बन्धि कुरा हो भन्ने मानेर वा पाको उमेर भएपछिमात्र योग गर्ने हो भनेर योग गरिरहेका छैनौं | हो, योगलाई हामी आध्यात्मीक उन्नयनका लागि गरीने साधना विधि, रोग निदानात्मक वा रोगोपचार विधि तथा रोगलाग्न नदिन अपनाईने सावधानि विधि आदिको रूपमा बुझेर छुट्टाछुट्टै वा बेग्लाबेग्लै प्रयोजनका लागि फरक फरक ढंगबाट पनि अभ्यास गर्न सक्दछौं | यदि हामी बिरामी परेका छौं र उपचार विधीको रूपमा योग गर्न चाहन्छौं अथवा भविष्यमा विरामी नपर्ने चाहना पालेर सावधानी अपनाउनका लागी योग गर्न चाहन्छौं अथवा योगलाई साधना विधीको रूपमा अंगालेर यसलाई आफ्नो जीवन पद्धती बनाई जीवनलाई नै आनन्दमा रुपान्तरीत गरेर आनन्दपूर्वक मुक्तिको मार्गमा लैजान चाहन्छौं भने पनि एउटा अशल एवं कुशल योग गुरुको छनौट गरेर निजबाट आजैदेखि योग सिकौं र नियमित योग गरौँ जीवनलाई धन्य बनाऔं | आज हाम्रासामु थुप्रै योगकेन्द्रहरू, योगगूरूहरू र योगगर्ने विधीहरू छन् | भक्तियोग, लययोग, तन्त्रयोग, कर्मयोग, सांख्ययोग, अष्ठांगयोग साथै हठयोग आदी त्यसका ज्वलन्त उदाहरण हुन् | यीसबै योगहरूको अभ्यासबाट हामीले अन्ततः हाम्रो चित्त शुद्धगरी योगश्चित्तबृत्तिनिरोध: आफुलाई मानिसबाट मानव र मानवबाट सर्वोकृष्ट मानवमा रूपान्तरित गरेर जन्मदाखेरि आफुले लियर आएको स्वस्थ तन मनलाई स्वस्थ नै राखी आफ्नो आत्मालाई ईश्वर भनौं वा परमात्मा अथवा सर्वशक्ति भनौं वा अस्तित्वमा लीन गराउन सक्दछौं | उल्लेखित योगहरूमध्ये कुनै पनि एउटा योग गरेर समग्र शरीर अर्थात त्यसमध्येको एउटा लौकिक देह (शरीर), अर्को अलौकिक शरीर (मन), अर्को अनुभवमात्र गर्न सकिने शरीर (मश्तिश्क) तथा ति सबैसंग सदा साथसाथै रहेको तर गहन साधना गरेपश्चात् मात्र देख्न बुझ्न र अनुभूत गर्न सकिने, आफूभित्रै रहेको चैतन्य प्रकाश रुप (चेतना-आत्मा-परमात्मा) लाई छिटो र सरल तरिकाबाट स्वस्थत, सुन्दर, शान्त र आनन्दित तुल्याएर परम आनन्दमा रहन धेरैभन्दा धेरै योगी तपस्वी साधक तथा ऋषिमुनिहारूले ले प्रयोगमा ल्याएको साधना विधी हो अष्ठांग योग | जसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, ध्यान तथा समाधी जस्ता आठवटा सोपान अथवा सिंढी पर्दछन् र तिसिंढीहरू क्रमश: पार गरिंदै गईन्छ |

यम नियम व्यक्तिगत तथा सामाजिक अनुशासन संग सम्बन्धित छन् र तिनीहरू दर्शनसँग पनि सम्बन्धित भएकाले निनिहरूको वारेमा अलि लामो व्याख्या एवं विश्लेषण गर्नुपर्ने हुन्छ त्यसैले हामी यहाँ ती बाहेक अरू बाँकी छवटा सोपानका वारेमा छोटो जानकारी पस्कन चाहन्छौं |

आसन: शरीरमा स्फुर्ति बढाएर बलियो पार्न, शरीरलाई लचकदार बनाउन, शरीर शुद्ध एवं तन्दुरुस्त बनाएर स्वस्थ बनाई शरीरको एउटा निश्चित र स्थिर अवस्था बनाई राख्नका लागि समेत स्वास प्रस्वास मिलाएर अनुभूतिका साथ आफ्नो आवश्यकता साथै दक्षता एवं क्षमताको ख्याल गरेर कुशलतापूर्वक योग:कर्मशुकौशालम् उठेर, बसेर, सुतेर (ढाडको बलले वा पेटको बलले) गरीने शरीर तन्काउने, दायाँ बायाँ मोड्ने, अगाडी पछाडी झुकाउने साथै शरीर दायाँ बायाँ झुकाएर गरिने विभिन्न आसनहरू जस्तै: मन्त्र उच्चारण सहितको सूर्य नमस्कार, ताडासन, कटिचक्रासन, हस्तपादासन, हस्तउत्थानसन, अनन्तासन, धनुरासन, चक्रासन, शिर्षासन बज्रासन, पढ़मासन, आदि नै यगका आसनहरू हुन् |

