सिएमसीमा प्रहरी घेराबीच विद्यार्थीको धर्ना, कलेज भन्छ– विद्यार्थीका अधिकांश माग कलेजसित सम्बन्धित छैनन्

चितवन मेडिकल कलेज (सिएमसी) प्रशासनले विद्यार्थी आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा सञ्चालकहरुमाथि निम्नस्तरको गालीगलौज र धम्की दिने काम भइरहेको प्रति आपत्ति जनाएको छ । कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बुधबार ९आज० विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा स्वास्थ्य सेवाप्रवाह गर्ने अस्पतालमा हुलहुज्जत गर्ने, सेवाप्रवाहमा बाधाव्यवधान खडा गर्नेजस्ता गैरकानुनी कामहरु रोकिनुपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा शुल्कलगायत विषयमा सरकार र त्रिभुवन विश्वविद्यालयले बनाएका नीति तथा जारी गरेका निर्देशन मान्न कलेज पूर्णतया प्रतिबद्ध रहेको उल्लेख छ । विद्यार्थीले उठाएका मागमध्ये अधिकांश माग कलेज प्रशासनसँग सम्बन्धित नभई सरकार र सरकारी निकायसित सम्बन्धित भएको जिकिर कलेजको छ । कलेजसँग सम्बन्धित मागका सन्दर्भमा वार्ता र संवादबाट समस्याको समाधान निकाल्न प्रशासन तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थीको धर्ना जारी
विद्यार्थीले कलेजले असुलेको अवैध शुल्क फिर्ता गर्नुपर्नेलगायत माग राख्दै गरेको आन्दोलनले सेवा प्राभावित भएपछि बुधबार कलेज प्रहरी प्रशासनको सहयोगमा करिब डेढ दर्जन विद्यार्थीलाई पक्राउ गराएको छ । देशभरका मेडिकल विद्यार्थीले २ साताअघि संघर्ष समिति नै गठन गरी सुरु गरेको आन्दोलनको नेतृत्वसमेत सिएमसीकै विद्यार्थीले गरिरहेका छन् ।

कलेज प्रशासनले प्रहरी प्रशासनको प्रयोग गरी आफ्नो शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको भन्दै विद्यार्थीले कलेजमा धर्ना दिइरहेका छन् । पक्राउ परेका साथीहरुलाई तत्काल रिहाइ गर्नुपर्ने, आफूहरुले कलेजसमक्ष प्रस्तुत गरेका माग पूरा हुनुपर्नेलगायत माग विद्यार्थीको छ । कलेज प्रहरीको घेराबन्दीमा रहेको देख्न सकिन्छ ।

#healthpostnepal.com


Comments