शम्भुनाथमा नगर अस्पताल बनाउने प्रक्रिया सुरु, १० कठ्ठा जग्गा निःशुल्क प्राप्त

राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिकाले नगर अस्पताल सञ्चालनका लागि प्रक्रिया अघि बढाएको छ।

नगरपालिकाको चौथो नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा अस्पताल सञ्चालनको विषयलाई समावेश गरिएको छ। नगरपालिकाको योजना अनुसार वडा नं. १० का रेशमलाल साहले अस्पतालका लागि १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

नगरपालिकाले अस्पतालका लागि निःशुल्क जग्गा उपलब्ध गराउन सूचना प्रकाशित गरेपछि साहले कठौना–पातो सडक अन्तर्गत पर्ने करिब १ करोड रुपैयाँ बराबरको जग्गा उपलब्ध गराएका हुन्।

जग्गा अस्पतालको नाममा ल्याउन प्रक्रिया समेत थालिएको मेयर योगेन्द्रप्रसाद चौधरीले जानकारी दिए। ‘जग्गा रजिस्ट्रेसनका लागि सिफारिस भएको छ’ उनले भने, ‘अन्य प्रक्रिया पुर्‍याएर जग्गा अस्पतालका नाममा ल्याउने तयारीमा छौं।’

भौतिक पूर्वाधारका लागि ५० लाख
नगरपालिकाले नगर अस्पताल निर्माणका लागि आगामी बजेटमा ५० लाख रुपैयाँ छुट्याउन लागेको मेयर चौधरीले जानकारी दिए। असार १० गतेभित्रै नगर सभामा पेस गर्नुपर्ने आगामी आर्थिक वर्षको बजेट नगरपालिकाले हालसम्म ल्याएको छैन।

यस बाहेक अपुग रकमका लागि संघ र प्रदेश सरकारलाई पनि आग्रह गरिएको उनको भनाइ छ। ‘संघ र प्रदेश सरकारबाट सहयोगको आश्वासन पाएका छौं,’ उनले थपे, ‘कुनै उपाय लागेन भने त्यसपछिको नगर विकासको बजेटमा अपुग रकमको व्यवस्था गरेर अस्पतालको काम पूरा गर्छौं।’

सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल खोल्ने योजना बनाएको र त्यसलाई मूर्त रुप दिन नगरपालिकाले काम सुरु गरेको चौधरीले बताए। संविधानले जनताको आधारभूत स्वास्थ्यलाई मौलिक हक र स्थानीय तहको अधिकार क्षेत्रभित्र राखेकाले त्यसलाई कार्यान्वयनका लागि नभएका स्थानीय तहमा अस्पताल बनाउने सरकारको योजना छ।

यहि योजना अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०७३ चैतमै सबै स्थानीय निकायमा अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो।

यसैगरी आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत सरकारले दुई वर्षभित्र प्रत्येक स्थानीय तहमा चिकित्सक सहितका स्वास्थ्य संस्था र हरेक वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था स्थापना गर्ने नीति लिएको छ।

सबै वडामा स्वास्थ्य संस्था पुर्‍याइने
नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य संस्था स्थापना गर्ने नीति लिएको छ। हाल १२ मध्ये १, ३, ५, ८, ९, १० र १२ वटा वडामा मात्रै स्वास्थ्य संस्था छन्। बाँकी २, ४, ६, ७ र ११ नम्बर वडामा स्वास्थ्य संस्था स्थापना गरी नागरिकलाई सर्वसुलभ र सहज रुपमा आधारभूत स्वास्थ्य सेवा पु¥याउन काम भइरहेको नगरपालिकाले जनाएको छ।

नगर क्षेत्रभित्र हाल एक सहरी स्वास्थ्य केन्द्र, २८ खोप केन्द्र र ७ स्वास्थ्य चौकी छन्।

#swasthyakhabar.com


Comments