प्राणायाम: प्राण अर्थात स्वासलाई मिलाएर त्यसको विभिन्न आयामहरूको ख्यालगर्दै दुवै नाकको प्वालबाट लामो तथा गहिरोसंग भित्र भर्ने, लामो तथा गहिरोसंग नै बाहिर फालेर शरीरलाई खालिगर्ने, छिटोछिटो भित्र भर्ने वा छिटोछिटो नै बाहिर फाल्ने, भित्र भरेर वा बाहिर फालेर रोकिराख्ने, नाकको एउटा प्वालबाट स्वासलाई भित्र भरेर अर्को प्वालबाट त्यत्तिनै मात्रामा बाहिर फाल्ने आदि स्वास प्रश्वासजन्य क्रियाहरू गरेर मष्तिष्कमा, फोक्सो, कलेजो, मुटु, दुवै आन्द्रा तथा शरीरका भित्रि बाहिरि सम्पूर्ण अंगहरूमा शुद्ध रक्त साथै प्राणवायु अक्सीजन पुराउन गरिने ब्यायाम नै प्राणायाम हो | यसले रक्तशुद्धि गर्नुका साथै मनलाई पनि स्वस्थ शुद्ध र शान्त बनाउन मद्दत गर्दछ | भस्त्रिका, कपालभाती, भित्रि बाहिरि कुम्भक, अनुलोम विलोम, नाडीसोधन आदि प्राणायामका प्रकार हुन् र यिनीहरूको अभ्यास पनि एउटा कुशल एवं दक्ष प्रशिक्षकबाट सिकेर आफ्नो आवश्यकता तथा दक्षता साथै क्षमता अनुसार गर्ने गर्नु पर्दछ |

प्रत्याहार: आसन र प्राणायामको नियमित साथै भरपुर एवं कुशल अभ्यास पश्चात् मनको एउटा निश्चित अवस्था बनाउन जुन प्रकारको मद्धत मिल्दछ वा प्राणायाम गरिसकेपछि मन

चंचलहुनबाट जोगिएर बाहिरि दुनियामा रमाउन छोडी शरीरमा नै रमाउन थाल्दछ भने मनको यसै अवस्थालाई प्रत्याहार भनिन्छ | प्रत्याहारको नियमित अभ्यासले पनि स्वस्थलाई सवल बनाउन भरपुर मद्धत मिल्दछ |

धारणा: कुशलतापूर्वाक योगका विभिन्न आसन प्राणायामहरू गरिसकेपछि मनले एकाग्रभएर यथार्तता वा वास्तविकता सम्बन्धि जुन धारण गर्ने क्षमताको बिकास आफूभित्र आफै गर्दछ त्यसलाई धारणा भन्न सकिन्छ | आफुभित्र रहे बनेको असल धारणाले पनि स्वस्थ रहन बिशेष मद्धत मिल्दछ |

ध्यान: योगिले योगको यम नियम पालना गरेर सदाचारमा रही नियमित आसन, प्राणायाम, प्रत्याहार र धारणाको अभ्यास गरेपश्चात मात्र योग सफल रूपमा कार्यान्वित हुन्छ | योगी योगमा निपूर्ण भएपछि मात्र उसभित्र खालिपना आई उ ध्यानको लागि तैयार हुन्छ | उसभित्र एउटा ध्यानको लागि पात्रता देखापर्दछ र उसलाई स्वत: ध्यानघट्न समेत थाल्दछ | ध्यानले मानिसलाई थप स्वस्थ रहन मद्धत गर्दछ |

समाधी: एउटा अशल योगी कुशलतापूर्वक योगका सम्पूर्ण क्रियाहरू सम्पन्न गरेर योगारूढ बन्दछ र सबै पात्र घटना परिवेश परिस्थितिलाई समता पूर्वक जस्ताको तेस्तै स्वीकार गर्दछ अनि सम्पूर्ण चराचार जगतको ज्ञाता बनेर म को हुँ, म किन यस धरतीमा जन्मलिन आएँ, मेरो काम र कर्तब्य के हो भनेर जान्दछ अनि सबैलाई शर्तरहित प्रेम गर्दछ भने उसको यो अवस्थालाई समाधीको अवस्था भनिन्छ | समाधीको अवस्थाले योगीलाई सम्पूर्ण कुराहरूले भरिपुर्ण पारिदिने हुँदा उ सदा सदा स्वस्थ रहन्छ | योगले स्वस्थ जीवन प्रदान गर्दछ | योग जीवन | जीवन योग || भवतु सब्ब मङ्गलम् |



Comments