तीजको दर खाँदा र ब्रत बस्दा ध्यान दिनुपर्ने कुरा

-विनिता अर्याल

नेपाली हिन्दु महिलाहरुको महान् पर्व तीजमा धेरैले ब्रत लिइरहन्छन्। पर्व मनाउने वा धर्म संस्कृतिलाई निरन्तरता दिनका लागि लिइने ब्रतमा धर्म संस्कृतिका कुराहरूका साथ-साथै आफ्नो स्वास्थ्यको समेत ख्याल राख्न जरुरी छ। पानी पनि नखाई ब्रत बस्नुपर्छ भन्ने तीजको मान्यता रहेको छ। यसरी दिनभर लामो समयको लागि भोकै बस्दा आमाशयमा उत्पन्न हुने खाना पचाउन मद्दत गर्ने अम्ल जम्मा हुन गई पेट पोल्ने समस्या आउन सक्छ।

मधुमेह भएका व्यक्तिहरू भोकै बस्दा पनि विभिन्न समस्याहरु देखा पर्न सक्दछन्। हाम्रो शरीरबाट विभिन्न तरिकाबाट पानीको मात्रा बाहिरिइ रहने हुँदा, पानी पनि नखाइ ब्रत बस्दा जलबियोजन(डिहाइड्रेसन) हुन सक्छ। तीजको बेलामा नाचगानतर्फ मात्र ध्यान दिँदा शरीरवाट सामान्य समयमा भन्दा बढी पानी बाहिरिने हुँदा जलबियोजन हुने सम्भावना अझै बढी हुने गर्छ।

खानाको सन्तुलन नमिल्नाले शरीरको रक्तचाप तथा सुगरको मात्रा घट्न गई अचानक ढल्न सक्ने तथा अन्य समस्याहरु पनि आउन सक्छन्। यस्तो अवस्थामा टाउको दुख्न्ने, रिंगटा लाग्ने, कमजोर महशुस हुने हुन्छ। किनभने दैनिक रुपमा खानाहरुबाट पाइने शक्ति ब्रत बस्दा पाइँदैन, त्यसकारण हात-खुट्टाहरु दुख्न्ने तथा कमजोर हुन सक्ने जस्ता विभिन्न असरहरु देखापर्ने हुनाले ब्रत बस्ने समयमा आफ्नो शारीरिक अवस्थालाई पनि ध्यान दिनु जरुरी छ।

दर खाँदा कस्तो कुरामा ध्यान दिने?

  • दर खाँदा सन्तुलन मिलाएर आफ्नो तौल र उचाईअनुसार खानेकुरा खाने गर्नुपर्छ।
  • यसरी खाने आहारमा हरियो सागपात, गेडागुडी, फलफूल, पहेँलो र हरियो खानेकुरा बढी मात्रामा खाने गर्नुपर्छ।
  • धेरै खाँदा बान्ता हुने पखाला लाग्ने, अल्छी लाग्ने, निद्रा लाग्ने, कमजोर महसुस हुने हुन्छ, त्यसैले पेट टम्म हुने गरी खाना खानु हुँदैन।
  • मांशाहार सकभर नगर्ने अनि मसलादार पनि धेरै खानु हुँदैन।
  • धेरै चिल्लो खानु हुँदैन। चिल्लो, पिरो धेरै हुँदा ग्यास्ट्रिक हुने, प्रेसर बढ्ने, खाना अमन हुने, बान्ता हुने, पचाउन नसक्ने, कमजोर हुने, निद्रा लाग्ने जस्तो हुन्छ।
  • हाम्रो शरीर पनि मेसिनजस्तै हो। त्यसैले खाना हाम्रो शरीरले जति लिन्छ, त्यति मात्र खानुपर्छ।
  • ब्रत बस्नुअगाडि शारीरिक र मानसिक रूपमा तयार रहनुपर्छ। तनाव महसुस भइरहेको छ भने ब्रत बस्नु हुँदैन।

ब्रत बस्दा ध्यान दिनुपर्ने कुरा

  • ब्रतको दिन पनि पानी, फलफूल जस्ता खानेकुरा आवश्यकता अनुसार खाइरहनुपर्छ।
  • हाम्रो शरीरलाई दैनिक ७ देखि ८ गिलास पानी आवश्यक हुन्छ। ब्रत बसेको अवस्थामा छिनछिनमा पानी पिउने गर्नुपर्दछ।
  • शरीरको शक्ति बढी खर्च हुने कामहरु नगर्ने, आराम गर्ने, शितल वातावरणमा बस्ने गर्नुपर्दछ।
  • नियमित खाइरहनुपर्ने औषधिहरु छन् भने समयमै खाने, तथा ब्रत सकिने बित्तिकै खाइने खानामा समेत विचार पुर्याउनु पर्दछ।
  • ब्रत सकिएपछि प्रोटिन बढी भएको खाना खानु हुँदैन।
  • रेसादार खानेकुरा जस्तो– साग, गाँजर, काँक्रो यस्तै हलुका खानाहरू खानुपर्छ।
  • १८ वर्षभन्दा कम उमेरकाले ब्रत बस्नु हुँदैन। यो उमेरका मानिसको शरीर ब्रतका लागि परिपक्व हुँदैन।



Comments