नुवाकोटका स्वास्थ्यचौकी निर्माण ४ वर्षदेखि अलपत्र, ठेकेदारलाई कारबाही गर्ने भवन विभागको चेतावनी

निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता मिति गुजारी थप गरिएको २ वर्षको समयावधिसमेत सकिँदा पनि नुवाकोटका २ स्वास्थ्यचौकीको भवन निर्माण पूरा गर्नेतर्फ चासो नदेखाएपछि सहरी विकास तथा भवन निर्माण विभागले ठेकेदार कम्पनीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन आदेश दिएको छ । एटलस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रालिले नुवाकोटमा दुईवटा स्वास्थ्यचौकीको भवनका लागि सम्झौता गरे पनि निर्माणमा चासो नदिएका कारण १५ दिनभित्र भरपर्दो योजना र कार्य प्रतिबद्धतासहित कार्यालयमा उपस्थित हुन मंगलबार सार्वजनिक सूचना जारी गरेको हो । तोकिएको समयभित्र आधिकारिक व्यक्ति उपस्थित नभएमा वा भरपर्दो योजना र कार्य प्रतिबद्धता प्रस्तुत गर्न नसकेमा कम्पनीलाई कालोसूचीमा राख्ने तथा जमानत÷अग्रिम झुक्तानी तथा जमानत÷धरौटीबापतको रकम जफत गर्ने चेतावनी विभागले दिएको छ ।

कम्पनीले ३० साउन ०७२ मा तलाखु हेल्थपोस्ट बिल्डिङ र थानसिङ हेल्थपोस्ट बिल्डिङ निर्माणका लागि ३० पुस ०७३ सम्म सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर, तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको भन्दै कम्पनीले माग गरेबमोजिम २०७५ असारसम्मको समय थप गरिएको थियो । थप गरिएको अविधिमा समेत निर्माण सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाएको हुँदा विभागले कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको हो ।

विभागले सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र ठेक्का सम्झौताको प्रावधानबमोजिम ठेक्का सम्झौता तोडी कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी सार्वजनिक सूचनामार्फत दिएको छ । साथै, कार्यसम्पादन जमानत, अग्रिम झुक्तानी जमानत तथा धरौटीबापतको रकम जफत गर्ने जनाउँदै विभागले बाँकी काम गर्न लाग्ने खर्च र निर्माणस्थल सुरक्षामा लाग्ने खर्चसमेत सरकारी बाँकी मानी कम्पनीबाट असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाउने बताएको छ ।

#healthpostnepal.com


Comments