जनकपुर आयुर्वेद औषधालयमा अनियमितता: प्रमुखले श्रीमानसँगको मिलेमतोमा हुँदै नभएको पसल देखाएर रकम हिनामिना

जनकपुर- जनकपुर अञ्चल आयुर्वेद औषधालय मुजेलियामा आर्थिक वर्ष २०७५/७६ मा खरिद भएका औषधि तथा फर्निचरमा व्यापक अनियमितता भएको देखिएको छ। एउटै शीर्षकमा प्रदेश सरकार र स्थानीय तहको लाखौं रकम हिनामिना भएको पाइएको छ ।

औषधालयमा जनकपुरधाम उपमहानगर र प्रदेश सरकारले लाखौं रकम खर्चिएको भए पनि कार्यालयमा भने २ वटा सोफा, ४ वटा कुर्सी लगायतका केही फर्निचर मात्र फेला पार्न सकिन्छ। 

औषधालयका प्रमुख डा सीमा झा, लेखा अधिकृत महेन्द्र साह र कार्यालय प्रमुखका श्रीमान् औषधि व्यवसायी सरोज राय यादवको संलग्नतामा औषधि र फर्निचर खरिदमा लाखौं रकम हिनामिना भएको छ।

औषधालय स्थानीय तहमा समायोजन भएपछि जनकपुरधाम उपमहानगरपालिकाले कर्मचारीको बजेट लगायत कार्यालय व्यवस्थानदेखि सरसमान खरिद र शिविर सञ्चालनसम्मका लागि रकम छुटयाएको छ। 

उपमहानगरले औषधालयका लागि छुट्याएअनुसारको रकम खर्च भए पनि कर्मचारीले पाउनुपर्ने तलब बाहेक अन्य खर्च कहाँ के भएको थाहा नभएको अरु कर्मचारीले बताए।

यता औषधालयका लेखा अधिकृत महेन्द्र साह र कार्यालय प्रमुखले तलब बाहेक अन्य रकम उपमहानगरले उपलब्ध नगराएको बताए। तर, उपमहानगरले गत वर्ष कर्मचारीको तलबमा ४५ लाख १४ हजार २५३ रुपैयाँ, कार्यालय सञ्चालन खर्चमा २५ हजार ६ सय, सिरिधार टेबल, वाष्प स्वेदन सेट तथा अन्य चिकित्सा शीर्षकमा ९९ हजार ४४०, कार्यालयमा फर्निचरका लागि ४० हजार विनियोजन गरेको पाइएको छ। 

त्यस्तै, अन्य सेवा शुल्क पूर्वकर्म स्नेहनमा १ लाख २९ हजार ३२० रुपैयाँ, गाउँघर, सहरी क्लिनिक नसर्ने रोग व्यवस्थापनमा १ लाख ५० हजार, आयुर्वेद संस्थाहरुका लागि इन्टरनेटमा २२ हजार ५६६ रुपैयाँ, जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्धन सेवा कार्यक्रममा ३२ हजार ७५७ रुपैयाँ, स्थानीय जडिबुटी परिचालन कार्यक्रम तथा लगत संकलनमा ८० हजार छुट्याइएको छ।

उपमहानगरले जडिबुटीबाट पूर्ण औषधि निर्माणमा ४० हजार, स्वास्थ्य जीवन कार्यक्रममा एक लाख, राष्ट्रिय योग दिवसमा १५ हजार, पञ्चकर्म पूर्वकर्म कार्यक्रममा एक लाख २० हजार, अत्यावश्यक आयुर्वेद औषधि खरिदमा ५ लाख, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रममा एक लाख ३० हजार र मातृ शिशु सुरक्षार्थ एक लाख ६ हजार ९२० रुपैयाँ गरी जम्मा ६३ लाख ९९ हजार २३० रुपैयाँ खर्च गरेको छ। 

जनकपुरधाम उपमहानगर अन्तर्गत जनकपुर अञ्चल आयुर्वेद औषधालय र कुर्था आयुर्वेद छन् ।

औषधालयका प्रमुख डा सीमा झा भने उपमहानगरपालिकाले नै हिनामिना गरेको आरोप  लगाउँछिन्। 

उनले जनकपुरधाम उपमहानगरले औषधालयका कर्मचारीलाई तलबका क्रममा दिएको ४५ लाख १४ हजार २५३ रुपैयाँ बाहेक केही नदिएको बताइन्। 

नगरपालिकाबाटै १८ लाख ८४ हजार ९७७ रुपैयाँ हिनामिना भएको उनको जिकिर छ। कार्यालय प्रमुख र कार्यालयका लेखा अधिकृतले आफूलाई तलब बाहेकको ३० हजार रुपैयाँ बाहेक केही पनि उपलब्ध नगराएको उनले बताइन्।

त्यसैगरी २०७६ साल असारसम्म स्थानीय तह मातहतमा रहेको जनकपुर अञ्चल आयुर्वेद औषधालयलाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पटक–पटक गरी ५९ लाख ५३ हजार रकम निकासा गरेको छ। 

आर्थिक वर्षको अन्त्यमा प्रदेश सरकारले निकासा गरेको रकम असार १८ गतेपछि करिब डेढ लाखबाहेक सबै खर्च भएको कार्यालयले जनाएको छ। प्रदेश सरकारले दिएको रकमबाट १८ लाख मूल्य बराबरको औषधि टेन्डर मार्फत र बाँकी रकमको औषधि कोटेसनका आधारमा खरिद गरेको कार्यालय प्रमुख झाले बताइन्।

प्रदेश सरकारले दिएको रकमबाट फर्निचर तथा फिक्चर्समा ५ लाख, मेसनरी उपकरणमा ५ लाख, योग हलको मर्मत सम्भारमा ५ लाख, स्वस्थ जीवनशैली कार्यक्रममा ३ लाख, प्रयोगशाला व्यवस्थापनमा ४ लाख ५० हजार, बिरामी सुताउने शय्यामा २ लाख, पञ्चकर्म व्यवस्थापनमा ३ लाख, एसी जडानमा ३ लाख ५० हजार र युएसजीमा १९ लाख रुपैयाँ औषधालयले खर्च गरेको जानकारी दिएको छ।

औषधालयले औषधि खरिदका लागि निकालेको कोटेसनमा कार्यालय प्रमुखले आफ्नो श्रीमानको नाममा रहेको फर्मलाई नै कोटेसनको स्वीकृति दिएकी छन्। 

जनकपुर ४ मा रहेको भनिएको राहत आयुर्वेद फर्माका नाममा कोटेसन परेको छ। तर त्यहाँ औषधि पसल छैन। विभिन्न मितिमा सो औषधि पसललाई भुक्तानी गरिएको छ।

असार २४ गते राहत आयुर्वेद फर्माको नाममा १ लाख २४ हजार ८ सय र १ लाख ६९ हजार ९२० रुपैयाँको बिल भुक्तानी गरिएको छ। त्यस्तै असार २५ गते ९० हजार ४५ रुपैयाँको औषधिको बिल भुक्तानी दिइएको छ।

औषधालयमा फर्निचर खरिदका नाममा जनकपुर ८ मा रहेको जय माँ लक्ष्मी फर्निचर उद्योगलाई ९९ हजार ४४० र प्राकृतिक जडिबुटी औषधि उद्योगलाई ४९ हजार ९२० रुपैयाँको बिल भुक्तानी दिइएको छ।
जनकपुर– ४ मा रहेको भनिएको राहत आयुर्वेद फर्माका नाममा कोटेसन परेको छ। तर त्यहाँ औषधि पसल छैन।

#swasthyakhabar.com


Comments