बिपी प्रतिष्ठान धरानले प्रवेश परीक्षा नरोक्ने

काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहको प्रवेश परीक्षा नरोक्ने भएको छ। प्रतिष्ठानले शनिबार प्रवेश परीक्षा लिने कार्यतालिका सार्वजनिक गरिसकेको छ।

सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको प्रवेश परीक्षा रोक्न आदेश दिए पनि धरानको २८ गतेको परीक्षा रोक्न भनेर आदेश नदिएको भन्दै प्रतिष्ठानले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानका निमित्त उपकुलपति डा गुरु प्रसाद खनालले नियमित कार्यतालिका अनुसार नै २८ गते शनिबार प्रवेश परीक्षा सञ्चालन हुने जानकारी दिए। ‘अदालतले असार २१ गतेको आइओएमको परीक्षा रोक्नु भनेको छ,’ उनले भने, ‘हाम्रो परीक्षाका विषयमा नबोलेका कारण हाम्रो परीक्षा निर्धारित मिति अनुसार नै हुन्छ।’

उनले अदालतमा आज छलफलका लागि बोलाइएको भए पनि सुनुवाई स्थगित भएको र आइतबारका लागि बोलाइएका पनि जानकारी दिए। 

‘हाम्रो परीक्षा २८ गते शनिबार हुन्छ भन्ने विषयमा सबैलाई जानकारी नै छ,’ उनले भने, ‘आज छलफल स्थगित भएर २९ गते बोलाइएका कारण परीक्षा रोक्नु पर्ने आधार देखिएको छैन।’ उनले परीक्षाका लागि प्रतिष्ठानले सबै तयारी पुरा गरिसकेको पनि जानकारी दिए।

केही कानुन व्यवसायी भने आइओएम, पाटन, काठमाडौं विश्वविद्यालय र धरान समेत उक्त मुद्दामा जोडिएका कारण परीक्षा स्थगन गर्नु नै राम्रो हुने बताउँछन्। ‘एउटै मुद्दामा छलफलका लागि बोलाइएका कारण धरानले परीक्षा लिए पनि नतिजा रोकिन सक्ने खतरा रहन्छ,’ ती कानुन व्यवसायीले भने, ‘प्रतिष्ठानले परीक्षा त गर्ला तर अदालतले भोली चिकित्सा शिक्षा ऐनको दफा विपरित परीक्षा लिएको भन्दै नतिजा रोक्यो भने के हुन्छ?’ उनले परीक्षाका लागि आवेदन दिएका विद्यार्थीलाई दोहोरो दुःख दिन नहुने भन्दै परीक्षा स्थगित गरेर अदालतको आदेश कुर्नु नै उत्तम हुने सुझाब दिए।

निमित्त उपकुलपति डा खनाल भने अदालतले नतिजा रोक्नु भन्ने आदेश जारी भए अदालतको आदेश अनुसार नै चल्ने बताउँछन्। ‘अहिले परीक्षा रोक्नु त भनेको छैन। अब भोलीका दिनमा के हुन्छ भन्ने अनुमानका आधारमा मात्र निर्णय गर्न त सकिँदैन नि?’ उनले भने, ‘परीक्षा हुन्छ। अदालतले नतिजा रोक्न आदेश दियो भने हामी सोही अनुसार गर्छौँ।’

उनले भोली नै कोही व्यक्तिले परीक्षा रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गर्ने र अदालतले पनि रोक्न आदेश दियो भने मात्र आफूहरु परीक्षा रोक्न सक्ने होइन भने पूर्व निर्धारित कार्यतालिका अनुसार नै चल्ने बताए।

#swasthyakhabar.com


Comments