खोपबारे जान्नैपर्ने कुरा: कुन खोप कहिले ?
User Image
Written & review by:

भनिन्छ, खोपको खोज हुनुभन्दा पहिले संसार निकै खतरनाक थियो। त्यसबेला अनेकन रोगले लाखौं-लाख मान्छेको मृत्यु हुन्थ्यो।

खोप चिकित्सा विज्ञानको एक प्रभावकारी उपलब्धी हो। भविष्यमा लाग्न सक्ने कुनैपनि किसिमको संभावित रोगबाट शरीरलाई बचाइराख्न खोप लगाउने गरिन्छ। खोपले हामीलाई भविष्यमा हुनसक्ने संभावित रोगको खतराबाट सुरक्षित गराउँछ। त्यसैले शारीरिक स्वास्थ्यको आधारभूत कुरा हो, खोप।

खोपले शरीरमा यस्तो प्रतिरोधी क्षमताको विकास गर्छ, जसले गर्दा कतिपय संभावित रोग लाग्न सक्दैन। खोप भनेको खासगरी सुईको माध्यामबाट सम्बन्धित रोगका मृत वा कमजोर व्यक्टेरिाया मानिसको शरीरमा प्रवेश गराइन्छ। रोग प्रतिरोध गर्ने एन्टिबडी उत्पादन गर्न श्वेत रक्तकोषलाई सक्रिय पारिन्छ।

यसरी शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि सानै उमेरमा खोप दिने गरिन्छ। यसले उनीहरुलाई आजीवन कतिपय रोगबाट बचाउँछ। खासगरी बालबालिकालाई स्वस्थ्य राख्न, अपाङ्गताबाट बचाउन, गंभिर रोग लाग्न नदिन खोपहरुको निर्धारित मात्रा पुरा गर्नुपर्छ।

कुन रोग विरुद्ध खोप?

भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकर, हेपाटाइटिस ‘बी’, हेमोफिलस इनफ्लुएन्जा, जापानिज इन्सफ्लाइटिस, निमोनिया, दादुरा-रुवेला जस्ता रोगबाट बच्न सानै उमेरमा खोप दिइन्छ। यसैगरी १२ महिनामा जापानिज इन्सफ्लाइटिस र १५ महिनामा दादुरा-रुवेलाको दोस्रो डोज पनि दिइन्छ।

जबकी खोपको विकास हुनुपूर्व वा खोपको प्रयोग अघि यी रोगबाट कैयौं बालबालिकाको मृत्यु हुन्थ्यो, अंगभंग हुन्थे। बच्चा जन्मिएको एक बर्षभित्र अहिले यी रोग विरुद्ध खोप दिने गरिन्छ। यी खोपबाट संभावित खतरा टार्न सकिन्छ।

गर्भवतीलाई पनि

गर्भमा रहेको बच्चासँग गर्भवती महिलाको स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध हुन्छ। त्यसैले बच्चा गर्भमा रहेकै बेला गर्भवती महिलालाई पनि केही खोप दिइन्छ। गर्भवतीलाई खासगरी धनुष्टांकार र भ्यागुते रोग विरुद्ध खोप दिइन्छ।

यसकारण आवश्यक छ खोप

बच्चा जन्मिएपछि दम्पतीले खोप लगाउने कुरामा बेवास्ता गर्नुहुँदैन। एक बर्षभित्र विभिन्न रोग विरुद्धको खोप लगाउनुपर्छ। यसरी खोप लगाएपछि के हुन्छ त?

बच्चा जन्मिएपछि खोप तालिका अनुसार तोकिको समयमा, तोकिएका सबै खोपहरु लगाउँदा बालबालिकामा सरुवा रोगसँग लड्ने क्षमता विकास हुन्छ। बालबालिकामा रोग लाग्ने दार, अपांगता हुने दर र मृत्यु हुने दरमा कमी आउँछ। विभिन्न किसिमको सरुवा रोगबाट बच्न सकिन्छ। त्यसैले बच्चा जन्माएपछि दम्पतीले बच्चालाई दिइने खोपबार जानकारी लिनुपर्छ। कुन खोप कहिले दिने, कहाँबाट दिने भन्नेबारे स्पष्ट रुपमा बुझ्नुपर्छ।

निशुल्क उपलब्ध

यहाँ उल्लेखित खोपहरु लगाउनका लागि कुनै शुल्क तिर्नुपर्दैन। नेपाल सरकारले निशुल्क रुपमा ति खोप उलब्ध गराउँछन्।

कहाँ लगाउने?

कुनैपनि खोप लगाउनका लागि आफुलाई पायक पर्ने स्वास्थ्य स्वास्थ्यमा गए हुन्छ । स्वास्थ्य संस्थाले कतिपय खोप लगाउनुअघि त्यसको मिति तय गरेको हुन्छ। त्यसैले कुन दिन उक्त खोप लगाइने हो, सोबारे चासो राख्नुपर्छ। उपयुक्त समयमा नै खोप लगाउनुपर्छ।

कुन खोप कहिले?

 वि.सि.जी

यो खोप जन्मनसाथ लगाइन्छ। यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ।

डि.पि.टी- हेप/ बि-हिब

यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ। यो तीन पटक लगाउनुपर्छ। यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ।

पोलियो

पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ। यो तीन पटक दिइन्छ। यसले पोलियोमाईलाइटिसबाट जोगाउँछ।

एफआइपीभी

यो ६ हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ। दुई पटक दिनुपर्छ। यसले रोटा भाइरसद्वारा हुने पखला बिरुद्ध काम गर्छ।

पि.सी.भी.

यो खोप ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ। यो तीन पटक दिइन्छ। यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ।

दादुरा-रुबेला

यो खोप ९ महिना र १५ महिनाको उमेरमा दिइन्छ। यसले दादुरा, रुबेलाबाट जोगाउँछ।

जे.ई

यो खोप १२ महिनाको उमेरमा दिइन्छ। यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ।

टी.डी.

यो खोप गर्भवती महिलालाई दिइन्छ। यसले धनुष्टांकार र भ्यागुते रोगबाट बचाउँछ।

onlinekhabar.com


Comments