बच्चालाई कसरी दिने सिपिआर?

कार्डियोपल्मोनरी रिसससिटेसन (सिपिआर) उद्देश्य काम गर्न छोडेको मुटुलाई जगाउने हो। तर बच्चालाई दिइने सिपिआरको तरिका वयस्कलाई दिनेभन्दा केही फरक हुन्छ। अमेरिकन हार्ट एसोसिएसनले बच्चालाई दिइने सिपिआरलाई उनीहरूको उमेरअनुसार दुई तरिकाले वर्णन गरेको छ।

भर्खर जन्मेका नवजात शिशुबाहेक एक वर्ष भित्रका शिशुलाई दिइने सिपिआरलाई इन्फ्यान्ट सिपिआर भनिन्छ। अर्कोतर्फ एक वर्षदेखि यौवन अवस्थामा पाइला टेकेका बच्चाहरु (लगभग १२ वर्ष सम्मका) लाई दिइने सिपिआरलाई चिल्ड्रेन सिपिआर भनिन्छ।

यो लेख सिपिआरको तालिम नपाएका आम मानिसलाई पनि बुझ्न सहज हुने उद्देश्यले लेखिएकोले स्वास्थ्यकर्मीले गर्ने सिपिआरका चरणहरुमा केही थपघट गरिएको छ।  सिपिआर सुरु गर्नुअघि मुटुको धड्कन जाँच्ने, श्वासप्रश्वासमा ग्यासपिङ र रगत सञ्चालनमा पुअर पर्फिउजनको गम्भीरता हेरेर सिपिआर दिने, सबै बच्चामा छातीको थिचाइ र कृत्रिम श्वासप्रश्वासको अनुपात दुई उद्धारकर्मी भएमा १५ः२ ले दिने, साथै नेपालका सार्वजनिक स्थलहरुमा अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (एइडी) सहजै उपलब्ध नभएकाले यी कुराहरु यसमा समावेश गरिएको छैन। 

अमेरिकन हार्ट एसोसिएसनले गरेका अनुसन्धानहरुलाई नियालेर हेर्दा समयमा सिपिआर दिनसक्ने हो भने अस्पताल बाहिर हुने कार्डियाक अरेस्ट (मुटु फेल) को नतिजा राम्रो हुन्छ, किनकि यस्ता बच्चाहरु साधारणतया स्वस्थ हुन्छन्। अस्पतालका सघन उपचार कक्ष (आइसियु) मा राखिएका बच्चाको स्वास्थ्य स्थिति पहिले नै गम्भीर हुने हुनाले स्वास्थ्यकर्मीले समयमा सिपिआर दिँदादिँदै पनि परिणाम भने फलदायी नहुन सक्छ।

बच्चाको मुटु प्रायः स्वस्थ हुन्छ। उनीहरुको कार्डियाक अरेस्ट श्वासप्रश्वाससँग सम्बन्धित समस्याका कारणले धेरै हुनेगर्छ। जस्तोः खानेकुरा वा अन्य वस्तु श्वासनलीमा अड्किएर, आज्मा (दम) को आक्रमण, पानीमा डुबेर, विष वा ओपिएट्स (जस्तै मोर्फिन) को अत्यधिक सेवन, छातीको संक्रमण (जस्तै निमोनिया) ले ग्रसित पारेपछि श्वासप्रश्वास अवरुद्ध हुन्छ। शरीरमा अक्सिजनको मात्रा अत्यधिक कम भएपछि बच्चा बेहोस हुन्छ र अन्त्यमा मुटुले काम गर्न छोड्छ।

अर्कातिर विभिन्न दुर्घटना जस्तैः चट्याङ, बिजुलीको करेन्ट लाग्दा, अत्यधिक रक्तश्रापले रगत एवं पानीको मात्रा कमी हुँदा, जन्मजात मुटुको रोग लिएर आएमा सबैको असर मुटुमा पर्छ र मुटुको विद्युतीय सञ्चार अनियमित (भेनट्रिकुलर फिब्रिलेसन) भई कार्डियाक अरेस्ट हुनसक्छ। त्यसैले बच्चामा छाती थिचेर मुटुबाट रगत सञ्चालन गर्नुका साथै कृत्रिम श्वासप्रश्वास गराउनु धेरै महत्वपूर्ण हुन्छ। सिपिआर हरेक व्यक्तिले जान्नैपर्ने सिप हो, जसले मानवीय क्षति कम गर्न मद्दत गर्छ। 

