भारतीय मेडिकल कलेजद्वारा नेपाली डाक्टरको श्रम शोषण

काठमाडौं– भारतका नाम चलेका विभिन्न मेडिकल कलेजले नेपाली डाक्टरहरुको श्रम शोषण गर्ने गरेका छन्। एमडी पढिरहेका भारतीय डाक्टरहरुलाई भारु ९० हजार भन्दा बढी दिने गरिएपनि नेपाली विद्यार्थीहरुले पाउने गरेका छैनन । आफूमाथि विभेद गरिएको भन्दै नेपाली विद्यार्थीले निरन्तर आवाज उठाइरहेका  छन्। 

एमडी गरिरहेका विद्यार्थीबाट मेडिकल कलेजका अस्पतालले काम समेत लिने भएकाले उनीहरुलाई केही रकम उपलब्ध गराउनुपर्ने अन्तराष्ट्रिय प्रचलन छ। सोही प्रचलन अनुसार नेपालमा एमडी गरिरहेका भारतीयहरुले भने नेपाली सरह सेवासुविधा पाउने गरेका छन्।

नाम चलेका भारतीय मेडिकल कलेजहरु एम्स नयाँदिल्ली, पिजिमर चन्डीगढ र जिपमर पुडुन्चेरीलगायतले श्रम शोषण गरेको भन्दै नेपाली विद्यार्थीहरुले गुनासो गरिरहेका छन् । यसअघि आफूहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरेको एम्समा अध्ययनरत नेपाली डाक्टर सागर पौडेलले बताए। उनले भने,  'नेपालका प्रधानमन्त्री ओली भारत र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका समयमा पनि यो विषय उठाइएको हो । दुवै देशका प्रधानमन्त्रीबीच छलफल भएर सकारात्मक सहमति हुँदा पनि लागू नभएको डा पौडेलले बताए । उनले भने,  'प्रधानमन्त्रीबीच कुराकानी भएपछि हामीले कलेजमा कुरा गरेका थियौं । स्पष्ट निर्देशन आएको छैन भन्दै टार्ने गरिएको छ।'

आफूमाथि अन्याय भइरहेको भन्दै त्यहाँ अध्ययनरत झन्डै एक सय ५० विद्यार्थीको नेतृत्व गर्दै डा पौडेलले नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेका छन्। उनले केही समयमै हुन लागेका दुई देशका परराष्ट्रमन्त्रीबीचको भेटमा उक्त एजेन्डा उठाइदिन ज्ञापन पत्रमार्फत् माग गरेका छन्।

चाँडै दुवै देशका परराष्ट्र मन्त्रीबीच ज्वाइन्ट कमिसन मिटिङ हुन लागेको जानकारी पाएर आफू एजेन्डा उठाइदिन माग गर्दै नेपाल आएको डा पौडेलले बताए।  उनले भने, 'मन्त्री ज्ञवालीले कुरा उठाउने बताउनुभएको छ।'

#swasthyakhabar.com


Comments