सुदूरपश्चिमका ६ जिल्लामा २८ जनालाई डेंगु, एकको मुत्यु किन भएन नियन्त्रणको पहल?

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशमा डेंगु रोगको संक्रमण फैलिएको छ। पछिल्लो डेढ सातायता यस प्रदेशका ६ जिल्लाका २८ जनामा संक्रमण देखिएको छ भने १ जनाको ज्यानै गइसकेको छ। 

बुधबारसम्मको तथ्याकंअनुसार कैलालीमा १५, कञ्चनपुरमा ४, डोटीमा १, दार्चुलामा ६ र अछाममा १ बैतडीमा १ गरी २८ जनामा डेंगुको संक्रमण फैलिएको स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले जनाएको छ। जसमध्ये डोटीमा एक जनाको मुत्यु भएको छ। 

६ जिल्लाकै बिरामीलाई कैलाली र कञ्चनपुरका अस्पतालहरुमा चेकजाँच गर्दा डेंगुको संक्रमण भेटिएको हो। 

प्रदेशभर हालसम्म २८ जनामा संक्रमण देखिए पनि हजारौँ व्यक्ति प्रभावित भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। सबै बिरामीहरू उपचारको पहुँचमा नआएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए। बिरामी अस्पतालको सम्पर्कमा आउने क्रम जारी रहेकाले संक्रमितको संख्या बढ्नसक्ने उनले बताए।

‘सुदूरपश्चिममा डेंगुको संक्रमण बढिरहेको छ। यहाँका हरेक अस्पतालमा डेंगु संक्रमित बिरामी छन्। यो बाहेक घर–घरमा समेत डेंगु संक्रमित बिरामी छन्। डेंगुको संक्रमण समयमै नियन्त्रण गर्न नसकिए महामारीको रुप लिन सक्छ,’ सेती अस्पतालमा कार्यरत डा शेरबहादुर कमरले भने।

उनले भने, ‘खासगरी एडिस जातको लामखुट्टे व्यापक भएका ठाउँहरूमा यसको भौगोलिक विस्तार हुँदै नजाला भन्न सकिँदैन, किनभने डेंगुको जोखिम सामान्यत कात्तिक–मङ्सिरसम्म रहने गर्छ।’

कञ्चनपुरको महाकाली अस्पतालमा डेंगुको परीक्षण गर्ने किट सकिएको छ। स्वास्थ्य विभागले समयमै किट नपठाएकाले अभाव भएको हो। ज्वरो आएका बिरामीको रगत परीक्षण गर्ने आडिटी किट नहुँदा डेंगु परीक्षणमा समस्या भएको महाकाली अस्पतालले जनाएको छ।

पहाडी जिल्ला डडेल्धुरा अस्पताल लगायतका अस्पतालहरुमा किट नै नरहेको पाइएको छ। 

रोकथामको प्रयास किन भएन?
डेंगु नियन्त्रणका लागि सरकारले प्रयास गरेको दाबी गरे पनि उपलब्धि देखिएको छैन। सुदूरपश्चिम प्रदेश सरकार जनताको स्वास्थ्यप्रति गम्भीर नभएको आरोप स्थानीयको छ।

प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले रोगको संक्रमण देखिएको ठाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको भए पनि अन्य ठाउँका लागि भने अहिले केही कार्यक्रम सुरु भइनसकेको बताए।

त्यसका लागि मन्त्रालय मातहतका निकायलाई निर्देशन भने दिइसकेको उनको भनाइ छ। तर मन्त्रालय मातहतका निकाय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय लगायतले डेंगु नियन्त्रणका लागि प्रभावकारी पहल गरेको देखिएको छैन।

‘संक्रमित क्षेत्रमा रोग नियन्त्रणका लागि टोली नै खटाएर काम भइरहेको छ,’ सूचना अधिकारी खड्काले भने, ‘औषधि छर्ने लगायतका कामहरू अझै हुन बाँकी छन् ।’ जनशक्ति अभाव लगायतका कारण पनि डेंगु नियन्त्रणका लागि प्रभावकारी पहल भने हुन नसकेको उनले स्वीकार गरे।

स्थानीय तहको भूमिका पनि खासै देखिएको छैन। जबकि रोग नियन्त्रणका लागि सम्बन्धित स्थानीय तहको भूमिका बढी हुनुपर्ने हो। धनगढी उपमहानगरपालिकाले पनि अहिलेसम्म त्यस्तो कुनै कार्यक्रम सञ्चालन गरेको छैन।

#swasthyakhabar.com


Comments