रेस्पिरेटरी अरेस्ट (श्वासप्रश्वास रोकावट) हुँदा साधारण श्वासप्रश्वास बन्द भई शरीरमा अक्सिजन र कार्बनडाइअक्साइड साटिन पाउँदैन। फलस्वरूप शरीरमा कार्बोनिक एसिड पैदा हुन्छ। मस्तिष्कमा अक्सिजनको मात्रा कम, कार्बोनिक एसिडको मात्रा बढी भएपछि मस्तिष्कघात, कार्डियाक अरेस्ट र मृत्यु हुन्छ। रेस्पिरेटरी अरेस्ट हुँदा सुरुमा मुटुको धड्कन कायमै हुन्छ। तर समयमा उपचार भएन भने सधैँ रेस्पिरेटरी  अरेस्टपछि कार्डियाक अरेस्ट हुन्छ।

यदि बच्चा वा वयस्कलाई रेस्पिरेटरी अरेस्ट मात्र भएको थाहा पाएमा सबै उमेरका शिशु एवं बच्चामा प्रत्येक मिनेट १२ देखि २० र वयस्कमा १०÷१२ का दरले कृत्रिम श्वास दिनुपर्छ।

मुखबाट मुखमा वा मुखबाट नाकमा १ वर्ष माथिका सबैलाई कृत्रिम श्वासप्रश्वास गराउने तरिकाः 
– घाइतेलाई उत्तानो पारेर भुइँमा वा साह्रो र समथर सतहमा सुताउने, टाउको एवं छातीको कपडा खुला गर्ने।
– श्वासनली खुला राख्ने। यसका लागि केही चिज घाँटीमा देखिनेगरी अड्किएको छ भने निकाल्ने तर औंला घाँटीमा छिराउनतिर नलाग्ने।

– घाइतेको टाउकोको एकापट्टि बस्ने, एक हात निधारको माथिपट्टि राखी टाउकोलाई पछाडि लैजाने। अर्को हातको बुढी औंला चिउँडोको माथि र अरु औंलाहरुले चिउँडोको तलपट्टि साह्रो भागमा समाती चिउँडोलाई माथि उठाउने, यो प्रक्रियालाई ‘हेड टिल्ट, चिन लिफ्ट’ भनिन्छ। हाम्रो श्वासनली घाँटीको अगाडिपट्टि हुने भएकाले यसो गर्दा जिब्रोले घाँटीको तलपट्टि श्वास जाने मार्ग बन्द गर्न पाउँदैन र कृत्रिम श्वास दिँदा हावा श्वासनली हुँदै फोक्सोमा सजिलैसँग पुग्न मद्दत गर्छ। घाँटीको कुनै पनि नरम भागमा भने थिच्नु हुँदैन, जसले श्वासप्रश्वासमा अवरोध ल्याउँछ।

– अब निधारमा रहेको हातको बुढी औंला र चोर औंलाले घाइतेको नाक थुन्ने। यदि नाकबाट श्वास दिने हो भने चिउँडोपट्टिको हातले घाइतेको मुख थुन्ने।
– साधारण अवस्थामा लिनेजति श्वास लिने र तपाईंको मुख घाइतेको मुखमा वा नाकमा राखी वरिपरिबाट हावा नफुस्किनेगरी बन्द गर्ने। अब पूरा १ सेकेन्ड लगाएर श्वास घाइतेलाई दिने।
– श्वास दिने क्रममा छातीतर्फ फर्केर छाती माथि उठेको छ÷छैन हेर्ने। यदि छातीको सतह माथि उठेन भने घाइतेलाई पहिलेकै स्थानमा उत्तानो राख्ने र फेरि ‘हेड टिल्ट, चिन लिफ्ट’ को तरिका अपनाउने र श्वास दिने।

यो प्रक्रिया एम्बुलेन्स नआउने बेलासम्म वा घाइते आफैं श्वास फेर्ने, बोल्ने, चल्ने नभएसम्म गरिरहने। तर यसै क्रममा घाइते कार्डियाक अरेस्टमा गएमा ३० पटक छाती थिच्ने, दुई पटक श्वास दिने। कुनै पनि उमेरको व्यक्ति अचानक बेहोस हुनुका साथै श्वासप्रश्वास बन्द भएमा छाती थिच्ने, श्वासप्रश्वास गराउने साथै एइडीको प्रयोग गर्नसके बचाउने सम्भावना निकै बढी हुन्छ। एइडीले मुटुको धड्कन विश्लेषण गरी अनियन्त्रित भएको मुटुको विद्युतीय गतिविधिलाई तुरुन्त नियन्त्रणमा ल्याई सामान्य मुटुको धड्कन कायम गर्छ।

अस्पताल बाहिर हुने कार्डियाक अरेस्टमा कृत्रिम श्वास दिन सहज नभए (जस्तैः नाक–मुखबाट बान्ता र रगत बगेमा वा घाइतेलाई सरुवा रोग लागेको थाहा भएमा) हातले मात्र छातीमा थिच्न सके पनि त्यसको प्रतिफल विशेषगरी वयस्कहरुमा निकै राम्रो हुन्छ।

‘इन्फ्यान्ट सिपिआर
इन्फ्यान्ट सिपिआरमा दुई औंलाको मात्र प्रयोग गरेर छाती थिच्नुपर्छ। यति साना शिशुलाई सिपिआर दिने कुरा सम्झिँदा कहाली लाग्नु स्वभाविक हो, तर अस्पतालबाहिर हुने कार्डियाक र रेस्पिरेटरी अरेस्टमा तपाईंले एउटा शिशुको जीवन बचाउनका लागि यो पद्धति अपनाउनैपर्छ। किनकि धेरैजसो यस्तो परिस्थितिमा एम्बुलेन्स आउने समय जति नै छिटो भए पनि ढिलै हुन्छ।

कुनै रोग, चोटपटक वा दुर्घटनाले अचानक शिशुको मुटु चल्न छाडेमा छातीको बाहिरबाट मुटुलाई थिच्नुका साथै कृत्रिम श्वासप्रश्वास गराउनाले अक्सिजनयुक्त रगत मुटु र मस्तिष्कमा पुर्‍याउन सकिन्छ।
घर, पार्क, स्कुल, पोखरी वा कुनै पनि ठाउँमा १ वर्ष उमेरको जस्तो शिशु दुर्घटना वा रोगले ढलेको, दरो भएको, लल्याकलुलुक भएको वा निलो हुन लागेको देख्नुभयो भने, 
– सर्वप्रथम तपाईं र त्यो शिशुको लागि वातावरण सुरक्षित छ÷छैन हेर्नुहोस्। सम्भव भए शिशु बोकेर सुरक्षित ठाउँमा जानुहोस्। तपाईंको जीवनको सुरक्षा पहिलो प्राथमिकता हुन्छ। 
– शिशुका दुवै पैताला एउटा हातले एकै पटक हल्का उचालेर अर्को हातले प्याटप्याट पारी चर्को स्वरले बोलाउनुहोस्।
– यदि शिशुले रुने, अन्य आवाज निकाल्ने, चल्ने, आँखाको परेला चलाउने वा जीवनको कुनै संकेत देखाएन भने सहयोगको लागि हारगुहार गर्नुहोस्। 
– शिशुले श्वास फेरेको छ÷छैन, कम्तीमा ५ बढीमा १० सेकेन्ड लगाएर नआत्तिई शिशुको अनुहारदेखि छातीसम्म हेर्नुहोस्, किनकि शिशुहरु प्रायः मस्त निदाउँछन्।  उनीहरुले यति गर्दैमा तुरुन्त रुने, चल्ने नगर्न पनि सक्छन्। तर शिशुले श्वास फेर्दा छाती र पेट दुवै तल–माथि गरेको प्रष्ट देखिन्छ। शिशुको अनुहार र शरीरको रङ निलो देखिन थालेमा अक्सिजन नपुगेको थाहा हुन्छ।
– यदि शिशु बेहोस छ, तर श्वास साधारण रुपमा फेरेको छ भने एम्बुलेन्सलाई फोन गर्नुहोस्। अर्को व्यक्ति साथमा भए फोन गर्न लगाउनुहोस्। फोनलाई स्पिकरमा राखी उद्धारकर्मीले भनेअनुसार शिशुलाई मद्दत गर्नुहोस्। नआत्तिई आफू भएको ठाउँ र समस्या प्रष्ट भन्नुहोस्, जसले उपचार जतिसक्दो छिटो सुरु गर्न मद्दत मिलोस्।
– यदि शिशुको कुनै उत्तर आएन, श्वासप्रश्वास पनि गरेको छैन र तपाईंसँग फोनका साथै कोही व्यक्ति नजिकमा छैन भने तुरुन्त (१० सेकेन्ड भित्र) नै दुई मिनेट जति (५ पटक) सिपिआर दिनुहोस् र शिशु बोकेर फोन वा सहयोग खोज्न हिँड्नुहोस्। 

शिशुलाई सिपिआर दिँदा अपनाउने चरण
– शिशुलाई कडा र समथर सतहमा उत्तानो पारेर राख्नुहोस्। छाती साथै टाउकोतिरका सबै लुगा निकाल्नुहोस्। शिशुको सामुन्ने एकापट्टि टाउको र खुट्टाको बीचमा बस्ने वा शिशु माथिल्लो सतहमा भए उभिनुहोस्। 
– तपाईं एक्लै सिपिआर दिंदै हुनुहुन्छ भने चोर औंला र माझी औंला सिधा पारेर औंलाका टुप्पाले दुवै स्तनको बीचमा (निप्पलको स्थान भन्दा थोरै तल) प्रति मिनेट १०० देखि १२० का दरले १.५ इन्च वा ४ सेमी छाती दब्नेगरी थिच्नुहोस्। यदि दुई जना भएर सिपिआर दिंदै हुनुहुन्छ भने एक जनाले शिशुको टाउकोतिर बसेर श्वास दिनुहोस्, अर्कोले खुट्टातिर बसेर दुवै हातको हत्केला र औंलाले शिशुको छातीलाई बेर्नुहोस् अनि दुवै हातका बुढी औंलाका टुप्पाले छातीको बीच भागमा त्यसैगरी थिच्नुहोस्। 
– प्रत्येक ३० पटक छाती थिचेपछि दुई पटक कृत्रिम श्वास दिनुहोस्। हरेक दुई मिनेटमा सम्भव भएसम्म छाती थिच्ने व्यक्ति फेर्नुहोस्। किनकि सिपिआर दिँदा छिट्टै थकाइ लाग्ने भएकाले छातीको थिचाइ पर्याप्त नहुन सक्छ। त्यसरी व्यक्ति फेर्दा वा श्वास दिँदा १० सेकेन्डभन्दा बढी छाती थिच्ने क्रम रोकिनु हुँदैन। प्रत्येक पटक छाती थिच्न रोक्दा मुटु र मस्तिष्कमा रगत सञ्चालन तुरुन्तै घट्छ। फेरि छाती थिच्न सुरु गर्दा पहिलेकै स्थानमा पुग्न केही समय लाग्छ। 
– प्रत्येक थिचाइपछि छातीलाई पूरा रुपमा माथि आउन दिनुहोस्। यसको लागि औंलाहरु छातीबाट बाहिर नै राख्नु त पर्दैन तर छातीलाई कुनै दबाब परेको हुनुहुँदैन। छाती थिच्ने समय र छोड्ने समय लगभग बराबरै हुनुपर्छ। यस प्रक्रियाले गर्दा हरेक छाती थिचाइको बीचमा मुटुमा रगत प्रशस्त मात्रामा भरिन पाउँछ।  
– इन्फ्यान्टहरुलाई वयस्क मानिसले साधारण लिएको श्वासको लगभग आधाजति श्वासले पर्याप्त हुन्छ। 
– इन्फ्यान्टको हेड टिल्ट, चिन लिफ्ट गर्दा वयस्कहरुमा जस्तो टाउको धेरै पछाडि र चिउँडो अत्यधिक माथि उचाल्नु पर्दैन। सामान्य रुपले गर्दा इन्फ्यान्टको कानको बाहिरी भाग र काँधको माथिल्लो भागको सतह एक रेखामा भई श्वासनली खुल्नुपर्छ।  
– तपाईं साधारण रुपमा श्वास लिनुहोस् र मुखले शिशुको नाक र मुख दुवै पूरा ढाक्नुहोस्। अब विस्तारै पूरा एक सेकेन्ड लगाएर शिशुको छाती अलिकति मात्र फुल्नेगरी श्वास दिनुहोस्। यस क्रममा तपाईंको ओठको वरिपरि र शिशुको नाक–मुखको बीचबाट हावा फुस्किन हुँदैन। यति सानो बच्चालाई हावा बढी दिएमा त्यसले फोक्सोमा चोट पुर्‍याउनुका साथै आमासयतिर हावा भरिन्छ (ग्यासटिक इन्फ्लेसन), जसका कारणले शिशुले बान्ता गर्ने, बान्ता श्वासनलीतिर जाने डर हुन्छ।

यो प्रक्रियामा शिशुले आफै‌ं श्वास फेर्ने, चल्ने, रुने गरेन वा तपाईं शारीरिक तथा मानसिक तवरबाट सिपिआर दिन असमर्थ हुनुभयो भने रोक्नुहोस्। अन्यथा एम्बुलेन्स नआउने बेलासम्म जारी राख्नुहोस्।

यसरी सिपिआर गर्दैमा बच्चा पूर्ण रुपमा उतिबेलै निको त हुँदैन, तर सही ढंगले सिपिआर दिन सकेमा एडभान्स लाइफ सपोर्ट उपलब्ध नभइन्जेल शरीरका अत्यावश्यक अंगलाई बचाइराख्न सकिन्छ।

सिपिआर दिने क्रममा करङका हड्डीहरु भाँचिन सक्छन्। तर ती केही हप्तामा आफैं जोडिन्छन्। सघन उपचार कक्षका बिरामीमा कुनै पनि बेला सिपिआर दिनुपर्ने स्थिति आउनसक्ने भएकाले बेलैमा बिरामीका परिवारलाई सिपिआर के हो, किन गरिन्छ र यसका फाइदा बेफाइदाको बारेमा बुझाएर लिखित अनुमति लिनु महत्वपूर्ण हुन्छ। 


 

#swasthyakhabar.com


Comments